बादलसहित पूर्वमाओवादीका ४ नेता स्थायी कमिटीमा मनोनीत, तीन जना केन्द्रीय कमिटीबाट आउट
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले माओवादी केन्द्रबाट एमालेमा बसेका चार जना नेतालाई स्थायी कमिटीमा मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकले चार जना नेताहरूलाई स्थायी कमिटीमा मनोनयन गरेको छ भने तीन जना नेताहरूलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।
बैठकले माओवादीको तर्फबाट स्थायी कमिटीमा राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायामाझी, मणि थापालाई मनोनयन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्यस्तै एमालेको तर्फबाट रघुबीर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय समेत गरेको छ। भुसालले केहि दिन पहिला नै आफू एमालेमा नरहेको घोषणा गरेका छन् । आफू स्वतन्त्र सांसदको भूमिकामा राष्ट्रिय सभामा रहन चाहेको पत्र पठाएका छन् ।
त्यस्तै आजको बैठकले तीन जना माओवादीका केन्द्रीय सदस्यलाई उक्त पदबाट हटाएको छ । जसमा गौरीशंकर चौधरी,धर्मराज रेग्मी, झपट बोहरा रहेका छन् । यी तीन जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य नभएको भनेर हटाएको बताइएको छ ।
ओलीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाएका छन् ।
जब कि ओलीले २८ फागुनमा एकलौटी रुपमा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । चैतमा नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोगक कमिटी बनाएका थिए । आजको बैठकले आयोजक कमिटी भंग गरेको घोषणा गरेको ज्ञवालीले बताए ।
जेठ २० गते सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटी अबैध भएको आदेश दिएको थियो । उक्त आदेशपछि ओलीले त्यो कमिटी भंग गर्नु नै पर्ने दबाब थियो ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको छ । नेकपा एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको ज्ञवालीले बताए ।
यस्तै वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चमा पार्टीले सहयोग गर्ने निर्णयसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्: