Bagmati Samachar Logo

मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरीदेखि डाक्टरसहित ३३ कोरोना संक्रमित

विराटनगर ।२४ साउन । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको विराटनगरमा शनिबार तीन डाक्टर र मुख्यमन्त्री कार्यालयमा कार्यरत सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगर र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरीसहित नोबेल अस्पतालका २ डाक्टर, कोशी अस्पतालमा कार्यरत ७ जना, मोरङ सहकारी अस्पतालमा कार्यरत १ जना र कार्यथलो नखुलेका डाक्टरमा पनि कोरोना देखिएको हो ।

विरानगर महानगरपालिकाका अनुसार योसँगै महानगरमा कोरोना संक्रमितको संख्या २५६ पुगेको छ भने ४३ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३ जनाको निधन भएको छ । अहिलेसम्म महानगरमा ३५४५ जनाको पिसिआर परीक्षण भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । शनिबार १५३ जनाको स्वाब परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो जसमध्ये २६ पुरूष र ७ महिला रहेका छन् ।