Swornakshar Logo

मूल मुद्दा स्थापित, पार्टी विस्थापितः १० वर्षे सशस्त्र विद्रोह

१ फागुन । काठमाडौं । सशस्त्र विद्रोह सुरु हुँदा माओवादीले १ फागुन २०५२ मा देशका ४ स्थानमा हमला गरेको थियो । हमला भएका स्थानहरू थिए– गोरखाको च्याङलिङटारमा रहेको कृषि विकास बैंक, सिन्धुलीको सिन्धुलीगढी, रुकुमको रुकुमकोट र रोल्पाको होलेरी ।

‘राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ’ भन्दै सशस्त्र विद्रोह सुरु गरेको माओवादी १० वर्ष उसका शब्दमा ‘जनविद्रोह’मा होमियो । सार्वजनिक आँकडामा करिब १७ हजार नेपालीले उक्त द्वन्द्वमा ज्यान गुमाए ।

माओवादीले सुरु गरेको विद्रोहले देशमा राजनीतिक चेतना फैलायो । सबैलाई हकअधिकारप्रति सचेत गरायो । माओवादीले यो १० वर्षमा आफ्नो राजनीतिक–सामाजिक मुद्दा स्थापित पनि गर्‍यो तर उक्त पार्टी आफैँ भने विस्थापित हुन पुग्यो ।

मूल मुद्दा स्थापित, पार्टी विस्थापित

१ फागुन २०५२ मा राज्यसत्तासँग माओवादीले सशस्त्र विद्रोह सुरु गर्‍यो । राजनीतिक रूपमा ३० वर्षे पञ्चायती व्यवस्था ढलेर भर्खर बहुदल आएको थियो । बहुदल आएको छोटो समयमा नै राजनीतिक नेतृत्वका कारण राजनीतिक प्रणालीप्रति वितृष्णा जाग्न थालेको थियो जनतामा ।

संसदमा सांसद किनबेचदेखि प्राडो–पजेरो र सुरासुन्दरी काण्ड भएका थिए । त्यही राजनीति वितृष्णाको फाइदा माओवादीले उठायो ।

तर, माओवादीले बहुदल आउनेवित्तिकै मात्र राजनीतिक प्रहार गरेको भने होइन । माओवादी बन्नुभन्दा पहिला यो पार्टी चौथो महाधिवेशनका नामले चिनिन्थ्यो ।

२० मंसिर २०२८ मा बनेको न्युक्लियस २०३१ सालमा चौथो महाधिवेशन गरेर नयाँ पार्टी बन्यो, जुन पार्टीलाई चौथो महाधिवेशन भनिन्थ्यो ।

चौथो महाविधेशन हुँदै मशाल बन्यो । मसालमा विभाजन आएपछि एकता केन्द्र बन्यो । एकता केन्द्र विभाजन भएपछि बन्यो, नेकपा माओवादी ।

माओवादीले विद्रोह सुरु गर्दा नेपालमा कम्युनिस्टहरू संसदको प्रतिपक्षमा पनि पुगेका थिए । बहुदलपछिको पहिलो संसदमा राष्ट्रिय जनमोर्चा तेस्रो शक्ति बनेको थियो, जसका ९ जना सांसद थिए । तर, राष्ट्रिय जनमोर्चा पनि माओवादी हुँदै संसदबाट सडक हुँदै भूमिगत भयो र सशस्त्र विद्रोहमा सहभागी बन्यो ।

माओवादीले १० वर्षमा राजनीतिक र फौजी रूपमा राज्यमाथि हमला गर्‍यो । वार्ता र सशस्त्र विद्रोह हुँदै माओवादी १० वर्षपछि शान्ति प्रक्रियामा आयो । प्रचण्ड कहिलेकाहीँ भन्ने गर्छन्, ‘यदि हामी विद्रोहमा नै रहेका भए अहिलेसम्म सकिन्थ्यौँ ।’

यो बहसको विषय हो तर माओवादी आफू सकिने भन्दा पनि लामो समय टिक्न नसक्ने अवस्थामा रहेको अनुमान स्यम् माओवादीभित्रै गर्न थालेका थिए भन्ने कुरा प्रचण्डको उक्त भनाइबाट पुष्टि हुन्छ ।

तर, राजनीतिक रूपमा भने माओवादीले आफ्नो मुद्दा स्थापित गरेको छ । माओवादीले जुन कुरा बोकेर सशस्त्र विद्रोह सुरु गरेको थियो, ती मुद्दाहरूको नजिक भने देश पुगेको छ ।

माओवादीको संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने माग सरकारले नमान्दा वार्ता भङ्ग भए । तर, अहिले संविधानसभाबाट संविधान बनेको छ ।

