Bagmati Samachar Logo

एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठक जारी, महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा दोस्रो दिन पनि जारी छ । शुक्रबारबाट जारी बैठकको दोस्रो दिनमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।

संगठनात्मक प्रस्तावसंगै महाधिवेशनको पनि बहस सुरु भएको छ । जब कि ओलीले २८ फागुनमा महाधिवेशन आयोजक कमिटी बनाउदै मंसिरमा महाधिवेशन घोषणा गरेका थिए । तर अहिले एमालेमा विवाद साम्य नहुदा संगठन नै भताभुङ भएको छ । जसमा अहिले समानान्तर कमिटी छन् । पार्टी नाम एक भएपनि काम फरक फरक पार्टी झै गरीरहेका छन् ।

यता माधव नेपाल पक्षसँग एकताको प्रयास जारी रहेको छ । तर मिल्ने छाटकाट देखिएको छैन । ओलीले संसद विघटन फिर्ता नलिएसम्म नेपाल पक्षले पनि विचाराधिन मुद्दामा रहेका हस्ताक्षर फिर्ता नलिने बताइ सकेको छ ।

आजको बैठक विशेषगरी संगठनात्मक विषयमै केन्द्रित रहने बताइएको छ । राजनीतिक विषयमा शुक्रबारनै छलफल र निर्णय भइसकेको छ । संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् ।