Swornakshar Logo

कसले पाउला २०१९ को बुकर प्राइज ?

सुहासिनी पटनी

२५ साउन । काठमाडौ । बुकर प्राइज पाउने सम्भावित पुस्तकको लामो सूची सार्वजनिक भएको छ । र, यस पटक सूचीमा पुरुषभन्दा बढी महिला परेका छन् । सूचीमा परेको १३ पुस्तकमध्ये ८ वटा महिला लेखकका कृति रहेका छन् । मार्गरेट एटवुड र जिनेट विन्टर्सनजस्ता प्रख्यात लेखक पनि सूचीमा छन् भने डेब्यु लेखक ओइन्केन ब्रेथवेट पनि परेकी छन् ।

यो लामो सूची कुल १५१ वटा उपन्यासबाट चयन गरिएको हो, जुन १ अक्टुबर २०१८ देखि २० सेप्टेम्बर २०१९ सम्म यूके र आयरल्यान्डबाट प्रकाशित भएका हुन् । यो वर्षको चयनकर्ता ९जुरी०को अध्यक्षता हे फेस्टिभलका संस्थापक पिटर फ्लोरेन्सले गरेका हुन्, यसैगरी रोयल एकेडेमी अफ म्युजिकका प्रमुख जोआना म्याकग्रेगर, लेखक तथा प्रसारक अफुआ हिर्स, ब्लुम्सबरी प्रकाशनका सहसंस्थापक लिज काल्डर तथा संस्मरणकार तथा उपन्यासकार–सिनेमा निर्माता जियाउलु गुओ पनि रहेका छन् ।

गत वर्षकी विजेता अन्ना बन्र्सको उपन्यास ‘मिल्कम्यान’ ५,४६,५०० प्रति बिक्री भएको छ । बुकरको सर्टलिस्ट सेप्टेम्बरको पहिलो साता आउने गर्छ भने विजेताको घोषणा अक्टुबरमा हुने गर्छ । यो पुरस्कारको राशि हाल ५० हजार पाउन्ड रहेको छ । महिला लेखकको अभूतपूर्व बर्चस्वका कारण, हामीले बुकर ‘लङ्गलिस्ट’मा उनीहरुको सिर्जनामा ध्यान केन्द्रित गर्ने निर्णय गरेका छौं ।

दि टेस्टामेन्ट्सः मार्गरेट एटवुड
यो १० सेप्टेम्बर सार्वजनिक हुने पुस्तक ‘लक एन्ड कि’मुताबिक छ, कुनै प्रकारको गडबडी नदेखियोस् भनेर सुरुमै भनिएको छ । पाठक केवल हाम्रो समयको सबैभन्दा प्रासङ्गिक उपन्यासहरुको आगामी पाइलाको प्रतीक्षामा बस्न सक्छन् । अहिलेसम्म, हामी सबैलाई थाहा छ– यो ‘दि ह्यान्डमेड टेल’को अन्त्यको १५ वर्षपछि तय गरिएको थियो । र, गिलिएडमा तीन महिलाको जीवनको अनुशरण गरिएको छ । यसले पुरस्कार जित्छ या जित्दैन भन्न सकिन्न । एउटा कुराचाहिँ निश्चित छ– यो वर्षको सबैभन्दा राम्रो पुस्तकमध्ये एक यो हो ।

माई सिस्टर, दि सिरियल किलरः ओइन्केन ब्रेथवेट
ब्रेथवेटको यो पहिलो उपन्यास हो, उनी लागोसका स्थापित लेखक हुन् । नाइजेरियामा आश्चर्य र अराजकतायुक्त भावनालाई लेखनमा ल्याउन उनले दुई दिदीबहिनीको व्यक्तित्वबीचको सम्बन्ध बुझाउन खोजेकी छन् । यो पुस्तक कोरेडको बारेमा छ, जो आफ्नी बहिनी अयुल्याको आत्मरक्षाका लागि आफ्नो प्रेमीको हत्या गर्छिन् । तथापि, एउटा अपराध थ्रिलर हुनुको सट्टा उपन्यास एउटा प्रेमकहानी बनेको छ । दिदीबहिनीबीचको न्यानो र चिसो सम्बन्ध, प्रेम–घृणाका उतारचढाव तथा आत्मविश्वासमा पुस्तक केन्द्रित छ ।

