Bagmati Samachar Logo

बेसारको मजाक उडाए पनि, नेपालीले खाएकै छः प्रधानमन्त्री

काठमाडौं । ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको भान्सामा प्रयोग हुने बेसार, अदुवाजस्ता औषधीयको गुण भएका खाद्य वस्तुको मजाक उडाउन नपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले कोरोना भाइरससँग जुध्न बेसार उपयोगी हुने , रोगप्रतिरोधी क्षमता बढाउछ भनेपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो । बेसारपानीलगायत घरेलु औषधिले कोरोना ठीक नहुने भन्दै चिकित्सकहरूले पनि प्रधानमन्त्रीले बुझेर सल्लाह दिनुपर्ने बताएका थिए । युवाहरूले बेसार दलेर सडकमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतीकात्मक विरोध प्रदर्शन समेत गरेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ‘राष्ट्रिय योग अभ्यासक्रम’को विमोचन गर्दै बेसार, अदुवा, ज्वानो, मेथी, लसुन आदि भान्छामा प्रयोग हुने पदार्थमा औषधीय गुण हुने दोहोर्‍याएका हुन् ।

‘नेपालीहरूका भान्सामा अनेक औषधीय तत्त्वको प्रयोग गर्ने क्रम हजारौं वर्षदेखिको उपयोग र अनुभवमा आधारित छ,’ उनले भने, ‘बेसारको अदुवाको उपयोगिताको चर्चा केही बुद्धिजीवीले मजाक उडाए, यसरी मजाक नउडाऊँ ।’

आफ्नो भान्सामा के–के चिज प्रयोग हुन्छ, ती किन प्रयोग गरिन्छन् ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेको चर्चा गर्दै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको बताए ।

रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।