Swornakshar Logo

मकवानपुरको मनहरी देशमै पहिलो बालमैत्री गाउँपालिका घोषित

२८ पुस । हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको घोषणा भएको छ । सोमबार मनहरी गाउँपालिकालाई देशमै पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।

सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले घोषणा पत्र पढेर देशभरका ४ सय ६० गाउँपालिका मध्ये मनहरीलाई पहिलो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् । उनले यो अभियानलाई निरन्तरता दिनुपर्ने बताए । डेढ बर्षअघिबाट सुरु भएको यो अभियानले आज सोमबार सार्थकता पाएको छ । मनहरी गाउँपालिकामा बालमैत्री घोषणाका लागि आधारभूत रुपमा बालश्रम र बाल विवाहका घटनालाई कडाईका साथ निस्तेज पारिएको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले अरु गाउँपालिकाले पनि वागमती प्रदेशको मनहरी गाउँपालिकाको जस्तै पाठ सिक्न जरुरी रहेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले मनहरीले सुरु गरेको अभियान देशको सबै स्थानीय तहले पनि सुरु गर्नुपर्ने बताए । उनले देशको ४ सय ६० गाउँपालिकामध्ये प्रथम भएकोमा मनहरी गाउँपालिकालाई बधाई समेत ब्यक्त गरे ।

सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले बाल बचाउ, बाल विकास र बाल सहभागिताको क्षेत्रमा देशका ३ तहकै सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार र सडकको मात्रै विकास ठान्ने परिपाटीलाई अन्त्य गर्नुपर्ने बताएका छन् । मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास देखिने खालको मात्रै नभएको स्पष्ट पारे ।

उनले मनहरी गाउँपालिकाको बालमैत्री घोषणासभा नै बालमैत्री नभएको भन्दै आलोचना गरेका छन् । ‘मेरो आलोचना गर्ने बानी छ । आज घोषणा हुँदैछ तर, घोषणासभा नै बालमैत्री छैन ।–’ पौडेलले भने । उनले घोषणासभाको मञ्च नै हात्ति जत्रो भएको भन्दै कार्यक्रमको व्यवस्थापन पक्षको आलोचना गरेका हुन् । ‘मञ्च बालमैत्री छैन, हात्ति जत्रो मञ्च छ । माइक राख्ने ठाउँ ठूलो छ, बालबालिकाको लागि छैन । यत्रो मञ्चमा कसरी चढ्छन बलबालिका, कसरी आउँछन् मञ्चमा ? बालमैत्री भएन् ।–’ मुख्यमन्त्री पौडेलले भने ।

उनले बालबालिका र वृद्धवृद्धाको क्षेत्रमा विकास गर्न सके विकासको लक्ष्य हासिल नजिक पुग्न सकिने बताएका छन् । बालबालिका र वृद्धवृद्धाको हितमा काम गर्न नसक्नेले विकासका ठूलाठूला कुरा गर्न नहुने पौडेलले धारणा राखे ।

बालमैत्री घोषणाका लागि गाउँपालिकाले योजना तर्जुमा गर्ने, तालिम, गोष्ठी, अन्तरक्रियाहरु सञ्चालन गर्ने, बाल विवाहहरु रोक्ने, बाल श्रम न्यूनिकरण गर्ने कामलाई निरन्तरता दिएको थियो । भौतिक पूर्वाधारहरुको निर्माण र पुननिर्माण बालमैत्री ढंगले गरिएको छ । ३२ वटा सामुदायिक विद्यालय र ८ वटा निजी विद्यालयलाई नै बालमैत्री सूचकहरु चुस्त दुरुस्त राखिएको छ ।

बालमैत्री घोषणाका लागि बाल अधिकार समिति, गाउँ बाल सञ्जाल, बालमैत्री स्वयम्सवकहरु, बालमैत्री शासन समितिलाई सक्रिय बनाइएको थियो ।गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले ३९ वटै सूचकमध्ये बाल विवाहको न्यूनिकरण र बाल श्रम न्यूनिकरणका लागि गाउँपालिकाले निकै मिहेनत गर्नुपरेको बताइन् । उनका अनुसार अभियानको क्रममा ११ जोडीको बालविवाह बदर गरिएको छ ।

पछिल्लो तथ्यांक अनुसार मनहरी गाउँपालिकामा ८ हजार ६ सय ५५ घरधुरीको कुल ४६ हजार ८५३ जना जनसंख्या रहेको छ । तीमध्ये ८ हजार १ सय १६ जना बालक र ७ हजार ६ सय २३ जना बालिका रहेका छन् ।कूल ८ हजार ६ सय ५५ घरधुुरीमध्ये स्वच्छ पिउने पानी व्यवस्था सबैमा रहेको गाउँपालिकाले जनाएको छ । साबुन पानीले हात धुने व्यवस्था ८ हजार १ सय २६ घरधुरीमा रहेको सर्वेक्षणले देखाएको गाउँपालिकाको तथ्यांकमा छ । गाउँपालिकाभित्र ८ हजार ६२ घरमा शौचालय रहेको पाइएको बताइएको छ ।

गाउँपालिकाले निकृष्ट बालश्रममा आश्रित बालबालिकाहरुलाई विद्यालय फिर्ता गराएको छ । गाउँपालिकामा आर्थिक बर्ष २०७५–७६ मा ९ सय ५ जना गर्भवती महिला रहेकामा तीमध्ये ४ पटक गर्भजाँच गराउनेको संख्या ८ सय ५८ जना र २ सय २५ वटा आइरन चक्की खानेको संख्या ८ सय १५ रहेको गाउँपालिकाले जनाएको छ । तीमध्ये दक्ष जनशक्तिबाट सुत्केरी गराउनेको संख्या ८ सय १५ जना रहेको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, अर्थ समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य कृष्ण दहाल, विरोध खतिवडा, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।