Bagmati Samachar Logo

खनाल –नेपाल समूहले भेला नरोक्ने, ओलीको चियापानमा नजाने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको बिफ्रिङ केन्द्रीय सदस्य र सांसदहरुलाई गराएका छन् ।

ओलीसँगको छलफललगत्तै खनाल–नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरु बानेश्वरस्थित होटल अर्यालमा छलफलमा जुटेका थिए ।

ओलीले एमालेलाई एकताबद्ध बनाउने भन्दा पनि ४ गतेको भेलालाई प्रभावित बनाउन ओलीले छलफलमा बोलाएको निष्कर्ष सुनाएको सहभागीले बताए ।

छलफलमा ओली २८ गतेको निर्णय फिर्ता गर्ने पक्षमा नभएको र आफ्नै अडानमा कायम रहेको नेता नेपालले बताएका थिए ।

ओली सच्चिने, आत्मबोध गर्ने भन्दा पनि पुरानै अडानमा कायम रहेको ब्रिफिङ नेपालसहित छलफलमा सहभागी नेताहरुले गरेका थिए ।

माथिल्लो तहका नेताहरु मिल्न लागे भनेर ४ र ५ गतेको लागि बोलाइएको राष्ट्रिय भेलामा किन जाने भन्ने भ्रम कार्यकर्तामा पैदा नहोस् भन्नका लागि आज बानेश्वरमा छलफल गरिएको अर्का एक नेताले बताए ।

आज ओली र नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । छलफल निष्कर्षविहीन भएको नेताहरुले बताएका छन् । दुवै पक्ष आ–आफ्नो अडानमा रहेको नेता रघुजी पन्तले जानकारी गराए ।