डक्स, न्युबरीपोर्टः लुसी एलमन
लङ्गलिस्टमा परेका एकमात्र अमेरिकी लेखक हुन् एलमन, उनीसँग एक प्रतियोगीका रुपमा सबैभन्दा असाधारण र प्रयोगात्मक पुस्तक छ । सेटिङमा ओहायो रहेको छ । पुस्तकमा गृहिणी र चार बच्चाकी आमाको एकालाप छ, जसमा राष्ट्रपति ट्रम्पको राजनीतिबारे चिन्ता गरिएको छ । उनी भोजन र परिवारका बारेमा सोच्छिन् । ‘स्ट्रिम अफ कन्ससनेस’ लेखन प्याराग्राफ र पूर्णविरामबिनै अघि बढ्छ । ४,२६,१०० शब्दको एउटा वाक्य छ, जुन हजार पृष्ठभन्दा बढी छ । यद्यपि, लेखनको यो रुपले पुस्तकको वर्णन गर्न छोडेको छैन, ‘जस्तो तपाईंले यसअघि यस्तो पुस्तक पढ्नुभएको थिएन’ ।

गर्ल, वुमन, अदर ः बर्नाडाइन एभारिस्टो
यो उपन्यासले १२ जना पात्रहरुको कथा भन्छ, जसमा अधिकांश अश्वेत बेलायती महिला छन् । पात्रहरुको समयसीमालाई छोड्दा ती कहिल्यै ओझेल पर्दैनन् । यी पात्रहरुबीचको सम्बन्ध कुनै जालसाजी होइन । तर दुनियाँका निम्ति जुन स्थानमा यिनीहरु बस्छन्, ती एकापसमा जोडिइरहन्छन्, चाहे प्रेमी या गुमनाम सेनानीको ट्विटरमार्फत् नै किन नहोस १ यी महिलाले काला वर्णका महिलाका प्रतिबन्धित विचार तथा ठूला आन्दोलनको मुखपत्र नबन्नाले पितृसत्ताद्वारा सिर्जित चुनौतीको सामना गर्न परिरहन्छ । पुस्तकमा उतारिएको वार्तालापका झलक हामीलाई परिचित लाग्छ, तर वार्तालापहरुमा दुर्लभ अन्तरदृष्टि पनि छ– त्यससँग हामी निकै डराउँछौं ।

दि म्यान हु स एभ्रिथिङः डेबोरा लेभी
रोयल सेक्सपियर कम्पनीका लागि नाटक लेख्ने प्रसिद्ध लेखिका लेभीले यसअघि नै बुकर लङ्गलिस्ट र सर्टलिस्ट दुवैमा आफ्नो नाम दर्ता गराइसकेकी छन् । उनको नयाँ उपन्यास अगस्ट २९ मा आउँदैछ, त्यसमा एउटै कथाका दुई रुप उतारिएको छ । १९८८ मा पूर्वीबर्लिनमा आमन्त्रित गरिएको आत्मरतिमा रमाउने इतिहासकारको वरिपरि यो उपन्यास केन्द्रित छ । यसले एउटा स्वार्थी चरित्रको खोज गर्छ, जसको प्रसिद्ध बिटल्स एल्बमको मुखावरण पुनः बनाउनका लागि लेबी रोडमा रहेका बेला भएको घटनाले जीवन परिवर्तन हुन्छ ।

लस्ट चिल्ड्रेन अर्काइभः भ्यालेरिया लुइसेली
२०१४ मा लुइसेलीले यो पुस्तक अटोफिक्सन ट्राभलग ९कथात्मक नियात्रा०का रुपमा लेखेका हुन्, जतिखेर हजारौं आप्रवासी मेक्सिको र मध्यअमेरिकी सीमा पार गरेर अमेरिका पुगेका थिए । यो पुस्तक न्युयोर्क सहरदेखि मेक्सिकन सीमासम्मको सडक यात्रा र प्रवासिने क्रममा हराएका बच्चाहरुको दस्तावेज हो । यसमा शरणार्थी समस्याबारे सवाल उठाइएको छ, जबकि लुइसेलीले आफ्नो पति र बच्चासँगै व्यक्तिगत पीडाको पनि सामना गरेकी छन्, जस्तैः ‘अन्य मानिसको पीडालाई कलामा उतार्नु हुन्छ कि हुँदैन ?’

टेन मिनट्स टर्टी एट सेकेन्ड्स इन दिस स्ट्रेन्ज वल्र्डः एलिफ सफक
एउटा प्रतिभाशाली लेखिका हुन् सफाक । उनको प्रभावकारी शिल्पका कारण यो सूचीमा पर्नुलाई कुनै आश्चर्य मानिएको छैन । तर पनि सफाकका लागि यो महत्वपूर्ण छ । यो कथा यौनकर्मी टकिला लेलाको दिमागमा आउँछ, किनकि उनको हत्या गरेर इस्तानबुलको बाहिरी क्षेत्रमा फालिएको हुन्छ । त्यस समय उनी पूर्ण रुपमा मरेकी हुन्नन्, उनी आफ्नो चिन्ताग्रस्त बाल्यकाल र आफन्तलाई सम्झेर जीवनमा फर्कन्छिन् । उपन्यास मानवतावादी महिलाका बारेमा मुखर छ, जो धेरै काम गर्छछ् र दर्दनाक अवस्थाबाट गुज्रिन्छन् । यसले टर्कीका सरकारी अधिकारीहरुको पनि ध्यान आकर्षित गरेको छ, यौनहिंसाका बारेमा सफाकले उपन्यास लेखेकाले उनैमाथि अनुसन्धान भइरहेको छ ।

फ्राङ्केस्टाइनः जिनेट विन्टर्सन
मेरी सेलीको प्रसिद्ध गोथिक हररबाट प्रेरणा लिएर विन्टर्सनले विस्फोटक तथा अविस्मरणीय कथा कृतिमा उनेकी छन् । कथामा थुपै्र सूत्र छन्, सायद सबैभन्दा मुख्य डाक्टर री, उनी क्रायोनिक्समा रुचि राख्ने एक ट्रान्सजेन्डर । उनी पुराना एकजना प्राध्यापकसँग यौनसम्बन्धमा छन्, जोसँग गोप्य एआई प्रोजेक्ट छ । सायद उपन्यासको मुख्य प्रश्न यही हो कि, एआईबाट उन्नति गरेका मानिससँग के हुन्छ ? ध्यान यति धेरै किस्सा तथा विचारमा फैलन्छ कि, केवल विन्टर्सनजस्ता विविध तथा निपुण ज्ञान भएका लेखकले यस्तोखाले महत्वाकाङ्क्षी परियोजनालाई चित्रण गर्न सक्छन् ।

पोस्ट स्क्रिप्टः लामो सूचीमा परेका अन्य उपन्यासहरुमा केभिन बेरीको ‘नाइट बोट टु ट्याङगियर’, जोन लानचेस्टरको ‘दि वाल’, चिगोजी ओबिओमाको ‘एन अर्केस्ट्रा अफ माइनोरिटिज’, म्याक्स पोर्टरको ‘ल्यानी’, तथा सलमान रुस्दीको ‘क्विनचोट’ रहेका छन् ।

(स्क्रोल डट इनबाट)