Bagmati Samachar Logo

प्रतिपक्षसंग सहकार्य गरेर अगाडी बढ्छुः मुख्यमन्त्री शाक्य

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रतिपक्ष दलसंग सहकार्य गरेर अगाडि बढ्न बताएकी छिन् ।

आइतबार प्रदेश राजधानी हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले विगतमा आफ्नो प्रतिपक्ष दलहरुसँग राम्रो सम्बन्धका कारण मिलेर जाने बताइन् । ‘मलाई लाग्छ, उनले भनिन्, ‘हाम्रो हिजोको सम्बन्ध हेर्ने हो भने राम्रै छ, समझदारीकासाथ अगाडी बढ्छौ ।’

नेकपा एमालेका प्रदेश सदस्यहरुलाई एमाले वा नेकपा (एकीकृत समाजवादी) पार्टीमध्ये एक रोज्न अझै दुई दिनको रहेको भन्दै उनले त्यसपछिको अवस्था अनुसार अगाडी बढ्न आफु तयार रहेको बताईन् । उनले भनिन् ‘२२ गतेसम्म त उहाँहरुको मुद्दा छ नि त, त्यसपछि कसरी आउँछ हामीले पनि हेर्नुप¥यो नि ?’ पार्टी नै छुट्टिने समय सकेको छैन, त्यो सिद्धेपछि जसरी आउँछ, त्यही अनुसार अगाडी जान्छौ । नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्यले विश्वासको मत पाउने अवस्था छैन । उनी यहि २ गते बागमति प्रदेशको मुख्यमन्त्री बनेकि थिइन् ।

‘यो सरकार अगाडी बढ्छ, मन्त्री परिषद् विस्तार हुन्छ,’ उनले भनिन्, ‘अविश्वासको प्रस्ताव आउँछ कि हेरौं, विश्वासको मत पनि लिन्छौं, त्यसको परिणाम के आउँछ त्यही अनुसार अगाडी बढ्छौं ।’ प्रदेशसभामा बहुमतमा रहेको एमालेका ५६ मध्ये १३ जना प्रदेश सदस्य एकीकृत समाजवादीमा गईसके नि भन्ने पत्रकारको सवालमा मुख्यमन्त्री शाक्यले त्यो सामान्य भएको बताईन् ।

उनले भनिन् ‘दल रोज्न पाउने हक त छदैछ, मलाई भन्नु केही छैन, अब त्यसरी रोज्दाखेरी केही साथीहरु जानु भएको छ ।’

उनले भनिन् ‘हाम्लाई अली अफ्ठयारो चाँही छ, किनकी हामीलाई ५५ (प्रदेश सदस्य) चाहिन्छ, चिन्ता लिएर पनि हुँदैन, राजनीतिमा अस्थिरता आउँने बित्तिकै चिन्ता लिने, स्थिर आउँने बित्तिकै मात्तेर अगाडी बढ्ने पक्षमा छैनौ ।’
सत्तामा रहुन्जेल ईमान्दार र नैतिकवान् भएर बस्ने भन्दै उनले सत्ता भन्दा जनताको सेवा महत्वपूर्ण रहेको तर्क गरिन् । ‘हामी सरकारमा जति दिन बस्छौ आफ्नो नैतिक धरातललाई विचलित बनाउँदैनौ,’ उनले अन्त्यमा भनिन्, ‘ईमान्दारिताका साथ जनताका लागि जे गर्न सक्छौ, त्यत्ति गरेर छोड्नुपर्छ भने पनि हामी तयार छौ, केही फरक पर्दैन ।’