Bagmati Samachar Logo

नेकपासंग सत्ता सहकार्य: विभाजनको प्रष्टताको प्रतीक्षामा काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुन:स्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए । महतले भने, संसद्को बैठक बसोस् । अनि परिस्थिति कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ त्यसलाई मध्यनजर गरेर नेपाली काँग्रेसले निर्णय लिन्छ ।

अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतको भनाइ छ । अहिले यो गर्छु, त्यो गर्छु, यसलाई समर्थन गर्छु वा उसलाई समर्थन गर्छु भन्ने अवस्था अहिलेको अवस्था होइन । यो नै हाम्रो समग्र सर्वसम्मत छलफलको निष्कर्ष हो, उनले भने ।

बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताएका थिए । नेता अर्जुननरसिंह केसीले भने, बैठकमा आफ्नो दृष्टिकोण भन्दा पनि दुवै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ । यो अवस्थामा हामीले लिने दृष्टिकोण के हुन्छ ? भन्ने धारणा राख्नु भयो ।

संसद पुन:स्थापनापछिको घटनाक्रमको विश्लेषणसँग पार्टीको आगामी रणनीति कसरी तय गर्ने भन्न विषयमा छलफल भएको केसीले बताए ।

सबैभन्दा पहिला सत्तासीन दल बीचको वर्तमान अवस्था अन्तिम निष्कर्षमा नपुगी हामीले तत्काल खेल्नुपर्ने भूमिका भन्दा पनि त्यसलाई प्रतिपक्ष गर्ने विषय महत्वपूर्ण कुरा हो । त्यसपछि हामी संसदमा गर्नुपर्ने रणनीतिक अथवा कार्यनीतिका सम्बन्धमा पछि बसेर छलफल गर्ने भन्ने हाम्रो सामुहिक निष्कर्ष हो,ु केसीले भने,ुहामीले व्यक्ति व्यक्ति भन्दा पनि पार्टीसँग सहकार्य गर्ने हो । अहिले नेकपा एउटै छ । दुई ढंगले प्रस्ट भएर भएर आएपछि सहकार्यबारे सोच्ने अवस्था आउछ ।

उनले थपे, राजनीतिक घटनाक्रमको विश्लेषण र समीक्षा गर्दै सबै पक्षसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढौं । अन्तिम स्थितिमा के गर्नुपर्छ फेरि बसेर सल्लाह गरौं भन्ने कुरा हो ।

यस्तै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया कसरी अगाडी बढ्छ त्यसै अनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्ने बताए । संसदीय प्रक्रिया अगाडी नबढी काँग्रेसको भूमिका नहुने पौडेलले भनाइ छ । उनले भने, ‘संसदीय प्रक्रिया केही शुरु भएको छैन । संसदीय प्रक्रिया केही अगाडी नबढीकन नेपाली काँग्रेसले अहिले गर्ने भूमिका खासै केही छैन । पहिले प्रक्रिया अगाडी बढोस् कसरी आउँछ, त्यही अनुसार हामीले हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौ ।’

पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा नेपाली कांग्रेसले सन्तोष मानेको पनि बताए ।