Swornakshar Logo

मलाई जेल राखिनुको उद्देश्य अर्कै थियोः महरा

७ फागुन । काठमाडौं । जबर्जस्ती करणी आरोपबाट सफाइ पाएपछि जेलमुक्त भएका पूर्वसभामुख कृष्णबहादुर महराले एक टेलिभिजनसँग अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको क्रममा उनले भनेका छन् मैले एमसीसी टेबुल गर्न नदिएकै हो । अनुमोदन गर्न नदिने मेरो उद्देश्य थिएन । तर, थप छलफल आवश्यक देखेर टेबुल गर्न दिइनँ ।

पूर्वसभामुख महराले आफूमाथि षडयन्त्र भएको भन्दै दाबी गरेका छन् । उनले भनेका छन् मलाई जुन उद्देश्यले जेल राखियो, त्यो अर्कै उद्देश्य थियो । के थियो म पछि भनौँला । आन्तरिक र बाह्य कारण छ ।

महराले अन्तर्वार्ताको क्रममा एउटा कथा पनि सुनाए । कथामा एउटा काग, एउटा बाज र एक टुक्रा हड्डी हुन्छ । कागले हड्डी च्यापेको देखेपछि बाजले कागमाथि हमला गर्छ । बाजले ठुङ्न नछाडेपछि कागले हड्डी छाड्छ । अब बाजले कागमाथिको हमला बन्द गर्छ र हड्डीतिर केन्द्रित हुन्छ ।

कागले पछि महसुस गर्छ कि उसले हड्डी समात्नु नै उसको गल्ती थियो । मैले कसैको हड्डी समातेको छैन । कसैले हड्डी समातेको जस्तो देख्यो जस्तो लाग्यो । कसले देख्यो, त्यस्तो म विस्तारै भन्छु, महराले भने ।

आफूमाथि षडयन्त्र भएको दाबी गर्दै आएका महराले किन र कसले त्यस्तो षडयन्त्र गर्‍यो स्पष्ट रूपमा भन्न चाहिरहेका छैनन् ।
उद्यपि, उनले कथामा भनेको हड्डीको विम्बात्मक संकेत अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट हो भनेर अन्दाज लाउनचाहिँ सकिन्छ । किनकि, महराले आफूले एमसीसी टेबुल गर्न रोकेको र यो पनि एउटा कारण रहेको बताएका छन् । अनि आफू जेल जानुमा आन्तरिक र बाह्य कारण रहेको पनि उनले दाबी गरेका छन् ।

एमसीसी टेबुल गर्न मैले नदिएकै हो, महराले भने, म राष्ट्रिय स्वाधीनताको लडाइँमा नझुकीकन लड्न चाहन्छु ।

महराले रिहा भएलगत्तै एउटा विज्ञप्ति निकालेर तथाकथित आरोप खेपेको बताएका थिए । विज्ञप्तिमा भनिएको छ, मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहनेछु ।

राजनीतिक विश्लेषक आनन्दराम पौडेलका अनुसार महराले एमसीसी टेबुल गर्न आफैँले नदिएको भन्दै राष्ट्रिय स्वाधीनता, स्वतन्त्रताको कुराबाट संकेत गर्न खोजेको कुरा स्पष्ट भएको बताउँछन्, । पौडेलका अनुसार एमसीसी टेबुल गर्न नदिएकैले महरा तीन महिनासम्म थुनिए । यसमा प्रधानमन्त्रीसहित पूर्वएमालेको हात रहेको विश्लेषक पौडेलको बुझाइ छ ।

महरा सर, रोशनीलाई मोहरा बनाउने को थियो ?
महरालाई सफाइ दिलाउन सहयोग गरेका वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ पनि महरामाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्छन् । उहाँले संकेत गर्न खोजेको कुरा पनि यही नै हो । मैले त बहसमा पनि भनेको छु । देशभित्रबाट मात्रै होइन, विदेशीको षडयन्त्रमा उहाँलाई फसाइएको थियो ।’

महरासँग लामो समय काम गरेका वाम विश्लेषक डा. ऋषिराज बराल भने एमसीसी टेबुल गर्न नदिएकै कारण महरा जेल जानु परेको तर्कसँग सहमत छैनन् । महराले भने जस्तो एमसीसी टेबुल गर्न नदिएकै कारणले उहाँलाई फसाएको भन्नेचाहिँ पूर्ण सत्य होइन । उहाँको गल्तीलाई आधार बनाएर उहाँलाई प्रहार गर्ने मौका विरोधीहरूले पाएका हुन् डा. बराल प्रश्न गर्छन्, उहाँले गल्ती नगरेको भए कसले फसाउँथ्यो ?

महिलासँग जोडिएको मामिला महराको सबैभन्दा ठूलो कमजोरी रहेको बरालको भनाइ छ । महरा सञ्चारमन्त्री भएका बेला पनि यस्ता मुद्दा आएको उनले स्मरण गरे । उहाँ उति बेलैदेखि जोगिँदै आउनुभयो र यसपटक जोगिनुभएको भए कुनै न कुनै यस्तै मामिलामा पर्नुहुन्थ्यो’, बराल भन्छन् ।

महरा सञ्चारमन्त्री हुँदा डा. बराल उनका नजिकका सहयोगी थिए ।

महराले भने आफूमाथि सुनियोजित षडयन्त्र भएको बताउँदै विम्बात्मक कुरा मात्रै गरिरहेका छन् । मैले चार महिना अन्यायपूर्ण जीवन बिताएँ,’ उनले भनेका छन्, यो अवधिमा मैले जेल बुझेँ, राज्यका अंगहरूमध्ये प्रहरी संगठन बुझेँ, न्यायालय बुझेँ । मलाई कसले किन फसायो भन्ने कुरा खोल्दै जानेछु ।’

महरा भन्छन्, कारागारमा रहेका ५० प्रतिशत कैदी निर्दोष छन्ु
महराले षडयन्त्र के हो र डिजाइनर को हो भन्ने कुरा पछि खोल्छु’ भन्नुलाई पोलिटिकल वार्न’ को रूपमा बुझ्न सकिने राजनीतिक विश्लेषकहरू बताउँछन् । अब पार्टीमा उनलाई कस्तो व्यवहार गरिन्छ, कस्तो भूमिका दिइन्छ भन्ने कुराले महराको मुख खोल्ने वा बन्द गर्ने कुरा तय गर्छ’, विश्लेषकहरू भन्छन् ।

महराले सफाइ पाए पनि नेकपाका नेताहरूले यसबारे सार्वजनिक रूपमा केही बोलेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली महराप्रति सकारात्मक नरहेको बताइन्छ । महरा थुनामा रहेका बेला प्रधानमन्त्री ओलीले भनेका थिए, महराले एमसीसी टेबुल गर्न नदिएर गल्ती गरे ।

जबर्जस्ती करणी आरोपमा चार महिना जेल बसेर सफाइ पाए पनि महराको राजनीतिक र सामाजिक जीवनमा ठूलो धक्का लागेको उनका पूर्वसहकर्मीहरूको बुझाइ छ । यस्तोमा महरालाई पार्टी र जनतालाई विश्वासमा लिएर आगामी दिनमा काम गर्नुपर्ने अवस्था छ । त्यसैले पनि उनले सम्हालिएर बोल्नुपर्ने स्थिति रहेको उनका सहयोगीहरू बताउँछन् ।