Bagmati Samachar Logo

घनश्यामले ओलीलाई भने– क्रान्ति त अघि बढ्छ, तपाई व्यक्तिवादको नशाबाट ब्युँझिनुस् नत्र दण्डित हुनुपर्ला

काठमाडौं  । एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीलाई प्रतिस्पष्टीकरण बुझाएका छन् । उनले ओली आफै पार्टी र आन्दोलन सिध्याउन लागेको आरोप लगाएका छन् । भुसालले ओलीमाथि कटाक्ष गर्दै असहिष्णुको संज्ञासमेत दिएका छन्। भुसालको ओलीलाई प्रश्न छ,‘सत्ता र शक्तिको भोकको हिसावले तपाई पाउन अझै बाँकी के छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ति सबै पुरा गर्नुभयो । त्यही अनुपातमा तपाईले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकता जस्ता धरोहरहरू भत्काउँदै जानुभयो ।’ भुसालले अघि भनेका छन्,‘मेरो लाखलाख अनुरोध छ–अझै पनि व्यक्तिवादको नशाबाट ब्युँझिनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाई दण्डित हुनुहुनेछ । आगे तपाईकै इच्छा !’ ओलीले गत १२ चैतमा पार्टीको हित विपरित कार्य गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र भुसाललाई २४ घण्टे स्पष्टिकरण मागेका थिए । भुसालले भने आज स्पष्टीकरण बुझाएका हुन् । सोमबार ओलीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै नेपाल र रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका छन् । पाण्डेले भने अझै स्पष्टीकरण बुझाएका छैनन् ।