Bagmati Samachar Logo

लकडाउनको प्रभावमा दूध किसान

हेटौडा । १४ चैत । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागि सरकारले गरेको लकडाउनुका कारण मकवानपुरका दुग्ध उत्पादक किसान मारमा परेका छन् । दूध उत्पादन गर्ने किसानहरू बिहीबारबाट लकडाउनका कारण दूध बजारमा बेच्न नपाएर मारमा परेका हुन् ।

मकवानपुर जिल्लामा दैनिक ६५ हजार दूध उत्पादन र भण्डारण हुन्छ । यहाँ ३४ वटा स्थानमा दुग्ध चिस्यान केन्द्रहरू रहेका छन् । तर बिहीबारबाट भने सबै केन्द्रहरु सुनासान हुन थालेको दुग्ध शहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणी दाहालले बताए ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न भनेर विश्वका अधिकांश देश लकडाउन गरिएका छन् । नेपालमा पनि ११ गतेबाट लकडाउन सुरु भएको छ । दाहालका अनुसार हिजोसम्म दुग्ध व्यवसायीले दूध बजारमा बेच्न पाए पनि आजबाट भने पाएका छैनन् । लकडाउनका कारण दुग्ध व्यवसाय आवत जावत गर्न समस्या छ भने मजदुरको स्वास्थ्यको जिम्मेवारी कसले लिने भन्ने समस्या छ र बजार पनि बन्द भएकाले दूध बिक्न छोडेको दाहाल बताउँछन् ।

मकवानपुरमा दुग्ध किसान सबैभन्दा बढी मारमा परेका छन् । केहि किसानले व्यावसायिक रूपमा दुग्ध उत्पादन गदै आएका छन् । एउटै किसानले ३ सय लिटर जति दूध उत्पादन गर्ने गरेका छन् । उनीहरूको दूध बजारमा बिक्री पनि हुँदैन र पुगाउन पनि समस्या भएकाले दूध खेर जान थालेको दुग्ध शहकारी संघका अध्यक्ष वासुदेव अधिकारीले बताए ।

अधिकारी आफैँले पनि दैनिक १ सय लिटर दूध उत्पान गर्छन् । उनले १० वटा गाई पालन गरेका छन् । आजबाट बजार ठप्प भएकाले दूध बिक्री नभएको अधिकारीले बताए ।

दैनिक दूध लिन घर आउने व्यवसायी पनि उद्योगधन्दा बन्द हुँदा आजबाट लिन आएका छैनन् । व्यवसायीको व्यवसाय बन्द भएपछि दूध घरमा नै खेर जान थालेको अधिकारीले बताए ।

किसान यसरी मर्कामा पर्न थालेपछि बुधबारबाट सरकारको स्वामित्मा रहेको डिडिसीले दैनिक ५ हजार लिटर किन्ने सम्झौता गरेको दाहालले बताए । उनले भने ‘डिडिसीले भोलि १४ गतेबाट दैनिक ५ हजार लिटर दूध किन्ने सम्झौता गरेको छ । यसमा पनि सबैको पालो पुगाएर किसानहरूले दूध बेच्न पाउने व्यवस्था गरेका छौँ ।’

योभन्दा पहिला मकवानपुरको दूध काठमाडौं र पोखार पनि पठाउने गरेका थिए । तर, लकडाउन भएपछि कुनै पनि दुग्ध उद्योग संचालनमा आएका छैनन् । उद्योगधन्दा बन्द भएपछि त्यसको मार किसानमा परेको अधिकारीले बताए ।

मकवानपुरगढी गाउँपालिका ३ का प्रेमप्रसाद दाहालले दैनिक १ सय लिटर दूध बारीमा पोख्ने गरेको बताए । उनले भने ‘१८ वटा गाई पालेको छु । दैनिक अहिले १ सय लिटर दूध उत्पान हुन्छ । यसको बिक्री वितरण नहुँदा बारीमा पोख्ने गरेको छु ।’

किसानसँग पनिर बनाउने मसिन नहुँदा पनि दूध खेर जान थालेको छ । पनिर बनाएर राखे पनि बजार अभावका कारण खेर नै जाने दाहाल बताउछन् । उनले भने ‘आफूसँग पनिर बनाउने मसिन पनि छैन । बनाए पनि पनिर बिक्री वितरण हुने अवस्था छैन । बनाएर पनि के गर्नु र ? किसान त अब यस्तै भए मारमा पर्ने भए ।’

मववानपुरमा दुग्ध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ किसान जोडिएका छन् । लकडाउनको कारण सबैको जीवन प्रभावित हुने अध्यक्ष अधिकारी बताउछन् ।

मकवानपुरबाट दैनिक काठमाडौं २० हजार लिटर दूध सप्लाइ हुँदै आएको थियो भने पोखरामा १५ हजार लिटर दूध सप्लाइ हुँदै आएको थियो । सबै बजार बन्द हुदा यहाँका किसान दूध दुएर बारीमा पोख्न बाध्य भएको व्यवस्थापक दाहालले बताए । यो जिल्लामा दैनिक ६५ हजार लिटर दुध भण्डारण हुँदै आएको थियो ।