Swornakshar Logo

दयनीय छ डान्सबार, दोहारी तथा रेष्टुरेन्टमा काम गर्ने श्रमिकको अवस्था

२८ साउन । काठमाडौ । डान्सबार, रेष्टुरेन्ट तथा होटलहरुमा काम गर्ने बालश्रमिक, तथा महिलाहरुको नाजुक अवस्था रहेको पाइएको छ । राजधानीमा मंगलबार विश्वास नेपालले मिडियाँकर्मीसँग होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत श्रमिक, बालबालिकाहरुको वर्तमान अवस्था विषयक अन्तरसम्वाद कार्यक्रममा यस्तो तथ्य फेला परेको बताइएको छ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रहरुमा बालबालिकाहरुले श्रम तथा शारिरीक शोषण समेत खेप्नु परेको अनुगमनका क्रममा फेला पारिएको कार्यक्रममा सहभागीले बताए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले अन्तरसम्वादका क्रममा बालबालिकाहरुलाई काममा लगाउन नपाइने तथा बाल श्रमशोषण गर्न नपाइने भनी कानुनी प्रावधान भएतापनि त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा अहिले हजारौ बालबालिकाहरु शोषित र पीडित बन्न बाध्य भएको सहभागीले बताएका छन् ।

बाहिर खाजाघर लेखिएका होटलहरुमा पनि भित्र बालबालिकालाई मदिरामा लठ्ठ पारेर ग्राहकहरुलाई आकर्षित गर्नेसम्मको अवस्था देखिएको रस्ना ढकालले बताइन् । विश्वास नेपालले आयोजना गरेको उक्त छलफलमा मनोरञ्जनको क्षेत्र अर्थात् होटल तथा रेष्टुरेन्टहरुमा अत्याधिक मात्रामा बालिकाहरुको प्रयोग भएको बताइएको छ ।

‘रेष्टुरेन्टमा कामको आधारमा नभई सौन्दर्यको आधारमा तलव तोकिन्छ, त्यो पनि निकै कम’ उनले भनिन्, ‘श्रम ऐन अनुसार रु १३,४५०।– मासिक तलव भएपनि त्यहाँ काम गर्नेहरुले मासिक दुई हजार पाँचसयदेखि काम गर्ने गरेको पाइयो । त्यसमा उनीहरुलाई टिप्स छुट्टै आउँदोरहेछ ।’ रेष्टुरेन्ट क्षेत्रमा बालबालिकाहरु साहु र ग्राहक दुवै पक्षबाट पीडित बनेको कार्यक्रम प्रस्तुतकर्ता कमला सापकोटाले बताइन् ।

यो क्षेत्रमा उनीहरुको काम वैश छउन्जेल मात्रै हो, पछि न घरका न घाटका हुन्छन् ।’ संस्थाको परिचय दिँदै आलेले त्यस्तै बालश्रमिकहरुलाई समाजमा इज्जतसँग बाँच्न पाउने अधिकार दिलाउन हाम्रो संस्था लागिपरेको बताइन् । कार्यक्रममा उपस्थितहरुले बालश्रमको पक्षमा एनजीओ, आईएनजीओले जतिसुकै गोष्ठी वा सेमिनार गरेपनि सरकारी स्तरबाटै बाल श्रम उन्मूलनको ठोस कार्यक्रम ल्याउन नसक्दासम्म यसकिसिमको समस्या समाधान नहुने अधिकांशको मत रहेको छ ।

अधिकांश बालबालिका तथा महिलाहरु कोही रहरले त कोही बाध्यताले यस क्षेत्रमा आएको भन्दै अनुगमन टोली पुगेका बेला त्यहाँ कोही पनि बालबालिका आफू पीडित भएको बताउँदैनन् । बाल श्रमिकहरुले नाम, ठेगाना अनि उमेर पनि झुठो बोली काम गरिरहेका हुन्छन् । त्यसको नियमन अनुगमनका लागि सरकारी पक्षबाट कडा रुपमा पहल गरी अघि बढ्न सके मात्रै यस किसिमको समस्या समाधान हुने अन्थया एनजीओ÷आईएनजीओ तथा मिडिया समेत सहयोगी हुने सहभागीहरुले बताएका छन् ।