ओलीको अशिष्ट भाषाःशहिद भएका भए श्रद्धाञ्जली दिन हुन्थ्यो ज्युदै छौ
काठमाडौं ।१९ गते । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड नेपाल पक्षका शीर्ष नेताप्रति गैरराजनीतिक ढङ्गबाट प्रस्तुत हुन थालेका छन् ।
पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेपछि नेकपाको बहुमत समूहले ओलीलाई पार्टी अनुशासनको कारबाही घोषणा गरेको थियो । र, नेकपा विभाजनको बाटोमा अघि बढेको थियो । त्यसको प्रतिशोध साँध्न र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई विभाजनकारी करार गर्न ओलीले राजनीतिक तहबाट ओर्लिएर टिप्पणी गर्न थालेका हुन् ।
आइतबार आफु पक्ष विद्यार्थीहरुले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री त्यस्तै अराजनीतिक ढङ्गबाट प्रस्तुत भए । भाषणका दौरानमा उनले धेरैपटक अराजनिति शब्दहरु प्रयोग गरे अर्को पक्षका नेताहरुको मानमर्दन गरे । अध्यक्ष प्रचण्डलाई आफूले कार्यकारी अध्यक्ष दिएको तर उपद्रो मच्चाएको आरोप लगाउँदै प्रस्तुत भएका ओलीले विभाजित समूहलाई ‘मरेर गएको (सहिद) भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अशिष्ट टिप्पणी गरेका हुन् ।
“तपाईंहरू नहुँदा, तपाईंहरू सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन १ अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन । खालि तपाईंहरूले धुलो उडाउनुहुन्छ त्यसमा हामीले पानी छम्किनुपर्छ । तपाईंहरूले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ हामीले अलिकति अत्तर छर्किनुपर्छ,” उनले कार्यक्रममा भने ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई पिलोसँग पनि दाँजेका थिए । प्रचण्ड–नेपाल समूह विभाजित हुनु शरीरको पिलो निचोरिनुजस्तै भएको बताउँदै पिलो निख्रँदा, निचोरिँदा शरीरको तौल नघट्ने टिप्पणी गरेका थिए ।
केही दिनअघि धनगढीमा आयोजना भएको पार्टीसभामा आफूले बोल्दै नबोलेको कुरा प्रायोजित ढङ्गले प्रचार गरिएको भन्दै नेकपाका नेता भीम रावलले समाचारको खण्डन गरिसकेका छन् । समाचार लेख्नेले माफी माग्दै सञ्जालबाट समाचार हटाइसकेका छन् । रावलले पनि माइक्रो ब्लगिङ साइट ट्विटरमा खण्डन गरेका थिए । उनले भनेका थिए, “‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन’ भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्छु । त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो । मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु । म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु,” उनले जिकिर गरेका थिए ।
नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका रावलको धनगढी सभाको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । तर, उनले ओलीको मिर्गौला प्रत्यारोपणबारे दिएको अभिव्यक्ति कहीँ सुनिँदैन । पुष्टि पनि हुँदैन ।
तर, प्रधानमन्त्री त्यो तथ्यलाई बिर्सिएर रावलमाथि पनि खनिएका थिए । महिलाहरूलाई अपमान गरेको भन्दै आलोचना गरेका थिए ।
“एउटा नेताले चर्को भाषण गरेछन्– केपी ओलीले महिलाको किड्नी लगाएर दिमागै बिग्रियो भनेर । महिलाको किड्नी लगाउँदा दिमाग बिग्रियो भने महिलाबाट जन्मिएको त्यो मानिस पहिलेदेखि नै के होला ? महिलामाथि कत्रो अपमान हो रु किड्नी मात्र लगाउँदा मानिस ‘पागल’ हुन्छ , त्यो दिन बेलुका श्रीमतीले कसरी खान दिइन् होला अचम्म लाग्छ , बेलुका कसरी स्वागत गरिन् होला रु कोही पनि झ्यालबाट हेर्ने छिमेकका दिदीबहिनी, महिलाहरूका अगाडि अनुहार कसरी देखाएहोलान् ?”
त्यही मेसोमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि पनि प्रचण्ड–नेपाल समूहबाट अपमान भइरहेको र गाली बेइजती भइरहेको आरोप लगाएका थिए ।
“नेताहरूले उचालेर, उछालेर ।।।१ महिला राष्ट्रपति देशले पाएको छ, पहिलोपल्ट । अत्यन्तै गरिमामय ढङ्गले व्यवहार गर्ने, अत्यन्त जिम्मेवार ढङ्गले व्यवहार गर्ने, अत्यन्तै शालिन र भद्र महिला, जसमा असाधारण देशभक्तिको भावना छ । लोकतन्त्रको लडाइँबाट खारिएर आउनुभएको छ । त्यस्तो राष्ट्रपति पाएको छ । उहाँको इज्जतमाथि हमला गर्न, उहाँको मान–प्रतिष्ठामा धावा बोल्न, उहाँको अपमान गर्न नारा लगाउँदै जुलुसमा नेता मुस्कुराउँदै हिँडेका छन् । शरम हुनुपर्ने हो,” राजनीति गर्ने नेताहरूले कमसेकम मर्यादाको ख्याला गर्नुपर्छ भन्दै ओलीले पाठसमेत पढाउन भ्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्: