पार्टीमा सल्लाह नै नगरी संवैधानिक नियुक्तिको तयारीमा प्रधानमन्त्री ओली

ओलीको कार्यशैलीले पार्टीमा थप विवाल बढ्ने नेताहरुको भनाइ
काठमाडौं । २९ मसिर । प्रधानमन्त्री केपी ओलीले पार्टीमा सल्लाह नै नगरी संवैधानिक परिषदमा नियुक्ति गर्ने तयारी गरेका छन् । पार्टीमा पछिल्लो समयमा उनको कार्यशैलीप्रति चर्को असन्तुष्टि बढेको छ । उनकाकारण नै पार्टी विवाद उत्कर्षमा पुगेका उनी इतर नेताहरुको भनाइ छ । पार्टी भित्र विवाद बढको बेला ओली एकलौटी ढंगले अघि बढ्न लागेका आरोप नेताहरुले लगाएका छन् ।
उनले रिक्त संवैधानिक निकायहरूमा पदपूर्ति गर्न मंगलबार बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघि आइतबारकालागि बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्को बैैठक मंगलबार बिहान नौै बजेका लागि बोलाएका हुन् ।
नेकपाभित्रको आन्तरिक संकट समाधानमा सहमति खोज्ने प्रयास भइरहेका बेला पार्टीमा छलफल नै नगरी ओलीले ठुलो संख्यामा नियुक्ति गर्ने तयारी गरेपछि नेकपामा पुन असन्तुष्टि बढ्ने निश्चित भएको छ ।
ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै छलफल नै नगरी संवैधानिक परिषदको बैठक बोलाएर नियुक्तिको तयारीले नेकपाभित्रको विवाद थप चर्किने पार्टी नेताहरुले नै बताएका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले संवैधानिक परिषदको बैठकबारे दुई अध्यक्षबीच सोमबार साँझसम्म कुनै छलफल नभएको जनाएको छ । ‘संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा दुई अध्यक्षबीच कुनै छलफल भएको थाहा छैन’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘यस्ता महत्वपूर्ण विषयमा दुई अध्यक्षबीच छलफल गर्ने स्थायी समितिको निर्णय हो, तर मंगलबार बैठक बोलाइए पनि कार्यकारी अध्यक्षसँग छलफल र परामर्श केही भएको छैन ।’
आजै साँझ प्रचण्ड सभामुख भेट्न लैनचौर पुगेका छन् । सभामुख पनि संवैधानीक परिषदको सदस्य हुन ।
यसअघि नेकपाको भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले सरकारले राष्ट्रिय तथा दीर्घकालीन महत्त्वका निर्णय र नियुक्ति गर्दा कार्यकारी अध्यक्ष प्रचण्डसँग र आवश्यकताअनुसार पार्टीभित्र समेत छलफल गर्ने निर्णय गरेको थियो । तर, यो निर्णय विपरीत ओली संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने अन्तिम तयारीमा लाग्दा समेत छलफल नगरेपछि प्रचण्ड ओलीको कार्यशैलीप्रति थप असन्तुष्ट बनेका छन् ।
‘
प्रतिक्रिया दिनुहोस्: