Swornakshar Logo

प्रहरी र अदालतका कर्मचारी नै त्रासमा, आलम बयान दिन पछि हट्दै

१ कार्तिक । काठमाडौं । रौतहट–२ बाट निर्वाचित सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि आलमका समर्थक आक्रोशित देखिएका छन् । त्यसै क्रममा रौतहटमा प्रहरीले सुरक्षा सर्तकता पनि बढाएको छ । रौतहटका हरेक चोक र राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रहरीले सांसद आलमलाई २६ असोजमा सशस्त्र प्रहरी र नेपाल आर्मीको संयोजनमा प्रक्राउ गरेको थियो ।

सांसद आलमका समर्थक आक्रोशित भएसँगै अदालत र सिडिओ कार्यालयका कर्मचारीसमेत त्रासमा छन् । रौतहट प्रहरी प्रमुख भुपेन्द्र खत्रीका अनुसार घटना लुकाउन, अनुसन्धान नगर्न १२ वर्ष अगाडि सुरक्षा संयन्त्र, प्रशासन कार्यालय र अदालतको मिलेमतो गरेका थिए । मिलोमतोमा आफू फस्ने डरले जिल्लाका कर्मचारी र प्रहरीसमेत त्रासमा रहेको प्रहरी प्रमुख खत्री बताउँछन् ।

१२ वर्ष अगाडिको घटना भएकाले अहिले प्रमाण संकलन गर्न भने मुस्किल भइरहेको खत्रीले बताए । धेरै प्रमाण त त्यतिखेर नै मेटिएको थियो । उनी भन्छन्अ हिले पनि हामी केही प्रमाणको खोजिमा छौ ।

१२ वर्ष अगाडि विभिन्न मानवअधिकारवादी संस्थाले बनाएका प्रतिवेदन, उनीहरुले संकलन गरेका प्रमाण र प्रत्यक्षदर्शीको वयानलाई नै प्रहरीले प्रमाणका रुपमा संकलन गरिरहेको छ ।

खत्रीका अनुसार केही प्रत्यक्षदर्शीको वयान सकिएको छ भने अझै केही प्रमाण संकलनको क्रममा छ प्रहरी । प्रहरीले घटनाका प्रत्यक्षदर्शी समेत फेला पारेको उनले बताए । अहिले प्रत्यक्षर्शीसँग बयान लिने काम भइरहेको छ ।

आलमले भने अझै बयान दिन आनाकानी गरिरहेका छन् । खत्री भन्छन, ‘उहाँले स्वास्थ्यका कारण बयान दिन सकिरहनु भएको छैन ।’ आलम सुगर र नसाका रोगी हुन् । दुई पटक उनको ब्रेन ह्यामरेज अट्याक भइसकेको छ । हिरासतमा पनि आलम सुगर र नसाको औषधि सेवन गरिरहेका छन् ।

आलमले बयान दिएपछि यसै साता उनको थुनछेक बहस हुनेछ । आलमले काठमाडौंबाट वकिल मगाएको खत्रीले बताए । घटनामा कति जना मारिए र कति घाइते भए भन्ने अझै एकिन नहुँदा प्रहरीलाई अप्ठेरो परेको छ । कतिपय प्रत्यक्षदर्शीले २२ जनाको हत्या गरिएको बताएका छन् भने कतिपयले ३० देखि ३५ जना थिए भनेका छन् । खत्री भने १७ देखि १९ जना रहेको बताउँछन् ।

खत्रीका अनुसार विस्फोटमा आलमकै गाउँका पनि केही व्यक्ति परेका थिए । तर, आलमले पैसा दिएर कुरा मिलाएका थिए । अहिले पनि आलमको गाउँबाट कोही बोल्न मानिरहेका छैनन् । प्रहरीलाई पनि आलमको गाउँमा छिर्न मुस्किल परिरहेको छ ।