लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छुः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नै सहकर्मिलाई लोभीपापी र अवसरवादीको आरोप लगाएका छन् । उनले लोभिपापी र अवसरवादीलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् ।
राप्रपाभित्र विवाद चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् । उनले आफूले विगतमा धेरै गल्ती गरेको पनि बताएका छन् तर के गल्ती गरे भनेर खुलाएका छैनन् ।
उनले समाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।’
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने योजना बनाएका थिए । तर त्यो प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गरेका थिए ।
केही दिनअघि थापाले उनीहरुमाथि अल्छी घोडाको संज्ञा दिएका थिए । उनीहरुका कारण पार्टीले गति लिन नसकेको आरोप थापाले लगाएका थिए ।
राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि विवाद भएको छ । दुबै समितिमा ३३ प्रतिशत महिला नसमेटिएको भन्दै महिलाले विरोध गरीरहेकी छन् । उता आफ्नो विरोध नगर्नेलाई मात्र समितिमा राखेको भन्दै युवाहरु पनि रुष्ट भएको बताइन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणापनि थापासंग रुष्ट बनेको बताइन्छ । राणा पनि पछिल्लो थापाको कार्यशैलीप्रति विमति जनाउँदै आएका छन् । २५ सदस्यीय केन्द्रीय विशेष समितिमा थापाले राखेको छैन । निर्देशक समितिमा मात्र राखेका छन् राणालाई ।
राणाले आगामी महाधिवेशनमा पार्टी नेतृत्वको लागि आफू अगाडि सर्ने तयारीमा गरेको बताइन्छ । पार्टीका उपाध्यक्ष र महामन्त्री समेत भइसकेका राणाले थापाको साथ छोडेपछि विशेष समितिमा नराखिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्: