‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया’
काठमाडौं । २८ मंसिर । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसानहरुले पुनः आन्दोलन थालेका छन् । माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन सुरु भएको हो ।
गतवर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गर्यो– माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने । माघको त्यो कठ्याङ्ग्रिदो जाडोमा काठमाडौं आएर आन्दोलन गर्न बाध्य किसानलाई पाँचबुँदे सहमति गराउन त सरकार सफल भयो तर आफूले गरेको सम्झौता भने कार्यान्वयन गर्न सकेन । किसानले उक्त सहमति कार्यान्वयनको आशामा एकवर्ष बिताए ।
बारम्बार ताकेता गर्दा पनि किसानले बक्यौता पाएनन् । तीन साताभित्र सम्पूर्ण बक्यौता उठाइदिने सम्झौता गरेको सरकारले एकवर्ष पूरा हुनै लाग्दासमेत पैसा दिलाइदिन नसकेपछि सर्लाहीबाट किसानहरू पुनः काठमाडौं आएर शान्तिपूर्ण धर्नामा बस्न बाध्य भएका हुन् । यसपटक भने उनीहरुले उधारोमा सहमति नगर्ने अडान लिएका छन् ।
‘हामी अनसन बस्यौं, गतवर्ष यहीँ आएर आन्दोलन गर्यौँ । सरकारले पैसा दिलाइदिन्छु भनेर सहमति गरायो तर पनि हामीले पैसा पाएनौँ, अब पैसा नलिइ गाउँ फर्कदैनौँ,’ सर्लाहीका उखु किसान गगनदेव रायले भने । उनले किसानको विषयमा कसैले पनि मतलब गरेको दुखेसो पोखे । ‘दुईचारजना नेतालाई पैसा दिएपछि उनीहरू पनि हाम्रो पक्षमा बोलेनन् । हाम्रो कुनै विकल्प नभएर नै आन्दोलन गर्न काठमाडौं आएका हौँ,’ उनले भने ।
चुनावको बेलामा भोट माग्न घरघरमा आउने नेताहरू अहिले किसान मरुन् कि बाँचुन् केही मतलब नगरेको अर्का किसान रामेश्वरप्रसाद यादवले दुखेसो पोखे । ‘नेताहरुलाई के मतलब, चुनावको बेलामा भोट माग्न मात्रै आउँछन् । किसानको खेत जाओस् कि ज्यान जाओस् उनीहरुलाई मतलब छैन । दुईचारजना नेतालाई दलालीले पैसा दिन्छन्, सबै चुप छन्,’ उनले आक्रोस पोखे ।
आफ्नो रकम पाउन उनीहरु कहिले जिल्लामा अनसन बसे, कहिले काठमाडौंमा आएर सडकमा बसे तर पैसा पाएनन् ।
जिल्लामा अनसनमा बस्यौँ, पैसा मिल्छ भनेर कागज गराए । कागज गराएपछि केही मतलब गरिएन । यहीँ आएर आन्दोलन गर्यौँ, पैसा पाइएन । अहिले फेरि यहाँ आएका छौँ, एक जना सहभागी किसान बताउछन् ।
सर्लाही सिसौटियाका गौरीशंकर पण्डितले सरकारले किसानलाई नहेरेको बताए । जसले दलाली गरेको छ, उसले पैसा पाएको तर जो बास्तविक किसान हुन् उनीहरुले बक्यौता नपाएको उनले बताए ।

१४ वर्षदेखि उखु उत्पादनमा लागेका पण्डित अहिले ५० वर्षका भए । छोरी १२ कक्षा पढेकी र विवाह गर्ने उमेर भइसक्दा समेत पैसा नहुँदा विवाह गराउन नसकेको उनले बताए ।
अर्का किसान यादव आफूसँग पैसा नभएपछि पाँचहजार ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएको बताए ।
उनले एकलाख ७२ हजार रुपैयाँ लिन बाँकी छ । त्यो रकम पाउन उनी कहिले अनसन त कहिले आन्दोलन गर्न काठमाडौंसम्म आए तर पैसा पाएका छैनन् । ‘माग्दा दिन्छु दिन्छु भन्छ तर दिँदैन ।
चारवर्षदेखिको रकम बाँकी छ । सरकारले पनि दिलाउँछु दिलाउँछु भन्छ, तर दिलाउँदैन । पैसाको ब्याजमात्रै पाँचलाख पुग्न लागिसक्यो । खेत बेचेर ऋण तिर्नुपर्ने भएको छ, उनले भने ।

आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्न आएका किसानहरूले बोकेको प्लेकार्डमा ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया’, ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’ लगायतका नारा थियो । उनीहरूले श्रम पसिनाको मूल्य पाउनुपर्ने माग गरेका थिए । आफूहरुको पेट खाली किसानको मर्का बुझिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: