Bagmati Samachar Logo

सत्तारुढ गठबन्धनको कार्यदलको प्रतिवेदनमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउन प्रस्ताव

काठमाडौं । सत्तारुढ गठबन्धन ले सरकार संचालन गर्न सुझाव दिन गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा सरकार सञ्चालन गर्न उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गर्ने प्रस्ताव पेश गरेको छ ।

कार्यदलले शुक्रबार बिहान गठबन्धनका शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ । यस्तो समन्वय समिति केन्द्र देखि प्रदेश र जिल्ला तहमा पनि गठन गर्न प्रस्ताव गरिएको छ ।

गठबन्धनको सरकार भएकाले संघ वा प्रदेशको सरकार सञ्चालनका लागि गठबन्धनका तर्फबाट सरकारलाई सल्लाह सुझाव दिनको लागि समिति बनाउन सुझाव दिएको छ । संयुक्त सरकारको सञ्चालन सरकारमा सहभागी राजनीतिक दलहरूको आपसी सहमति का आधारमा संचालन गरिन्छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका दुई(दुई जना सदस्य रहेको कार्यदलले तयार पारेको उक्त कार्यविधिको मस्यौदा प्रधानमन्त्री देउवा मार्फत् गठबन्धन दलका शीर्ष नेतालाई शुक्रबार बुझाइएको छ ।

यस्तो छ कार्यविधिको मस्यौदा

गठबन्धन सरकार सञ्चालन कार्यविधि

१. कार्यविधि

संयुक्त सरकारको सञ्चालन नेपालको संविधान २०७२ संघीय संसदको मार्ग निर्देशन सरकारमा सहभागी राजनीतिक दलहरुको आपसी सहमति र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताका आधारमा हुने छ । त्यसका लागि निम्न लिखित कार्यविधि अवलम्बन गरिने छ ।

१. संयुक्त सरकार नेपाली जनता र संघीय संसदप्रति उत्तरदायी भई विधिसम्मत ढंगले सञ्चालन हुने छ ।

२. सरकार साझा न्यूनतम कार्यक्रमका आधारमा सञ्चालन गरिने छ ।

३. मन्त्रीहरु मन्त्रालयका कामका लागि व्यक्तिगत र सामूहिक रुपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुने छन् ।

४.मन्त्रिपरिषद्का लागि सबै सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता जारी गरिने छ । यसलाई सबैले कडाइका साथ पालना गर्नुपर्ने छ ।

५.भ्रष्टाचार, अनियमितता जस्ता गलत काम भए र गरे गराएमा सम्बन्धित दलको सिफारिसमा मन्त्रीलाई तत्काल पदमुक्त गरिने छ ।

६.मन्त्रालयको कामका जनताले गरेका सार्वजनिक गुनासाका सम्बन्धमा सम्बन्धित मन्त्रालयले त्यसको गम्भीरतालाई हेरी तत्काल स्पष्ट पार्ने छ ।

७. मन्त्रीहरुले पदभार ग्रहण गरेको तथा पदमुक्त भएको अवस्थामा कानुनअनुरुप आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छ ।

८. मन्त्रिपरिषद्का सदस्यहरुले विदेशीहरुसँग भेटघाट गर्नु परे वा विदेश भ्रमणमा जानुपर्ने भए परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्ने छ ।

९. कुनै पनि मन्त्रीले मन्त्रालय अन्तरर्गतको साधन, स्रोत र शक्तिलाई प्रचलित ऐन कानुनभन्दा बाहिर गएर प्रयोग गर्न पाउने छैन ।

१०. मन्त्रीहरुले मन्त्रालय र मातहतका निकायका कामहरुमा नातावाद, कृपावाद, पक्षपात, र चाकडीको प्रवृतिलाई कडाइका साथ निरुत्साहित गर्नुपर्ने छ ।

११.राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपर्दा गठबन्धनमा आवद्ध दलहरुबीच संवाद र सहमतिको प्रक्रिया अवलम्बन गरिने छ ।

१२. पार्टीले फिर्ता बोलाएको अवस्थामा सम्बन्धित मन्त्रीलाई प्रधानमन्त्री पदमुक्त गर्नुपर्ने छ ।

१३. संयुक्त सरकारलाई सहयोग पुर्‍याउन पार्टीका शिर्ष नेताहरु एक उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरिने छ ।

२.उच्चस्तरीय राजनीतिक समन्वय समिति

गठबन्धनलाई दिगो बनाउन, सहकार्यको संस्कृति विकास गर्न, राष्ट्रिय महत्त्वका विषयहरुमा राजनीतिक सहमति जुटाउन तथा संयुक्त सरकारलाई सुचारुरुपले सञ्चालन गर्न सहयोग पुर्याउन संयुक्त सरकार गठनमा सहमत राजनीतिक दलहरुको सहभागितामा एक उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरिने छ । यस समन्वय समितिको गठन र सञ्चालन निम्नानुसार हुनेछ ।

२.१ गठन र स्वरुप

१. उच्चस्तरीय राजनीतिक समन्वय समितिको गठन गठबन्धन सरकारमा रहेका तथा संयुक्त सरकार गठनमा सहमत भई यसलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरुको बैठकबाट गरिनेछ ।

२. समन्वय समितिमा पार्टीका अध्यक्षहरु र तोकिएका शीर्ष नेताहरु रहनेछन् ।

३. समन्वय समितिको कार्यसम्पादनका लागि एक सचिवालय गठन गरिनेछ ।

२.२ उद्देश्य

१. संयुक्त सरकारमा सहभागी राजनीतिक दलहरुबीच भएका सहमति तथा साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई आवश्यक सहयोग पुर्याउने ।

२.सरकार सञ्चालन गर्न उत्पन्न हुने कुनै पनि समस्या वा अवरोधलाई हटाउन भूमिका खेल्ने तथा सरकारलाई सफल बनाउन सहयोग गर्ने ।

३. राष्ट्रिय समस्याहरुको समाधानका लागि गठबन्धनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सबै क्षेत्रमा सहकार्यको संस्कृतिलाई अगाडि बढाउने ।

४. सरकारको कामको अनुगमन गर्ने र आवश्यकताअनुसार सुझाव दिने ५८ सरकारका सबै निकायहरुले साझा न्यूनतम कार्यक्रमका आधारमा निष्पक्ष र दक्षतापूर्वक कार्य गर्न सक्ने वातावरणको सिर्जना गर्न सहयोग पुर्याउने ।

५. गठबन्धनमा आवद्ध दलहरुबीचको समझदारी र विश्वासलाई दिगो बनाउन तथा सरकारप्रतिको समर्थनको दायरालाई फराकिलो तुल्याउन आवश्यक कार्य गर्ने ।

७. जनपरिचालनका कार्यक्रमहरुको सञ्चालन गर्दै सरकारको पक्षका जनमतको सिर्जना गर्ने । यसका लागि जनप्रदर्शन, आमसभा, सेमिनार र गोष्ठी आदिजस्ता कार्यक्रमहरुको आयोजना गर्ने ।

२.३ सञ्चालन विधि र कार्यक्षेत्र

१. समन्वय समितिको अध्यक्षता सरकारमा सहभागी राजनीतिक दलहरूको सहमति बमोजिम गठबन्धनको अध्यक्ष वा तोकिएको व्यक्तिले गर्नेछ ।

२. समन्वय समितिको बैठकको कार्यसूची सहमतिका आधारमा तय गरिनेछ ।

३. गठबन्धनमा आवद्ध कुनै दलले राष्ट्रिय महत्त्वको विषयमा छलफल गर्न चाहेमा कम्तिमा दुई दिन पहिले गठबन्धनको अध्यक्षलाई जानकारी गराउनुपर्नेछ ।

४. समन्वय समितिका सम्पूर्ण बैठक र त्यसका निर्णयहरुको सचिवालयमा व्यवस्थितरुपमा अभिलेख राखिनेछ ।

५. समन्वय समितिको निर्णय सामान्यत सहमतिमा गरिनेछ । कुनै विवाद उत्पन्न भएमा त्यसलाई पारस्परिक छलफल र समझदारीबाट समाधान गरिनेछ ।

६. समन्वय समितिले प्रदेश र जिल्लास्तरमा पनि संयुक्त समन्वय समितिको विस्तार गर्न सक्नेछ ।

७. गठबन्धनमा आवद्ध दलहरुले संयुक्तरुपमा गरिने सार्वजनिक कार्यक्रमहरुमा साझा न्यूनतम कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्नेछ । तर, आफ्नो दलले आयोजना गरेका कार्यक्रमहरुमा स्वतन्त्रतापूर्वक आफ्ना नीति, सिद्धान्त र विचारको पक्षपोषण गर्न यसले वाधा पार्ने छैन ।

८. सरकारको कामका विषयमा गठबन्धनका कुनै दलले छलफल गर्न चोहमा समन्वय समितिमा प्रस्ताव पेस गर्न सक्नेछन् । यो सम्बन्धमा समन्वय समितिको बैठकमा सरकारका प्रतिनिधिलाई पनि आमन्त्रित गर्नुपर्ने छ ।

९. समन्वय समितिमा आवश्यकता अनुसार कुनै मन्त्री वा नेतालाई आमन्त्रित गर्न सकिनेछ ।