बहुदलभन्दा १ इन्च दायाँबायाँ नहुने भन्ने राजनीतिक दलहरू गणतन्त्र स्वीकार्न बाध्य भए भने राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओवादी पनि निर्वाचनद्वारा सरकारमा जान तयार भयो । अन्ततः १२ बुँदे सम्झौता हुँदै शान्ति प्रक्रियाको सुरुवात भयो ।

माओवादीले १० वर्षमा उठाएका धेरै मुद्दाहरू अहिले स्थापित भएका छन् । सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेसिता, गणतन्त्र, संविधानसभाबाट संविधान आदि विषयहरू एक समयमा माओवादीका मात्र थिए । तर, अहिले यी मुद्दाहरू सबैका साझा भएका छन् ।

देश गणतन्त्रमा गएको छ । सङ्घीयतामा गएको छ । धर्मनिरपेक्ष, समावेशी र समानुपातिक निर्वाचन प्रणाली लागू भएको छ । जनताका छोराछोरी राष्ट्र प्रमुख भएका छन् । तर, कुनै समय यिनै विषय माओवादीले सरकारसँग माग गर्दा वार्ता नै भाँडिन्थे ।

सैन्य रूपमा हस्तक्षेप

माओवादी जनविद्रोहको सुरुवात नै सैन्य हमलाबाट भएको थियो । उसको फौजी रणनीतिअनुसार नै २ सय ४० वर्षे राजतन्त्रको अन्त्य हुने अवस्था आएको हो । लामो समयसम्म जमेर बसेको सामन्तवादको जरा माओवादीले गाउँगाउँबाट उखेलेको थियो । यो राजनीतिक रणनीतिमा फौजी कारबाहीले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

छापामार दस्ताबाट सुरु भएको माओवादी जनविद्रोह जनमुक्ति सेना निर्माणसम्म पुग्यो । यसका लाखौँ पूर्णकालीन सदस्य थिए । हजारौँ सेनामा भर्ती भएका थिए । यही सशस्त्र सेनाको बलमा माओवादीले देशका विभिन्न भागमा फौजी आक्रमण गरेको थियो । अछाम सदरमुकामदेखि जुम्ला सदरमुकामसम्म हमला गरेको थियो ।

म्याग्दीको बेनी होस् कि कालीकोटको पिली वा रुकुमको खारासम्म माओवादी सेनाले हमला गरे । कहीँ सफलता हात पारे भने कहीँ असफलता ।

माओवादी रणनीतिक रक्षादेखि सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको फौजी चरणसम्म पुगेको थियो ।

‘जनविद्रोहको बाटोमा अगाडि बढौँ’ भन्दै सुरु गरेको माओवादी विद्रोह ‘ढाडमा टेकेर टाउकोमा हान्ने अभियान’सम्म पुगेको थियो । माओवादीले राजनीतिक र सशस्त्र विद्रोहको माध्यमले देशका विभिन्न भागमा जनअदालत, जनसरकार सञ्चालन गरेको थियो । यस अवधिसम्म माओवादी जनविद्रोहले एउटा गति लिएको थियो ।

चुनवाङ बैठक, माओवादी बैठान

२०६२ असोज–कात्तिमामा रुकुमको चुनवाङमा भएको माओवादीको बैठकले नै माओवादी बैठानको पृष्ठभूमि तयार गरेको हो । त्यही चुनवाङ बैठकबाट माओवादीको कार्यनीति परिवर्तन गरिएको हो ।

तर, चुनवाङबाट माओवादीले वार्ताद्वारा गणतन्त्र, संविधानसभाको निर्वाचनमार्फत संविधान बन्छ भने शान्ति प्रक्रियामा जाने नभए नजाने भनेर नयाँ बाटो पहिल्याएको थियो ।

अहिले पनि माओवादीका विभिन्न हागाँबिगाबीच चुनवाङको चर्चा हुन्छ । केही माओवादी घटकले माओवादीले जनविद्रोह सुरु गर्दा गरेका प्रतिबद्धता त्यही चुनवाङ बैठकबाट छाडेको बताउँदै आएको छन् । कोही भने त्यही बैठकबाट माओवादी जनविद्रोहलाई सही तरिकाले व्यवस्थित गरेको बताउँछन् ।

पार्टी विस्थापित

माओवादीले राजनीतिक मुद्दा मात्र स्थापित गरेन, फौजी रूपमा पनि आफ्नो सशक्त उपस्थिति जनायो । तर, शान्ति प्रक्रियामा आएपछि माओवादी आन्तरिक विभाजनका कारण कमजोर हुँदै गयो ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले २ वटा रणनीति अपनायो । पहिलो, राजनीतिक रूपमा नेतृत्व हस्तक्षेपकारी भूमिका बढाउने । अर्कोतर्फ जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राखेर सैन्य रूपमा पनि राजनीतिक दलहरूमाथि दबाब दिन थाले । तर, यही रणनीति माओवादीका लागि घात बन्न थाल्यो ।

माओवादीले जनगणतन्त्र ल्याउने भनेर सुरु गरेको जनविद्रोह विस्तारै गणतन्त्र भए हुन्छ भन्नेतर्फ मोडिएपछि पार्टीभित्र नै असन्तुष्टिका स्वरहरू सुनिन थाले । त्यही असन्तुष्टि समयमा नै हल गर्न नसक्दा अन्ततः पार्टी विभाजन भयो ।

शान्ति प्रक्रियामा आएपछि पहिलो पटक माओवादीबाट बाहिरिए मातृकाप्रसाद यादव । यादव अन्तरिम सरकारमा वनमन्त्री बनेका थिए । तर, उनी २०६६ सालमा नेकपा माओवादीबाट बाहिरिए । उनी केन्द्रीय नेतृत्वमा एक्ला व्यक्ति थिए बाहिरिएका । उनले पछि केही माओवादीका युवाहरू जम्मा गरेर पार्टी खोले ।

माओवादी विभाजनको यात्रा मातृकाबाट सुरु भएको थियो । त्यसपछि व्यक्ति–व्यक्ति माओवादी पार्टीबाट बाहिर निस्कने क्रम जारी रह्यो ।

माओवादीमा ठूलो विभाजन भने ४ असार २०६९ मा सम्पन्न भेलाबाट भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि एकता केन्द्रसँग एकता गरेको थियो । एकता भएको छोटो समयमा नै माओवादीमा ठूलो विभाजन भयो । विभाजनको नेतृत्व मोहन वैद्य किरणले गरेका थिए ।

वैद्यले २०६९ सालमा पार्टी विभाजन गरेपछि माओवादी पार्टी औपचारिक रूपमा २ पार्टीमा विभाजन भयो । विभाजनपछि माओवादी कमजोर हुनु स्वाभाविक थियो । प्रचण्डले नेतृत्व गरेको माओवादी सत्तामा संलग्न भयो । वैद्यले नेतृत्व गरेको माओवादी भने संसदभन्दा पनि बाहिरी गतिविधिमा संलग्न भएन ।

पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले ६ सय १ सिटमा २ सय २९ सिट जितेको थियो । माओवादीको मुद्दाले स्थापित हुने मौका तब पाएको थियो । त्यही मुद्दालाई कार्यान्वयन गर्न माओवादी बहुमत नपाए पनि सबैभन्दा ठूलो दल भएको थियो र सरकार बनाएको थियो ।

तर, २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने माओवादी ३३ सिटमा खुम्चनुपर्‍यो । माओवादी विभाजन भने रोकिएन, झनै बढी रह्यो । वैद्यसँगै आएका रामबहादुर थापा र नेत्रविक्रम चन्द आसलाग्दा नेता थिए ।

वैद्यलाई पार्टी विभाजन गर्न सबैभन्दा बढी साथ दिएकामध्ये एक हुन् चन्द । चन्दले नै सबैभन्दा पहिला वैद्यलाई छाडे । वैद्यसँग विप्लवले २०७१ सालमा पार्टी विभाजन गरे । उनले कपिलवस्तुमा छुट्टै भेला गरेर पार्टी विभाजन गरे । उनी महासचिव बने । उनको पार्टी अहिले भूमिगत रहेको छ । उनको पार्टीमाथि गत २८ फागुनबाट सरकारले प्रतिबन्ध लगाएको छ ।

वैद्यले प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिए पनि केही उपलब्धि भएन । भनौँ, कुनै पनि स्थानमा विजय प्राप्त गर्न सकेन ।

वैद्य नेतृत्वको नेकपा माओवादी ९क्रान्तिकारी० सडक सङ्घर्षमा छ । उसले अहिलेको कुनै पनि प्रक्रियालाई स्वीकार गरेको छैन र सशस्त्र सङ्घर्षमा पनि गएको छैन ।

नेकपा माओवादी केन्द्र

१० वर्षे जनविद्रोहको नेतृत्व गरेका व्यक्ति पुष्पकमल दाहाल ९प्रचण्ड० हुन् । उनै प्रचण्ड अहिले नव संयोजित नेकपाका कार्यकारी अध्यक्ष छन् । तर, तत्कालीन एमालेसँग एकता गर्नु पहिला माओवादीका उनी एक्ला नेतृत्व थिए ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले एकता केन्द्रसँग एकता गरेको थियो । नेकपा माओवादी त्यसपछि एकीकृत माओवादी बनेको थियो, जुनबाट पछि विभाजन हुँदै विभिन्न पार्टी बनेका छन् ।

पछि एमाओवादी पार्टीमा रामबहादुर थापा बादल फर्केका थिए । ठूलो संख्या लिएर वैद्यलाई छाडेर पुनः प्रचण्डसँग एकता गरे बादलले । उक्त दिन मातृका यादव, जयपुरी घर्ती, मणि थापालगायतका १० वटा घटक एमाओवादीमा फर्केका थिए ।

३ जेठ २०७५ मा माओवादी केन्द्र र तत्कालीन एमालेबीच एकता भएर हाल नेकपा बनेको छ ।

नेकपा क्रान्तिकारी ९माओवादी०

मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी ९माओवादी० पार्टी अहिले सडक आन्दोलनमा छ । यसले पछिल्लो समयमा जनजीविका र राष्ट्रियताको विषयमा सडक आन्दोलन गरिरहेको छ । यस पार्टीले नेकपा एकीकृतसँग एकता गरेको छ ।

माओवादी जनविद्रोहको रापतापबाट आएको यो पार्टी अहिले भने आफ्नै अस्तित्व जोगाउने समस्यामा पनि रहेको छ । २ पार्टीबीच एकता भए पनि यो पार्टीको न त सडक सङ्घर्ष नै प्रभावकारी छ, न कुनै त्यस्तो आन्दोलनको थालनी गर्न सकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९विप्लव०

यो पार्टी अहिले सरकारबाट प्रतिबन्धित छ । गत वर्ष २८ फागुनबाट सरकारले प्रतिबन्ध लगाएपछि यसका सबै गतिविधिहरू भूमिगत रूपमा गर्दै आएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० हुन् । यस पार्टीले पछिल्लो समय सशस्त्र सङ्घर्षद्वारा राज्यसत्ता कब्जा गर्ने भन्दै भूमिगत रूपमा आफ्ना गतिविधि गरिरहेको छ । यसका धेरै नेताहरू अहिले पनि जेलमा छन् । धेरै नेताहरूले पार्टी छाडेर सत्तारुढ दलमा प्रवेश गरिरहेका छन् ।

यो पार्टी भने एकीकृत जनक्रान्ति गर्ने भन्दै देशव्यापी रूपमा भूमिगत गतिविधिमा सक्रिय रहेको छ । सुरक्षा निकाय यस पार्टीका नेता, कार्यकर्ताहरूलाई खोज्दै पक्रने अभियानमा लागेको छ ।

नेकपा माओवादी केन्द्र

गोपाल किरातीले नेतृत्व गरेको यो पार्टी पनि अहिले आफ्ना गतिविधिहरू गरिरहेको छ । प्रचण्डनिकट मानिएका किरातीले प्रचण्ड छाडेर पुरानै नेकपा माओवादी केन्द्र नाम राखेर पार्टी बनाएका छन् ।

उनले अहिले नै कुनै सशस्त्र विद्रोहको तयारी गरेका छैनन्, न त निर्वाचन प्रक्रियामा नै समावेश भएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल

माओवादी जनविद्रोहका एक जना नेतृत्वकर्ता हुन्, डा। बाबुराम भट्राई । तिनै बाबुराम भट्टराईले आफूले नै माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरण गराएको बताउँदै आएका छन् ।

संविधानसभाबाट संविधान घोषणा भएको ६ दिनपछि नै बाबुरामले माओवादी पार्टी छाडे । संविधानसभाबाट संविधान जारी गर्न, गणतन्त्र ल्याउन जनविद्रोह लडेका बाबुराम ९ असोज २०७२ मा आफ्नो मूल पार्टी छाडेर बाहिरिए । माओवादी आन्दोलनसँग र त्यस पार्टीसँग उनको ३० वर्षे सम्बन्ध छाडेर एक्लै बाहिरिए ।

विस्तारै उनको गुटका माओवादीहरूले पनि एक्लै र सामूहिक रूपमा मूल पार्टी छाडे । आफ्नो गुटका मानिसहरूले माओवादी छाडिसकेपछि नयाँ शक्ति पार्टी नेपाल बनाए ।

उनका धेरै नेता, कार्यकर्ता नयाँ शक्ति पार्टी नेपाल छाडेर पुनः माओवादीमा फर्किेए । उनले भने केही मानिसलाई लिएर मधेसकेन्द्रित पार्टी सङ्घीय समाजवादी फोरमसँग एकता गरे ।

ठूलै पार्टी बनाउने योजनासहित माओवादी पार्टी छाडेका भट्टराई अन्ततः उपेन्द्र यादवसँग एकता गरेर बसे । हाल माओवादी पार्टीबाट छुट्टिएर बनेका आधा दर्जनभन्दा बढी पार्टी नेपाली राजनीतिमा सक्रिय छन् ।