Bagmati Samachar Logo

प्रचण्डलाई ओलीको जवाफ– तपाईंहरू एक्सनमा गए, म महाएक्सनमा जान्छु

काठमाडौं । २५ कार्तिक । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको संवाद विवाद भएर टुङ्गिएको छ । बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
स्रोतका अनुसार प्रचण्ड दिउँसो साढे तीन बजेतिर बालुवाटार प्रवेश गरेका थिए । उनले सुरुमै ओलीलाई कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठक राख्न सहमति माग गरेकाले ओलीले आनाकानी नगर्न भनेका थिए ।

तर, ओलीले ‘दुईचारदिनपछि बैठक राख्छु भनेकै छु नि, तपाईंलाई के हतार पर्‍यो ?’ भनेर प्रचण्डलाई सोधेको ती सदस्यको भनाइ छ ।

“ओलीजीलाई बैठक राख्न सहमति दिनुस् भनेर पटकपटक आग्रह गरेँ,” प्रचण्डले धुम्बाराहीको अनौपचारिक बैठकमा गरेको ब्रिफिङ उद्धृत गर्दै ती सदस्यले भने, ‘ओलीले जीले सहमति दिनुको सट्टा के तपाईंहरू एक्सन मै जान खोज्नु भएको हो ? उसो भए म झन् महाएक्सनमा जान्छु भनेर जवाफ दिनुभयो ।’
प्रचण्डले सचिवालयको बैठक त्यसरी रोकेर राख्न नहुने बताउँदै सहमति दिन पुनः जोड दिएका थिए । ओलीले ‘महासचिव विष्णु पौडेलसँग पनि सल्लाह गर्छु’ भनेर पन्छाएको ती सदस्यको जिकिर छ ।

२७ गते बैठक बोलाउन पनि केपी ओलीको आनाकानी

अझै पनि ओली सचिवालय बैठक राख्ने पक्षमा रहेका छैनन् । गत कात्तिक २२ गते नेकपाका ५ सचिवालय सदस्यले बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि ओली तयार भएका छैनन् ।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालयका ५ नेताको अनौपचारिक बैठकमा ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे सामान्य छलफल भएको छ । तर, बैठक बोलाउन ओलीको ‘ग्रीन सिग्नल’ नआएसम्म मौनतामै रोकिइरहने मनस्थितिमा देखिएका छन् । सचिवालयका बहुमत सदस्य बैठकको पक्षमा हुँदाहुँदै पनि प्रचण्डलगायतका नेताहरु बैठक बोलाउन निरीह बनेका हुन् ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको बताउँदै आफूहरु अझैपनि सहमतिकै पक्षमा रहेको बताए ।
श्रेष्ठका अनुसार ५ नेताको बैठकअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटका क्रममा कात्तिक २७ गते बैठक बोलाउन प्रचण्डले आग्रह गरेपनि ओलीले बैठकको औचित्य नभएको भन्दै नबोलाउने जवाफ दिएका थिए ।
५ नेताको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले ओलीले अझै बैठक बोलाउन आनाकानी गरेपनि पार्टीभित्रको यावत समस्या समाधानका लागि बैठकको विकल्प नभएको बताएका थिए ।

‘सचिवालयका ५ सदस्यहरुले २२ गते अर्का अध्यक्ष ओलीलाई भेटेर लिखित रुपमै सचिवालयको बैठक बोलाउन आग्रह गर्नुका साथै त्यसमा सहमति जनाउन अनुरोध गरेको थियो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘हिजोसम्म हामीले बैठक बस्ने अपेक्षा गरेपनि बस्न सकेन । अझै पनि बस्ने कुरामा उहाँले सहमति दिनु भएको छैन । आज कार्यकारी अध्यक्ष प्रचण्डले फेरि ओलीलाई भेटेर यसबारेमा गम्भीरतापूर्वक छलफल भएको छ । बैठक बस्नुबाहेक अर्को विकल्प छैन । आज पनि प्रचण्डले बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्नुभएको छ ।’

तर ओलीले बुधबार काठमाडौं बाहिर कार्यक्रम रहेको बताएको र २७ गते सचिवालय बैठक बस्नुपर्छ भन्दा पनि सहमति नजनाएको श्रेष्ठले बताए ।

श्रेष्ठले प्रचण्डको आग्रहअनुसार भोलिको कार्यक्रम सर्किएपछि ओलीले पर्सी बस्ने कुरामा सहमाति जनाउने विश्वास समेत व्यक्त गरे ।

यसैबीच वरिष्ठ नेता माधव कुमार नेपालले २७ गते सचिवालयको बैठक बस्ने बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सो बैठकमा ओली पनि सहभागी हुने दावी गरे ।