अध्यादेशको पर्खाइमा नेपाल पक्ष, पार्टीको नाम नेकपा एमाले समाजवादी
काठमाडौं । विभाजनको अन्तिम चरणमा रहेको एमालेको माधवकुमार नेपाल पक्ष अध्यादेशको पर्खाइमा रहेको छ । राष्ट्रपतिले अध्यादेश जारी गर्ने बित्तिकै नेपाल पक्ष निर्वाचन आयोग जान तम्तयार अवस्थामा रहेको छ ।
नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
अर्याल होटलमा नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बैठक पनि मंगलबारबाट जारी रहेको छ । नेपाल पक्षले दलको नाम र आफ्ना केन्द्रीय सदस्यहरुको हस्ताक्षर तयार पारेर तम्तयार अवस्थामा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सरकारले दल विभाजन सम्बन्धि अध्यादेश मंगलबार नै राष्ट्रपति कार्यलय पठाएको छ । अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । बुधबारसम्म राष्ट्रपतिले प्रमाणीकरण गरेको छैन ।
राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी अवस्थामा रहेको नेपाल पक्षका एक नेता बताउछन् । उनले भने ‘राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि हामी नयाँ पार्टी दर्ता गर्न जान्छौ । करिब ६० जनाको हस्ताक्षर भएको छ । जिल्ला जिल्लाबाट आउन बाँकि रहेका साथिहरु आउदै छन् । केन्द्रीय सदस्यको संख्या बढ्छ ।’
नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल नै बन्ने छन् । महासचिव घनश्याम भुसाल बन्ने प्रवल सम्भावना रहेको बताइन्छ । अरु पदाधिकारीबारे भने कुनै छलफल नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: