Swornakshar Logo

प्रहरीले गर्यो ५ अर्ब ह्याक गर्ने योजना विफल

८ असोेज । काठमाडौं । महानगरी अपराध महाशाखाले बैंक ह्याक गरेर विभिन्न व्यक्तिको खातामा ट्रान्सफर भएका १२ जनालाई पक्राउ गरेको छ । साथै नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब रुपैयाँ ह्याक गरेर चोर्ने ह्याकरहरुको योजना विफल भएको छ।

बयानको क्रममा उनीहरुले अफ्रिकी मुलका नागरिक काले भनिने पिटरसँग मिलेर काम गरेको बताएका छन् । प्रहरीका अनुसार विदेशी नागरिक काले भनिने पिटरले भारतमा बसेर ह्याकिङको योजना बनाएका थिए । मुख्य योजनाकार भारतमा बसेको र नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट रकम निकाल्न लगाइएको थियो ।

कृषि विकास बैंकको लहान शाखाको कम्प्युटरबाट कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुमा रहेका विभिन्न व्यक्तिगत खातामा रकम पठाइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । ती खाताहरुबाट रकम निकाल्ने क्रममा केही व्यक्ति पक्राउ परेपछि चोरीको रहस्य बाहिर आएको हो।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । कृषि विकास बैंक ह्याक गर्ने ह्याकर समूहका नेपाली एजेन्ट नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङ भएको खुलेको छ । उनि १२ जनामा मुख्य नाइके रहेको पनि प्रहरीले बताएको छ ।

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले ५ मिलियन डलर (५ अर्ब नेपाली रुपैयाँ) ह्याक गरेर विदेश लैजाने योजनामा थिए ।

यसरी गरियो पक्राउ

असोज ५ गते आइतबार पानस रेमिटबाट स्टाफको आइडी प्रयोग गरेर ६ पटक एउटै व्यक्तिले ६०(६० हजार निकालेपछि शंका लागेर पानस रेमिटका कर्मचारीले प्रहरीमा खबर गरे । खबर पाएलगत्तै प्रहरी परिचालन गरियो । रेमिटमा पेश गरेको आईडीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई सोधपूछ गर्दा निकालेको रकम नुवाकोटका लवाङलाई दिने गरेको बताएपछि त्यसै अनुसार राति १० बजे नै प्रहरीले लवाङलाई पक्राउ गर्‍यो ।

पक्राउ परेका लवाङलाई प्रहरीले त्यो पैसा खैरु भन्दा उनले पनि पुष्प भन्ने व्यक्तिलाई राख्न दिएको बताए । पानस रेमिटबाट तीन जनाले ६०(६० हजार रुपैयाँ निकालेको सूचना पाएको भए पनि पुष्प भन्ने व्यक्तिबाट प्रहरीले ३१ लाख रुपैयाँ बरामद गर्‍यो । फेरि उसलाई पनि त्यो पैसा कहाँबाट आयो भनेर सोधपुछ गर्दा कृषि विकास बैंकको खाताबाट झिकेको भन्ने उत्तर दिए ।

कृषि विकास बैंकको एउटा ठाउँको युजर आईडी प्रयोग गरेर अर्को शाखाको खाताबाट पैसा झिकेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

झण्डै ५ करोड ट्रान्सफर गरियो

कृषि विकास बैंकको लहान शाखाबाट मात्र झण्डै पाँच करोड रुपैयाँ ट्रान्सफर भएको थाहा पाएपछि प्रहरीले यो यो खातामा यति यति रुपैयाँ ट्रान्सफर गरिएको छ भनेर कृषि विकास बैंकलाई सूचित गर्‍यो ।

ह्याकरले कृषि विकास बैंकको लहान शाखाबाट झण्डै ५ करोड रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिको खातामा पठाएको देखियो । त्यसमध्ये १०(१५ लाख रुपैयाँ कैलाश विकािस बैंकको खातामा गएको देखियो । प्रहरीका अनुसार यो प्रकरणमा कैलाश बैंक आफैँ संलग्न भएको देखिएको छ । कैलाश बैंकभित्रको को कर्मचारीको संलग्नता छ भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेहरु

ह्याकिङ प्रकरणमा पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका–५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका–२ का सञ्जय घले र सर्लाही हरिवन नगरपालिका–२ का पुष्पराज खड्का रहेका छन् ।

यस्तै लमजुङ दोदी गाउँपालिका–३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका–४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुभन्कर पन्जा, कैलाली भजनी नगरपालिका–३ का विजय साह र भजनी नगरपालिका–१ कै चन्द्रबहादुर बुढा रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले समयमै अनुसन्धान र खोजी नगरेको भए झण्डै ५ अर्ब रुपैयाँ ह्याक हुनसक्ने सम्भवना रहेको बताउनुभयो। उहाँका अनुसार प्रहरीको अनुसन्धान र कृषि विकास बैंकको सहकार्यले गर्दा ५ अर्ब रुपैयाँ चोरी हुनबाट जोगिएको हो ।

पक्राउ परेका सबैलाई बैंकिङ कसुर अन्तर्गत संगठित अपराधमा मुद्दा अघि बढाइएको छ ।

कृषि विकास बैंककै कर्मचारीको मिलेमतो रहेको छ भन्ने सुन्नमा आएको भन्ने प्रश्नमा थापाले कर्मचारीको आइडी प्रयोग भयो वा भएन भन्नेबारेमा अनुसन्धान भैरहेकोले बैंकका कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको बताउनुभयो । साथै उहाँले आईडी ह्याक भएको वा कर्मचारीले दिएको हो भन्ने पनि खुल्न नसकेको र त्यसबारेमा अनुसन्धान भैरहेको बताउनुभयो ।

विच्याटबाट कुराकानी

भारतमा रहेका व्यक्तिसँग कुरा गर्न विच्याटको प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विच्याटमा ह्याकरले भारतमा रहेका व्यक्तिलाई ५ अर्ब रुपैयाँसम्म ती व्यक्तिको खातामा राखिदिने विश्वास दिलाएको प्रहरीको अनुसन्धानले देखाएको छ । कमिसनका लागि ह्याकरहरुले नेपालीहरुलाई रकम झिक्ने काममा प्रयोग गरिएको पनि खुलेको छ ।

कृषि विकास बैंकको लहान शाखाबाट ११ वटा खातामा रकम ट्रान्सफर भएको र सबैभन्दा बढी ९९ लाखसम्म ट्रान्सफर भएको पाइएको छ । प्रहरीका अनुसार यो गिरोहले अरु बैंकबाट पनि पैसा झिक्न खोजेको देखिएको छ । नबिललगायतका केही बैंकबाट पैसा ह्याक गर्ने प्रयास भए पनि सफल नभएको अपराध महाशाखाका सहकुल थापाले जानकारी गराउनुभयो ।

पब्लिकको पैसा सुरक्षित छः कृषि विकास बैंक

कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घ अर्यालले कृषि विकास बैंक २६७ शाखामध्ये लहान शाखाको मात्रै रकम झिकिएको बताउनुभएको छ ।

साइबर सुरक्षाबारेको प्रश्नमा अर्यालले बैंकले विश्वकै तेस्रो सुरक्षित मानिने सिंगापुरको प्रविधि अपनाएको जानकारी दिनुभयो । उहाँका अनुसार विकसित देशमा पनि ह्याकरले यस्ता घटना नघटाउने होइनन्, तर बैंकसँग नागरिकको अरबौँ पैसा हुने हुनाले सकेसम्म सुरक्षित उपाय अपनाउने गरिन्छ ।

उहाँले कृषि विकास बैंकको लहान शाखाबाट मात्रै ५ अर्ब रुपैयाँ चोर्न सम्भव नरहेको पनि जानकारी दिनुभयो । लहान एउटै शाखामा यति धेरै रकम नहुने हुनाले ह्याकरले चोरीका लागि अन्य बैंकलाईसमेत निशाना बनाएर ५ अर्ब रुपैयाँको लक्ष्य राखेको हुनसक्ने अर्यालको बुझाइ छ ।