Bagmati Samachar Logo

नेकपा एकीकृत समाजवादीमा १७ पदाधिकारी र १५१ केन्द्रीय सदस्य रहने

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको अन्तरिम विधान २०७८ पारित गरेको छ । मंगलबार बसेको प्रस्तावित केन्द्रीय कमिटीको बैठकले उक्त विधान पारित गरेको हो । उक्त पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । बुधबार उक्त पार्टीलाई निर्वाचन आयोगले सनाखत गराउने छ । सनाखत गर्नु पूर्व सो पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।

पारित विधानमा मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने भनिएको छ । यसको अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद हुने बताएको छ ।
जबजका मान्यताहरुको रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्न वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाइएको घोषण पत्रमा उल्लेख गरेको छ ।

यसको पदाधिकारी र केन्द्रीय समितिको संरचनामा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी रहनेछन् भने केन्द्रीय कमिटीमा ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुने छ ।

महाधिवेशन नहुन्जेल १५१ सदस्यीय केन्द्रीय समिति राष्ट्रिय परिषदले निर्वाचन गर्ने विधानमा उल्लेख छ । त्यसमध्ये ५१ सदस्यीय पोलिटव्युरो र २१ सदस्यीय स्थायी समिति रहने विधानमा उल्लेख छ । प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था छ ।