Swornakshar Logo

सिटौलासामु धरधरी रोए महरा

४ कार्तिक । काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फसाएको गुनासो गरेका छन् । सिटौलासँगको भेटमा महराले आफूलाई फसाइएको भन्दै धरधरी रोएका थिए ।

अस्पतालमा रहेका महरालाई २५ असोजको दिउँसो १ देखि करिब १ः३० बजेसम्म नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भेट गरे । अलग राजनीतिक आस्था राख्ने दुवै कृष्णबीचको सम्बन्ध तीन दशकभन्दा लामो छ । त्यसैले होला, सिटौलालाई भेट्नासाथ नर्भिकको बेडमा सुतिरहेका महरा निकै भावुक भएर हात मिलाए र आँखा जुधाए । दुवैको बोलीमा करुणा झल्कन्थ्यो,’ एक प्रत्यक्षदर्शीले बताए ।

उनले आफूलाई यो अवस्थामा ल्याउन ‘परिवर्तनविरोधी, शान्ति प्रक्रियालाई टुंग्याउन नदिने देशी विदेशी तत्त्वहरूको खेल’ भएको गुनासो गरे । महराको भनाइमा सिटौलाले पनि सहमति जनाए । उनले सरकार र सरकारको नेतृत्वप्रति फरक मत वा असहमत राख्ने विपक्षी दल होस् वा सत्तारुढ दलका नेतालाई एकपछि अर्को गर्दै विवादमा तान्ने र राजनीति डामाडोल गर्ने अभियानलाई नै शुरू गरेको अनुभव गरेको बताएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा देखिएको समस्याका कारण नर्भिक अस्पतालमा उपचार गराइरहेका महरा परिवारका सदस्य, चिकित्सक र सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिको पहुँचबाहिर छन् । उनी कुनै राजनीतिक व्यक्तिलाई भेट गर्नसमेत इन्कार गर्छन् । महरालाई नेकपा सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत भेट्न खोजेका थिए । तर, महराले ‘किन भेट्न पर्यो , अहिले भेटेर के हुन्छ ’ भनी प्रतिप्रश्न गरेका थिए ।

आफूलाई १९ असोजमा गिरफ्तार गरेपछि नेकपाका नेतामध्ये पूर्वमाओवादी नेता र कार्यकर्ताले कालो दिन’ र पूर्वएमालेले ‘आत्महत्या गरे हुने’ भनेर प्रतिक्रिया दिनुले उनीमाथि प्रतिशोध भएको दाबी गरेका थिए ।

प्रधानमन्त्रीको असहमतिः

सिटौलासँगको भेटमा महराले आफू सभामुख भएदेखि नै प्रधानमन्त्रीले गुनासो र असहमति राखेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट ५३ अर्ब सहयोग प्राप्त गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्न सुझाव दिएका थिए ।

त्यो परियोजना चिनियाँ आर्थिक सहयोग रणनीति बीआरआईको समानान्तरमा संयुक्त राज्य अमेरिकाले अघि सारेको एसिया प्यासिफिक स्टाटेजी (एपीएस) को रणनीतिक योजनाभन्दा तत्काल अघि बढाउन महराले अस्वीकार गरेका थिए ।

महराले संसदमा सत्तारुढ दलको अध्यक्षको हैसियतले पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख सचेतक देव गुरुङसँग सल्लाह पनि गरेका थिए । तर, त्यस सम्बन्धमा पार्टीले स्पस्ट दृष्टिकोण नबनाएको भन्दै महराले सो प्रस्ताव रोकेका रहेछन् ।

यस्तो प्रस्ताव रोकेर सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन सभामुख महरासँग रुष्ट रहेछन् । ओली रुष्ट बन्नुको अर्को कारण हो संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलाउँदा विपक्षी दलका सांसदले गरेका प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘निम्छरो’ शब्द ।

निम्छरो शब्दलाई लिएर प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले शब्द फिर्ता लिनुपर्ने अडान राखेर हंगामा मच्चाएपछि तत्कालीन सभामुख महराले सो शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । आफूले बोलेको भनाइलाई रेकर्डबाट हटाउने विषयमा समेत ओली आफूसँग रुष्ट बनेको सिटौलासँग महराले गुनासो गरेको ती प्रत्यक्षदर्शी बताउँछन् ।

‘प्रधानमन्त्रीजी असहमती राख्ने नेतालाई प्रतिशोध राख्नुहुँदो रहेछ’ महराको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले भने, माओवादी सेनाका लडाकुको रासन, भत्ता र शिविरमा भएको खर्चको हिसाब माग्नु भयो । महराले तत्कालीन समयमा सहमतिमा हस्ताक्षरकर्ता, सरकार र तत्कालीन माओवादी अध्यक्षलाई समेत थाहा हुने जवाफ दिएका थिए ।

लडाकु शिविरको प्रकरणका विषयमा जोजो संलग्न छन्, उनीहरुलाई ठीक लगाइदिने भनेर ओलीले चेतावनी दिएको महाराको गुनासो गरेका थिए । ओलीले बारम्बार लडाकु शिविरमा भएको भ्रष्टाचारको विषय उठाएर आफूलाई मानसिक तनाव दिने गरेको गुनासोसमेत गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालका घटनालाई किनारा लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न अनेक बहाना देखाएर काम नगर्ने र कुनै न कुनै रूपमा पूर्वमाओवादीलाई फसाउने योजना रहेको गुनासो गरेका थिए ।

सिटौलासँग महराले आफूलाई प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलप्रति नरम व्यवहार गरेको, संसदीय समितिले जथाभावी निर्देशन दिएर सरकारलाई काम गर्न नदिएको अवस्थामा समेत सरकारको रक्षाकवज नवनेको भन्दै आक्रोश पोखेको गुनासो गरेका थिए ।

रोशनी शाहीसँगको सम्बन्धको विषयमा भने महराले आफूलाई ती महिलाले शारीरिक हमला गरेको दाबी गरेका थिए ।

सिटौलाले व्यक्तिगत सम्बन्धका कारण महरालाई भेट्न अस्पताल पुगेको बताएपनि यतिलामो अनतरंग कुराकानी किन भयो भन्ने बषिय भने रहस्यमय छ ।

महराको निकै लामो गुनासो सुनेपछि सिटौलाले पनि आफूलाई संसदीय निर्वाचन हराउनका लागि ‘गणतन्त्रविरोधी राप्रपासँग ओलीले साँठगाँठ गरेको’ गुनासो गरेका थिए ।