विश्वराज पोखरेल एआइजीमा सिफारिस
काठमाडौं । १५ मंसिर । प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो। डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो।
गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो।
बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ।
पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए। अन्यथा नभए उनी हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वतस् प्रहरी नेतृत्वमा पुग्छन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन्।
यही सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन्।
प्रहरी महानिरीक्षक क्षत्रीकै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए। तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका छन्।
पोखरेलका ब्याची सबै अहिले डिआइजी छन्। गृहको ओएन्डएम स्वीकृतिमा पोखरेलका ब्याची डिआइजी र हालका प्रहरी महानिरीक्षक क्षत्रीका ब्याचीले असन्तुष्टि जनाउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस्: