Bagmati Samachar Logo

वामदेवमाथी ओलीका मजाकै मजाक

काठमाडौं । १८ वैशख ।अध्यादेश प्रकरणले ८ वैशाखबाट गिजोलिएको सत्तारुढ नेकपाको राजनीतिमा नयाँ मोड आएको छ । बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेकपा समीकरणले नयाँ मोड लिएको छ

यो प्रस्ताव नेकपामा गौतमबाहेक अरुलाई सामान्य हो । किनकि प्रधानमन्त्री ओलीको टाउको दुखाइ भैँसेपाटी गठबन्धन हो । उनको पहिलो प्रयास यो गठबन्धन तोड्नु हो, जुन प्रयास गत पुसदेखि जारी छ । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म तोड्न सकेका छैनन् ।

संविधान बाधक

नेपालको संविधानमा नै प्रधानमन्त्री हुन संघीय संसदको सदस्य हुनुपर्छ । संघीय संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । संविधानको धारा ७८ को उपधारा ४ को १ मा ।।।तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने व्यवस्था छ ।

वामदेव बर्दिया–१ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सञ्जय गौतमसँग पराजित नेता हुन् ।

गौतमका लागि पहिलो बाधक संविधान छ । संविधान संशोधन गर्न दुईतिहाइ बहुमत चाहिन्छ । जुन अहिलेको अवस्थामा नेकपासँग छैन । उसले संविधान संशोधन गर्न अन्य दलहरूको सहयोग माग्नुपर्ने हुन्छ ।

संविधान संशोधनको माग गर्दै सरकारमा सामेल भएका तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी आफ्नो माग पूरा नभएपछि सरकारबाट बाहिरिइसकेका छन् । प्रतिपक्षी दल कांग्रेस पनि १ व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनतर्फ लाग्ने कुनै निश्चित छैन ।

उनलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभाको सांसद बनाएर प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न पनि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । जुन तत्काल सम्भव छैन । जबकि गौतमलाई राष्ट्रियसभामा लैजाने भैँसेपाटी गठबन्धनको निर्णयलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरिसकेका छन् ।

सचिवालयमा ओली प्रस्तावपछि यतिबेला अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपालसँगै झलनाथ खनाल कसरी अघि बढ्ने भन्नेमा अनिर्णित छन् । तर, गौतम भने नेपाली राजनीतिमा विशेष गरेर तत्कालीन एमाले र हालको नेकपावृत्तमा सधैँ नेताका ‘गोटी’का रूपमा मात्र प्रयोग हुँदै आएका छन् । र, यी सबै गोटीमा उनले धोका मात्रै खाइरहेका छन् ।

पहिलो धोका नवौँ महाधिवेशन

ओली–गौतम घनिष्ठता भने तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट भएको हो । नवौँ महाधिवेशनमा ओलीले आफूलाई अध्यक्षमा सहयोग गरे प्रधानमन्त्री बनेपछि कार्यकारी अध्यक्ष दिने वचन दिए ।

गौतमले पत्याएर सहयोग गरे । ओली अध्यक्ष भए । प्रधानमन्त्री पनि भए । तर, गौतमका लागि कार्यकारी अध्यक्ष ‘आकासको फल आँखा तरी मर’ भयो ।

दोस्रो धोका निर्वाचन

तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरे । निर्वाचनमा शीर्ष नेताहरू मात्र होइन, धेरै नेताहरूले जिते । तर, गौतम बर्दिया– १ बाट पराजित भए । उनी पराजित हुनुमा ओलीनिकट नेताहरूको हात रहेको आरोप गौतमले नै लगाउँदै आएका छन् ।

तेस्रो धोका उपचुनाव

उनले हार मानेनन् । उनी निर्वाचन भएको ६ महिनापछि उपनिर्वाचनबाट संसद प्रवेश गर्न चाहे । जसका लागि उनले एक वर्ष बिताए । गौतमले डोल्पादेखि काठमाडौँसम्म विभिन्न समयमा उपनिर्वाचनबाट सांसद हुने वातावरण मिलाए । तर, अन्ततस् ओलीले नै सबै कुरा भाँडिदिए ।

गौतमले उपनिर्वाचनबाट सांसद हुने चाहना गरे पनि सफल भएनन् । भैँसेपाटी गठबन्धनले उनलाई राष्ट्रियसभामा जान सुझाव दिए । प्रधानमन्त्री हुने भए मात्र जाने अडान लिए ।

चौथो धोका राष्ट्रियसभा

उपनिर्वाचनमार्फत प्रतिनिधिसभाको सदस्य बन्ने चाहना पूरा नभएपछि उनका लागि नेकपा नेताहरूले सांसद बनाउने अर्को बाटो सुझाए । ओलीविनाको भैँसेपाटी गठबन्धनबाट राष्ट्रियसभामा आफ्नो पद अनुमोदन पनि गराए ।

