Swornakshar Logo

कोरोना भाइरसले ९३ हजार संक्रमित, ५० हजार निको भए

२१ फागुन । काठमाडौं । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण यतिबेला ८० देशमा फैलिएको छ ।

चीनमा यो संक्रमणको दर घढ्दै गए पनि अन्य देशमा संक्रमण दर ९ गुणाले बढेको छ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९३ हजार १ सय ८८ पुगेको छ भने ३ हजार २ सय ३ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने र मृत्यु हुने अधिकांश चिनियाँ नागरिक छन् । चीनमा मात्र ८० हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ भने २ हजार ८ सय ७१ जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

संक्रमित र मृतकको संख्या बढ्दै जाँदा कोरोना भाइरसको त्रास पनि फैलँदो छ । संक्रमित भएका देशहरूमा संक्रमण फैलिन नदिन र संक्रमण नभएका देशमा संक्रमणबाट जोगिन अनेक उपायहरु अपनाउन थालिएको छ । धेरैलाई कोरोना भाइरस लागेपछि मृत्यु हुन्छ भन्ने त्रासले सताएको पाइन्छ ।

तर, कोरोना भाइरस लाग्नेबित्तिकै मृत्यु हुने होइन । कोरोना भाइरस संक्रमण भएकामध्ये १ हजार जनामा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ । अझ प्रष्ट भन्ने हो भने १ हजार जनामा संक्रमण भयो भने ९ जना अर्थात् १ प्रतिशतको मृत्यु हुने अनुमान सबैभन्दा उपयुक्त हो ।

कोरोना भाइरस लागेका ९३ हजारमध्ये ५० हजार ६ सय ९० जना उपचारपछि निको भइसकेका छन् । यो कोरोना भाइरस संक्रमितमध्ये करिब ५० प्रतिशत हो । वर्ल्डमिटरका अनुसार कोरोना भाइरस संक्रमित ३९ हजारको हाराहारीमा छन् । तीमध्ये ३२ हजारको अवस्था मध्यम छ भने ६ हजार ७ सयको अवस्था जटिल छ ।

कोरोना भाइरस संक्रमण भएपछि उनीहरूमाथि उपचारमा गरिने विभेद सबैभन्दा खतरनाक देखिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संक्रमितमाथि विभेदको व्यवहार नगर्न आग्रह गरेको छ ।

रोग आफैँभन्दा पनि बिरामीलाई लाग्ने लाञ्छना र उनीहरूसँग गरिने व्यवहार धेरै डरलाग्दो भएको डब्लुएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले टिप्पणी गरेका छन् ।

उनले भने, ‘इमानदारीपूर्वक भन्दा बिरामीलाई लाग्ने लाञ्छना भाइरसभन्दा खतरनाक छ । त्यसलाई वास्तवमै ध्यान दिऔँ । लाञ्छना सबैभन्दा खतरनाक शत्रु हो ।’

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको ‘सबैभन्दा उत्तम आँकलन’मा मृत्युदर २ प्रतिशत वा त्योभन्दा कम देखिएको छ । यद्यपि, कोरोना भाइरसको मृत्युदर विभिन्न कुरामा निर्भर गर्छ ।

बिरामीको उमेर, लिंग र सामान्य स्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा पनि यो मृत्युदर निर्भर रहन्छ । भाइरस संक्रमणका अधिकांश घटनाहरू गणनामा आउँदैन । किनकि मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सककहाँ जाँदैनन् ।

विश्वभर भिन्न स्थानमा कोरोना भाइरसबाट हुने मृत्युदरमा फरक देखिएको छ । चीनमा यो संख्या कम देखिएको छ तर इरानमा मृत्युदर त्योभन्दा बढी छ । संक्रमण पत्ता लगाउने र गणना गर्ने क्षमतामा एकरूपता नहुँदा भिन्न देखिएको लण्डनस्थित लन्डनस्थित इम्पेरियल कलेजको अनुसन्धानले देखाएको छ । कुनै पनि संक्रमण देखिएपछि त्यो निको हुन वा त्यसका कारण मृत्यु हुन समय लाग्ने गर्छ ।

त्यस कारण संक्रमणको चरण पार नगरेका सबैलाई गणना गर्दा मृत्युदर आँकलन कम हुन्छ र अन्ततः मृत्यु हुने बिरामी घट्न सक्छन् ।

कोरोना भाइरस संक्रमण हुँदा वृद्ध, अस्वस्थ र पुरुषको मृत्यु हुने सम्भावना अधिक हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसको पनि कोरोना भाइरस संक्रमण भएको खण्डमा मृत्यु हुने सम्भावना ५ गुणा बढी पाइएको थियो ।

चीनका ४४ हजारभन्दा बढी संक्रमणको विश्लेषणसहित गरिएको पहिलो अनुसन्धानमा अधबैँसे उमेरका मानिसको तुलनामा वृद्ध मानिसको मृत्युदर १० गुणा बढी भएको पाइएको थियो ।

३० वर्षभन्दा कम उमेर समूहमा मृत्युदर एकदमै कम पाइएको थियो । यस उमेर समूहमा ४ हजार ५ सय संक्रमितमध्ये ८ जनाको मात्र मृत्यु भएको थियो । महिलाको तुलनामा पुरुषको मृत्युदर केही बढी देखिएको छ ।