Bagmati Samachar Logo

कोरोना भाइरस महामारी र १० वर्षअघि बनेको चलचित्र कन्टेजनबीच भेटियो समानता

कोरोना भाइरस महामारी र १० वर्षअघि बनेको चलचित्र कन्टेजनबीच भेटियो समानता

३० फागुन । काठमाडौं । सन् २०११ मा सार्वजनिक भएको अङ्ग्रेजी चलचित्र कन्टेजनमा म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो, केट विन्स्लेट र माइकल डग्लसजस्ता ख्यातिप्राप्त कलाकारले अभिनय गरेको भए पनि त्यो वर्ष उक्त चलचित्र कमाइका हिसाबले विश्वभरि ६१औँ स्थानमा थियो । त्यसैले कन्टेजन लाई सफल चलचित्र भन्न सकिने आधार न्यून छ ।

तर केही समययता गुगलमा उक्त चलचित्रको नाम खोज्ने क्रम बढेको छ । कन्टेजन अमेरिकाको एपल आईट्यून स्टोरमा आश्चर्यजनक रूपमा चर्चित हुँदै गएको छ ।

कोन्टेजन निर्माण गर्ने कम्पनी वार्नर ब्रदर्स फिल्म स्टूडिओका अनुसार गत डिसेम्बरमा उसको सूचीमा उक्त चलचित्र २७० औँ स्थानमा थियो ।

त्यति बेला भर्खरै चीनबाट कोभिड १९ को सङ्क्रमणको खबर आउन थालेको थियो ।

तीन महिनापछि कोन्टेजनको स्थानमा उल्लेख्य सुधार भएको छ । उक्त चलचित्र लोकप्रिय चलचित्र ह्यारी पोटरका आठ भागपछाडिको स्थानमा उक्लिन सफल भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको महामारी विश्वव्यापी हुनु र उक्त चलचित्रको कथाबीच समानता भएका कारणले त्यसो भएको हो ।

के छ कथामा ?

म्याट डेमन र ग्वेइनेथ प्याल्ट्रो
चलचित्रमा एक व्यवसायीको भूमिकामा रहेकी महिलाको (प्यालट्रोले अभिनय गरेकी छन्) रहस्यमय तथा घातक भाइरसका कारण मृत्यु हुन्छ ।

चीन गएका बेला उक्त भाइरसबाट उनी सङ्क्रमित भएको चलचित्रमा देखाइएको छ । पछिल्लो समयमा कोन्टेजन प्रख्यात हुँदै जानुको कारण चीनसँग सम्बन्धित विषय वस्तु भएकाले पनि हो ।

कोरोनाभाइरस पहिलो पटक चीनमा देखा परेको थियो ।

गत फेब्रुअरी २६ तारिखमा प्यालट्रोले फेस मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि उक्त चलचित्रप्रति धेरैको चासो बढेको थियो ।

के छ समानता ?

कोन्टेजनमा वास्तविक अवस्थासँग मिल्ने कैयौँ समानता छन् ।

प्याल्ट्रोले अभिनय गरेको चरित्रकी महिला एमईभी १ नाम दिइएको भाइरसबाट सङ्क्रमित हुन्छिन् ।

वध गरिएको एउटा सुँगुर चलाएका हङ्‌कङका पाक्‌शास्त्रीसँग हात मिलाएपछि उनलाई उक्त सङ्क्रमण भएको उक्त चलचित्रमा देखाइएको छ । सुँगुरमा भने चमेराबाट भाइरस सरेको देखाइएको छ ।

घर फर्किएपछि उनी बिरामी पर्छिन् र अन्ततः उनको मृत्यु हुन्छ । उनका छोराको पनि त्यसको केही समयमा मृत्यु हुन्छ ।

तर डेमनले अभिनय गरकेो पतिको भूमिकामा रहेको पात्र भने स्वस्थ रहन्छन् ।

अहिले विश्वव्यापी महामारी घोषित भएको कोभिड १९ चीनको वुहान सहरमा गत डिसेम्बर महिनादेखि फैलिन सुरु थियो ।

विज्ञहरूका अनुसार वन्यजीवबाट कोरोना भाइरस मानिसमा सरेको थियो ।

कसरी देखिन पुग्यो समानता ?

कोन्टेजनको पुनरागमनले यसका लेखक स्कट बर्न्सलाई चकित भएका छन् ।

तर फोर्ट्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आधुनिक समाज यस प्रकारका प्रकोप हुँदा कमजोर भएको देखाउन चाहेको बताएका थिए ।

कोरोना भाइरसबारे यी दाबी जुन तपाईँले बेवास्ता गर्नुपर्छ
झुट्टो दाबी गरिएको भन्दै मास्कका दुई विज्ञापनमा प्रतिबन्ध
कोन्टेजन र कोरोनाभाइरसबीचको समानता अप्रासङ्गिक र संयोगवश भएको हो । अनि यो त्यति महत्त्वपूर्ण पनि छैन, बर्न्सले भने । महत्त्वपूर्ण र सही कुरा सामाजिक प्रतिक्रिया, डर फैलिनु र त्यसको बृहत्तर प्रभाव हो ।

उनले त्यसो भनेर कोन्टेजनका एक पात्रतर्फ सङ्केत गरेका हुन् ।

कोन्टेजनको कथा स्कट बर्न्सले लेखेका हुन् ।
ज्यूड लले निर्वाह गरेको भूमिकामा रहेका एक ब्लगरले उक्त चलचित्रमा भाइरसबारे स्थापित भइनसकेका हल्ला चलाउने र त्यसबाट निको हुने भन्दै गलत उपचारविधि प्रवर्धन गरेका छन् ।

विश्वसनीय बनाउन के गरियो ?

बर्न्स यसलाई वैज्ञानिक दृष्टिबाट विश्वासनीय बनाउन कसरी प्रतिबद्ध थिए भन्ने कुराले पनि कोन्टजेनको लोकप्रियतालाई व्याख्या गर्छ ।

उनले कथा लेख्नुअघि भाइरसविज्ञ तथा सरुवारोग विशेषज्ञहरूसँग छलफल गरेका थिए । उनले विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरूसँग पनि परामर्श गरेका थिए ।