Bagmati Samachar Logo

चीनबाट मेडिकल सामग्री ल्याउन सेनाले गर्‍यो सवा २ अर्बमा सम्झौता

काठमाडौं । ९ वैशाख । नेपाली सेनाले चीनबाट सवा २ अर्ब रुपैयाँ बढी एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलर)मा मेडिकल सामग्री ल्याउन सम्झौता गरेको छ।
सेनाले जि टु जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने मंगलबार सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भिडिओ कन्फरेन्समार्फत् जानकारी दिए।

स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको थियो।

सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।
३ सय ४२ टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ।

चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ।
यसअघि स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ।

वैशाख ५ गते गरिएको सम्झौताअनुसार दुई साताभित्र ती सामग्री आइपुग्ने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले जानकारी दिए।

कतिपय स्वास्थ्य सामग्री आइसकेको पनि डोटेलले बताए। उनले जि(टु(जीमार्फत् नेपाली सेनाले ल्याउन सक्ने स्वास्थ्य सामग्री र आवश्यकताको आधारमा सम्झौता गरिएको जानकारी दिए।
आफूसँग भएका सामग्री दिइसकेको र दिन बाँकी क्रमशः ल्याउँदै जाने र सम्झौताअनुसार दिँदै जाने ओम सर्जिकलका कार्यकारी निर्देशक दलबहादुर भण्डारीले सेतोपाटीलाई बताए।
ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ।