Bagmati Samachar Logo

गलत प्रवृति र इगो त्यागरे पार्टी एकता जोगाउः खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले व्यक्तिगत इगोका कारण पार्टीमा विवाद समाधान हुन नसकेको बताएका छन् । उपचारका लागि दिल्ली जानु अगाडि खनालले पार्टीको पछिल्लो अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

जनता,नेता कार्यकर्ताको चाहना विपरित नेताहरुमा देखिएको गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको उनले जारी गरेको विज्ञप्तीमा बताएको छ ।

उनले विज्ञप्तीमा भनेका छन् ‘एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीको वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं ।’

विज्ञप्तीम भनिएको छ ‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका कारण अन्तर संघर्षको पराकम्प तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परेको र अहिले नेकपा (एमाले) मा परिरहेको छ ।’

राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्ने विज्ञप्तीमा जनाएको छ ।

उस्वास्थ्यमा समस्याका कारण डाक्टरहरुको सल्लाहमा उनलाई उपचारकको लागि दिल्ली लगिएको छ ।