Swornakshar Logo

नेपालको उत्कृष्ट पुनरागमन, माल्दिभ्सविरूद्ध २–१ ले विजयी

२१ मंसिर । काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा माल्दिभ्सविरूद्ध नेपाल २–१ गोलले विजयी भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको हो ।

१–० गोलले पछि परेको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १८ औं मिनेटमा माल्दिभ्सले गोल गरेपनि नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए । पहिलो हालको ४२ औं मिनेटमा रिजालले गोल गरेका हुन् ।
यस्तै दोस्रो हाफको सुरूमै नेपालले अग्रता लियो । नेपालका लागि ५१ औं मिनेटमा अन्नत तामाङले गोल गरे ।
यसअघि दशरथ रंगशाला दुवै टिमले सुन्दर खेल प्रस्तुत गरे । दुवै टोलीले गोलका केही अवसर खेर फाले । नेपाली टोलिले माल्दिभ्सको पोस्टमा निरन्तर प्रहार गरेपनि विपक्षी टोलिका गोलरक्षक र डिफेन्डरले विफल बनाए । खेलेको केही मिनेटमै नेपालका कप्तान सुजल श्रेष्ठको सट क्रसबारमा लागेर फर्किएको थियो ।

२–१ ले अघि बढेपछि थप गोल हुन सकेन र नेपाल विजयी भयो ।

जितसँगै नेपालको फाइनल यात्रा सहज भएको छ । तीन खेलबाट ७ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगचरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।

माल्दिभ्सको यो दोस्रो पराजय हो । प्रतियोगितामा भुटान ६ अंकका साथ दोस्रो स्थानमा छ ।