१४ फागुन, २०७६ मा बसेको सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय नै गर्‍यो । तर, प्रधानमन्त्री केपी ओलीले भैँसेपाटीबाट विकसित भएर सचिवालयमार्फत अनुमोदन भएको यो प्रस्तावलाई पनि ‘घाममा सुकाइदिए’पछि अहिलेसम्म यो चाहना पनि पूरा हुन सकेको छैन ।

पाँचौँ धोका खानै बाँकी १

ओलीबाट ४ वटा प्रकरणमा धोका खाइसकेका गौतमले केन्द्रीय कमिटीबाट उपाध्यक्षमा अनुमोदन हुन पाएपछि भने ओलीले दिएका सबै धोका भुल्न लागेका छन् ।

ओलीले नचाहेको भए उपाध्यक्ष बन्न नपाउने निष्कर्षमा पुगेका गौतमले पछिल्लो सचिवालय बैठकको प्रस्तावमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्री भन्ने प्रस्तावबारे आफू नबोले पनि निकट कार्याकर्ताका अभिव्यक्ति र सामाजिक सञ्जालको टिप्पणीले देखाउन थालेका छन्– गौतम प्रधानमन्त्री लोभतर्फ लत्रिइरहेका छन् ।

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको दोस्रो दिन नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–सांसद नभएको व्यक्ति कसरी प्रधानमन्त्री हुन्छ रु एउटा उत्पट्याङ प्रस्ताव, अर्को नाम आएपछि मख्ख, अरु अब त छोड्ने भए भनेर लट्ठ ।

उनले यत्ति मात्र होइन, अझ अगाडि ४ वटा बुँदा पनि लेखेका छन् ।

१। अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि कि कोही प्रतिनिधिसभा सदस्यलाई बली चढाउनु पर्‍यो ।
२। संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने संविधानमा व्यवस्था गर्नुपर्‍यो ।
३। खिलराज रेग्मी मोडेल अपनाउनु पर्‍यो ।
४ पञ्चायती व्यवस्थामा झैँ राजाले खास मान्छे टिपेर नियुक्त गर्ने तरिकामा छलाङ मार्नु पर्‍यो ।
र अन्त्यमा उनले लेखका छन्– अरु पनि कुनै विकल्प पनि छ कि लोक हँसाउने कमरेड कलाकार रु

नेकपाका भुक्तभोगी केन्द्रीय सदस्यले समेत विस्वास नगरेको प्रस्तावमा वामदेवले कति विश्वास गरेका होलान् रु समयले देखाउँदै जाला ।

नियत भैँसेपाटी गठबन्धन तोड्ने

प्रधानमन्त्रीको गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सके भैँसेपाटी गठबन्धन फुटाउने, नसके उनीहरूको प्रस्ताव नै हल्का बनाउने हो । भैँसेपाटी गठबन्धनले अहिले नै ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

ओलीले माधवकुमार नेपालको अध्यक्ष कम प्रधानमन्त्री बढी बन्ने चाहना बुझेका छन् । त्यही भएर ओलीले उनको योजना नै बिथोल्ने गरी प्रस्ताव गरेको एक स्थायी कमिटी सदस्यको दाबी छ ।

बेमौसमी बाजा

अहिले विश्व कोरोना भाइरसको सन्त्रासमा छ । यसले विश्व नै लकडाउनमा छ । विश्व तत्काल लयमा फर्कने अवस्थामा छैन । नेपालमा तत्काल उपनिर्वाचन गरेर गौतमलाई सांसद बनाउने अवस्था पनि छैन ।

अझ प्रधानमन्त्रीले कोरोना भाइरस सकिएपछि प्रधानमन्त्री बनाउने भनेका छन् । यस कारण गौतमको प्रधानमन्त्री हुने चाहना र ओलीको प्रस्ताव एकादेशको कथा नभए पनि कम्तिमा पनि तत्काल सम्भव छैन ।

त्यसो भए ओलीले गौतमको खिल्ली उडाउन र नेपालको सेखी झार्न प्रधानमन्त्रीको ‘पासा’ फ्याँकेका हुन् रु

नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘ओली साउथ इण्डियन फिल्मी शैलीमा अगाडि हेरेर पछाडिको मान्छेलाई गोलीले ढाल्ने मान्छे हुन्,’ उनी थप्छन्, ‘यस पटक माधव नेपाल अगाडि छन्, वामदेव गौतम पछाडि । तर, निशाना पछाडि नै लाग्नेवाला छ ।’ शिलापत्र बाट