Bagmati Samachar Logo

नेकपा स्थायी कमिटीः ओलीले पार्टीलाई अपमान गरेको प्रचण्डको आरोप

काठमाडौं । २१ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अपमान गरेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीको नै अपमान हुने काम गरेको बताए । उनले भने ‘पार्टी कमिटीको बैठक बस्छ तर अध्यक्ष नै आउदैनन । यो पार्टीको अपमान हो । एक जनाका कारण पार्टी नै समाप्त हुन लागेको र बैठक बोलाउन समेत निवेदन हाल्नुपर्ने लज्जाजनक परिस्थिति पैदा भएको छ ।’

आज दिउसो सवा १ बजे शुरू भएको बैठकको शुरुमा बोल्दै प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि अपमानसमेत गरेको आरोप लगाए ।

पार्टीको अवस्था यस्तोसम्म आयो कमरेडहरू, बैठक बोलाउन पनि निवेदन हाल्नुपर्ने परिस्थिति सिर्जना भयो । यो अत्यन्तै लज्जाजनक परिस्थिति हो । यसरी न पार्टी उँभो लाग्छ न त देश नै,प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने ।

प्रचण्डले त्यागको प्रसंगसमेत उप्काएका थिए । गणतन्त्रका लागि सबैले त्याग गर्नुपर्छ, त्यो ओलीजीले मात्र गर्नुपर्छ भनेको होइन, प्रचण्डले बैठकमा भने, जसले जहाँ आवश्यक पर्छ, उसले त्यहाँ त्याग गर्नुपर्छ ।

प्रचण्डले आफूले पटक पटक त्याग गरेको र आवश्यक पर्दा अझ बढी त्याग गर्नेसमेत बताए ।

बैठकमा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीले पठाएको पत्र वाचन गरेका थिए । ओलीले सचिवालयमा पेश गरिएको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडान पत्रमार्फत सार्वजनिक गरेका छन् ।

खेलको उत्तरार्धमा आएर केही कमरेडहरू खेलको नियमनै बदल्न लाग्नु हुनेछ र जसरी पनि जित्ने महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म पनि जान तयार हुनुभएको छ,ु ओलीले पत्रमा लेखेका छन्, खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्र होइन, विभाजनकारीसमेत छ भनेर मैले दोहोर्याउन चाहन्छु ।ु

आफूले खारेज गरिसकेको प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने बैठकमा आफू सहभागी नहुने ओलीले स्पष्ट पारिसकेका छन् ।

स्थायी कमिटी सदस्य भीम रावलले ओली भौतिक रूपमा उपस्थित नभएपनि पत्र पठाएपछि त्यसलाई उपस्थिति नै मान्नुपर्ने तर्क गरेका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले भने, पत्र पठाउनु भनेको राजनीतिक भाषामा उपस्थित हुनु जस्तै हो । प्रधानमन्त्री ओली या अन्य कुनै एकजना सहमत नभए पनि बैठक निर्णयबिहीन बन्न सक्दैन । बैठकका आफ्ना विधि र प्रक्रिया हुन्छन् त्यही अनुसार निर्णय गरेर अघि बढ्छ ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ओली बैठकमा उपस्थित नभएर केही फरक नपर्ने बताइन् । आजको बैठक जसरी सम्पन्न भयो, हामी खुसी छौं, शाक्यले लोकान्तरसँग भनिन्, एकाध अनुपस्थित भएर केही फरक पर्दैन । बैठकमै आउन नचाहने, छलफल नै गर्न नचाहने प्रवृत्ति पार्टीबाट अन्त्य हुन जरुरी छ ।

उनले ओली बैठकमा उपस्थित हुनुको साट्टो धम्कीपूर्ण भाषासहित पत्र पठाएको भन्दै आपत्ति जनाइन् ।

स्थायी कमिटी सदस्य मात्रिका यादवले ओलीको दम्भ अझै बढेर गएको टिप्पणी गरे । ओलीको दम्भ पत्रमार्फत देखिएको छ,यादवले भने, यसरी चल्दैन । पार्टी आफ्नो विधिअनुसार अघि बढ्छ ।

बैठकपछि सञ्चारकर्मीहरूलाई ब्रिफिङ गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्सिर २८ गतेसम्म बैठक स्थगित गर्ने निर्णय भएको जानकारी गराए ।

यसअघि मङ्सिर २५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।