Swornakshar Logo

इरानी विदेशमन्त्रीले एक अन्तर्वार्तामा भने अमेरिकाले युद्ध खोजेकै हो

२३ पुस । काठमाडौं । इरानी विदेशमन्त्री जावाद जरिफले एक अन्तर्वार्तामा अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेर द्वन्द्वको बाटो रोजेको बताएका छन् । उनलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न प्रवेशाज्ञा दिन अस्वीकार गरेर अमेरिकाले सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालयको सहमतिको उल्लङ्घन गरेको पनि बताए ।

इरानी विदेशमन्त्री जावाद जरिफको अन्तर्वार्ता यस्तो थियोः

के संयुक्त राष्ट्रसङ्घमा बोल्न जान तपाईँलाई भिसा दिन अस्वीकार गरिएको हो ?

हामीहरूलाई महासचिवले त्यही भने तर विदेशमन्त्री पोम्पेओले भने आफूहरूसँग मेरो भिसा हेर्नको लागि पर्याप्त समय नभएको बताए । जबकि मेरो निवेदन सन् २०१९ मै भएको हो, सन् २०१९ को डिसेम्बरमा ।

तपाईँले त्यसलाई कसरी हेर्नुभएको छ ?

हेर्नुस् मैले तपाईँसँग यसलाई राष्ट्रसङ्घ मुख्यालय सम्बन्धी सम्झौताको उलङ्घन भन्न सक्थेँ । तर अन्तर्राष्ट्रिय कानुनको सम्मान नगर्ने, युद्ध अपराध गर्ने र सांस्कृतिक स्थलहरूमा हमलाको धम्की दिएर थप युद्ध अपराध गर्न खोज्ने—जुन युद्ध अपराध नै हो ।

म उनीहरूबाट कुनै प्रतिबद्धतामा कायम रहने कुरा आशा गर्न सक्दिन । त्यसैले यो अनपेक्षित होइन । तर मेरो प्रश्न चाहिँ उनीहरू किन डराएरु भन्ने हो । म न्यूयोर्क पुगेर के नै गर्थेँ र ?

तपाईँ एकजना अनुभवी कूटनीतिज्ञ हुनुहुन्छ र तपाईँलाई सबैखाले कूटनीतिक सम्पर्कको मूल्य थाहा छ, ती चाहे सामान्य रूपका हुन् वा पर्दा पछाडिका । के यसले के त्यसखाले संवादको महत्वपूर्ण ढोका बन्द गरिदिएको हो ?

तपाईँसँग साँच्चिकै नढाटी भन्नुपर्दा मैले यो भ्रमणका बेला अमेरिकासँग कुनैखाले संवादमा संलग्न हुने आशा गरेको थिइँन । तर त्यसबेला म स्वतन्त्र विज्ञ समूहहरू, पत्रकारहरूसँग थप प्रस्ट्रताका लागि र हुनसक्छ तनाव मथ्थर पार्न । किनभने यो त डरलाग्दो समय बनेको छ । मलाई लाग्दैन अमेरिकाले तनाव मथ्थर पार्ने बाटो समातेको छ ।

अमेरिकाले थुप्रै मानिसहरू मारेको छ, निकै महत्वपूर्ण मानिसहरू नै, विदेशी भूमिमा इराकी र इरानी अधिकारीहरू दुवैलाई । यो युद्धकार्य हो । यसले आन्तरिक र सार्वजनिक वृत्तमा दिएको सन्देश निकै रूखो, मूर्खतापूर्ण र हठी छ। त्यो आफैँमा तनाव बढाउने काम हो ।

त्यसले इरानी जनतालाई त्रासमा पारेको छ । मलाई लाग्छ विदेशमन्त्री पोम्पेओले राष्ट्रपति ट्रम्पलाई गतल सूचना दिइरहेका छन् ।

उनी त ठान्छन् तेहरान र बग्दादका सडकमा मानिसहरू नाचिरहेका छन् । उनले त ट्वीटरमा त्यसको सानो भिडियो पनि राखे । अहिले म विश्वस्त छु उनले हिजो बग्दाद र तेहरानमा मानव सागर देखे होलान् ।

के इरान तनाव कम गर्नका लागि खुला छ के तपाईँ तनाव अन्त्य गर्न चाहनुहुन्छ ?

अमेरिकाले जे गरिरहेको छ त्यसले स्वभाविक रूपमा आफ्नो बाटो लिनेछ । उसले पहिले इराकको सार्वभौमसत्ताको उलङ्घन गर्यो र त्यसको जवाफ इराकी संसद्ले दियो ।

उसले यस क्षेत्रका धेरै मानिसहरूको भावनामा ठेस पुर्‍यायो जसलाई रोक्नु इरानको काबुमा थिएन । उसले थुप्रै इरानी नागरिक र अधिकारीहरूलाई मारेको छ । यो आतङ्वादी कारबाहीजस्तो युद्ध हो । इरानले त्यसको उपयुक्त कदम लिनेछ ।

अमेरिकाले अब यसको नतिजाहरू व्यहोर्नेछ र मलाई लाग्छ त्यो सुरु नै भइसकेको छ । हाम्रो क्षेत्रमा अमेरिकी उपस्थितिको अन्त्य गर्ने काम सुरु भइसक्यो ।

समाचारहरू अनुसार सर्वोच्च नेताले इरानी सुरक्षा परिषद्लाई इरानको जवाफ प्रत्यक्ष र समानुपातिक हुनुपर्ने र इरानी सेनाले गर्नुपर्ने बताएका छन्। के तपाईँ त्यसको पुष्टि गर्न सक्नुहुन्छ ?

हामी कानुन मान्ने देश हौँ । हामीले जब कुनै कारबाही सुरु गर्छौँ राष्ट्रपति ट्रम्पले भने झैँ त्यो असङ्गत हुँदैन । ती वैध निसानाहरूमा हुनेछन् ।

त्यसको अर्थ सैन्य हो ?

ती वैध निसानामा हुनेछन् ।

त्यसको अर्थ के हो त ?

वैध निसानाहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनहरू स्पष्ट छन् ।

के तपाईँ मलाई जानकारी दिन सक्नुहुन्छ ?

मलाई लाग्छ उनीहरू कानुनको शब्दकोशमा त्यो हेर्न सक्छन् ।

यसको अर्थ तपाईँ इरानले समर्थन गरेका हेज्बुल्लाह जस्ता प्रोक्सी समूहहरूले आक्रमण नगर्न बताउँदै हुनुहुन्छ ?

हाम्रा प्रोक्सी छैनन् । तपाईँले इराकको सडकमा देख्नुभयो होला कि हामीसँग मानिसहरू छन्, प्रोक्सी छैनन् ।

हामीले ती मानिसहरूलाई नियन्त्रण गर्दैनौँ किनभने ती हाम्रा प्रोक्सी होइनन् । उनीहरू भावना भएका र स्वतन्त्र सोच राख्न सक्ने मानिसहरू हुन् । त्यसैले मैले भनेको हुँ उनीहरूले के गर्छन भन्ने कुरा इरानले नियन्त्रण गर्दैन ।

त्यसोभए तपाईँ कुनै पनि प्रतिशोधका कारबाही आधिकारिक इरानी सेनाले गर्छ भनेर पुष्टि गर्दै हुनुहुन्छ ?

मैले भनेको त्यहाँ तीन वटा उल्लङ्घन भएका छन् । इराकी सार्वभौमसत्ताको उल्लङ्घन, जसको जवाफ इराकी संसद् र सरकारले दिएका छन् । मध्यपूर्व क्षेत्रका लाखौँ मानिसहरूको भावनाको उल्लङ्घन, जुन हाम्रो नियन्त्रणमा छैन । र, त्यहाँ केही वरिष्ठ सैन्य अधिकारीहरूसहित इरानी नागरिकहरूको हत्या ।

त्यो हामी गर्छौँ र हामी जे गर्छौँ त्यो कुनै कायरतापूर्ण तरिकाले होइन तर स्पष्ट र सङ्गत तरिकाले गर्छौँ ।

कहिले ?

त्यो हामीले रोज्छौँ।

छिट्टै ?

त्यो हामीले रोज्छौँ ।

कासिम सुलेमानी धेरै नाम चलेका र शक्तिशाली सैन्य नेता थिए । उनलाई पश्चिमा जासुसी संस्थाहरूले लामो समयदेखि निगरानीमा राखेका थिए र हामीलाई के थाहा छ भने राष्ट्रपति ओबामा र बुस दुवैले उनलाई मार्न स्वीकृति दिएनन् किनभने उनीहरूलाई लाग्यो यसको नतिजा अमेरिकी र पश्चिमको सुरक्षामा महत्त्वपूर्ण हुनेछ ।

राष्ट्रपति ट्रम्पले आफूभन्दा पहिलेका दुई राष्ट्रपतिले नदिएको स्वीकृति दिए । यसले तपाईँलाई उनका बारेमा के बताउँछरु र सायद यसको अर्थ उनीसँग जोखिम मोल्ने क्षमता छ ।

मलाई लाग्छ उनलाई यसले बग्दाद र तेहरानको सडकमा मानिसहरू नाच्नेछन् भनेर सोच्ने मानिसहरूले दिएको गलत सुझाव हो । उनले आफ्ना सल्लाहकारहरूका बारेमा सोच्नुपर्छ ।

के उनी बुझ्नका लागि कठिन राष्ट्रपति हुन् किनभने उनी सन्की र अनुमान गर्न नसकिने खालका छन् ?

अनुमान गर्न नसकिने खालका र सन्कीले त कानुनभित्रै रहेर काम गर्छन् ।

अहिलेको समयमा अमेरिकी साम्राज्य कानुनविहीन छ, यो महत्त्वपूर्ण कुरा हो र मलाई लाग्दैन कि अमेरिकीहरू आफूले निर्वाचित गरेको व्यक्तिले कानुनविहीन तरिकाले कदम चालेको हेर्न चाहन्छन् ।

अमेरिका कानुनी राज्य भएकोमा गर्व गर्छ न कि कानुनविहीन देशको रुपमा । सांस्कृतिक सम्पदाविरुद्धको असङ्गत प्रतिक्रिया म केवल उद्धृत गर्दैछु ।

यदि इरान आफ्ना नागरिकहरूले खान पाउन भन्ने चाहन्छ भने उसले अमेरिकाको निर्देशन मान्नुपर्छ । यी भनाइ अमेरिकी अधिकारीहरूका हुन् ।

तर यो युद्ध अपराधहरू हुन्, मानवीयताविरुद्धका अपराध। के अमेरिकी जनता आफ्ना प्रतिनिधिहरूले अमेरिकालाई यस्तो आपराधिक र कानुनविहीन तरिकाले प्रतिनिधित्व गरून् भन्ने चाहन्छन् ?

परमाणु कार्यक्रमबारेको अन्तिम प्रश्न । तपाईँले भन्नुभयो तपाईँ अब आणविक हतियारका सम्बन्धमा तय गरिएका सीमाहरू मान्नुहुनेछैन । कति छिट्टै तपाईँहरू आफ्नो कार्यक्रम बढाउनुहुन्छ ?

यो हाम्रो आवश्यकतामा भर पर्ने कुरा हो । तर हामीले भनेका छैनौँ कि हामी सीमाहरूको सम्मान गर्ने छैनौँ । हामीले भनेका हौं कि त्यहाँ आधारभूत सीमाहरू बाँकी छैनन् ।

यी कदमहरू उल्टिन सक्छन् किनभने योबारे सबै पक्षले खुल्ला रुपमा छलफल गरेका हुन् । र अमेरिका त्यसबाट पछि हट्यो र युरोपेलीहरू पनि यसभित्रै वा बाहिर रहेर पनि आफ्ना सम्झौताहरू पालना गर्न विफल बने ।

हामीले उपलब्ध गराइएको संरचनाबारे कानुनसम्मत तरिकाबाट, कानुनको परिधिभित्र रहेर, सहमतिभित्रै रहेर र उल्लङ्घन भएको अवस्थामा त्यसका उपायहरू सहमतिमा उल्लेख गरिए अनुसार नै चाल्ने भनेर यसबारे वक्तव्यमार्फत् होइन, लेखेर पाँचपटक जानकारी गरायौं । र उनीहरूले सम्झौतामा रहेर आफ्ना प्रतिबद्धताहरू पूरा गर्न थाले भने यी तत्कालै उल्टाउने पनि सकिन्छ ।

त्यसैले जेसिपीओए सहमति सजीव छ किनभने यो एकदमै यथार्थपरक सम्झौता हो । तर तपाईँलाई थाहा छ को चाहिँ निर्जीव छरु अत्यधिक तनाव किनभने यो पटक पटक विफल भएको छ ।

र अर्को निर्जीव भएको कुरा भनेको हाम्रो क्षेत्रमा अमेरिकाको उपस्थिति हो । मलाई लाग्दैन कि अमेरिकालाई यो क्षेत्रमा आफ्नो उपस्थिति राख्नु अब सम्भव छ ।

धेरै विश्लेषकहरूले भनिरहेका छन् कि कासिम सुलेमानीको हत्याले इरानी शक्ति संरचनामा कट्टरपन्थीलाई मद्दत गरेको छ किनभने यसले गर्दा इरानी नागरिकको आफ्नो सरकारविरुद्धको आक्रोशलाई अन्यत्रै मोडिदिएको छ ।

आज इरानीहरू एक हुन् । हामी सबै इरानी हौँ । यहाँ कोही कट्टरपन्थी छैनन् र कोही नरमपन्थी पनि छैनन् ।

तर त्यसले तपाईँहरूको तनाव अन्यत्रै मोडिदिएको छ । र यसले तपाईँको तनाव कम गरेको छ ।

हामी सबै इरानी हौँ जो आफ्नो देश बचाउन चाहन्छौँ, जो आफ्नो स्वाभिमान जोगाउन चाहन्छौँ र जसले शान्तिका लागि लडे उनलाई गुमाउँदा हामी शोकमा डुबेका छौँ ।
बिबिसी बाट