डडेल्धुरामा स्क्रब टाइफसको संक्रमण
१६ भदौ । काठमाडौं । देशका बिभिन्न क्षेत्रमा डेंगु रोग फैलिरहेका बेला पश्चिम पहाडी जिल्लामा स्क्रब टाइफस नामक रोग पनि फेला परेको छ ।
डडेल्धुरामा भदौमा मात्रै १ सय २८ शंकास्पद बिरामीलाई जाँच गर्दा २७ जनामा स्क्रब टाइफस पोजेटिभ फेला परेका छन् । डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुसालका अनुसार शंकास्पद बिरामी १ सय २८ लाई जाँच गर्दा १ सय १ जनामा नेगेटिभ र २७ जनामा रोगको संक्रमण देखा परेको बताइएको छ ।
किटजन्य रोगबाट सचेत रहन चिकित्सकहरुको आग्रहः
गत वर्ष डडेल्धुरामा पहिलो पटक देखा परेको स्क्रब टाइफस वर्षातको समयमा अन्य पहाडी जिल्लामा पनि देखा पर्न थालेको छ । गत साल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ५० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखा परेको र तीमध्ये दुई जनाको मृत्यु भएको डडेल्धुरा अस्पतालको तथ्यांक रहेको छ ।
पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिन थालेको छ । गत साउनमै डडेल्धुरामा कालाजार रोगको बिरामी भेटिएका थिए ।
कालाजार र स्क्रब टाइफस किटजन्य रोग भएको प्रयोगशाला प्रमुख भुसालले बताए । स्क्रब टाइफस लागेमा ज्वरो आउने, मांसपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पतालका डाक्टर उत्तम भट्टले बताए ।
स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भए पनि डडेल्धुरा अस्पतालमा धेरैजसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेको मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेल बताए ।
व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने चिकित्सकहरुको भनाइ छ । पुरै शरीर ढाक्नेगरी लुगा लगाउन, खुल्ला ठाउँमा शौच नगर्न र स्क्रब टाइफसका उल्लेखित लक्षणमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन चिकित्सकहरुले आग्रह गरेका छन् ।
रोगको संक्रमण अझ धेरै मानिसमा भएको हुनसक्ने आशंका छ । अन्य जिल्लाका दुर्गम भेगहरुमा यो संख्या अझ बढी हुन सक्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: