Swornakshar Logo

‘रअ’ प्रमुख पछि भाजपाका विदेश मामिला इन्चार्ज पुगे नेपाल

१७ साउन । काठमाडौं । गत साउन ४ गते ६ जनाको टोलीसहित भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङस् रअ का प्रमुख सामन्तकुमार गोयल नेपाल आए । गोयलले प्रधानमन्त्रीसहित सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेतालाई भेटेपछि नेपाली राजनीतिमा नया तरंग पैदा भयो ।

रअ प्रमुखको भ्रमणले नेपालमा भारतको नियतप्रति संशय पैदा गरेको छ । रअ प्रमुखको भ्रमणलाई कतिपयले नेपाललाई भारतले राजनीतिकभन्दा कर्मचारी तहबाट हेर्ने गरेको बताएका छन् ।

उक्त संशयलाईलाई कम गर्न भारतले अहिले विदेश मामिला इन्चार्जलाई नेपाल पठाएको छ । भारतको सत्तारुढ दलका विदेश मामिला इन्चार्ज डा. विजय चौथाइवा शुक्रबार नेपाल ओर्लिएका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका चौथाइवाले १८ साउनमा भारत फर्किने छन् ।

चौथाइवालेले नेपालमा उच्च स्तरिय भेटवार्ता गर्ने वा नगर्ने भन्ने कुरा सार्वजनिक नभए पनि नेपाल ओर्लने वित्तिकै उनले एक औपचारीक कार्यक्रममा भाग लिएका छन् ।

नेपाल भारतमैत्री समाजले आयोजना गरेको कार्यक्रमा आईपुगेका चौथाइवालेको प्रशंसा गर्दै आफ्नो मन्तव्य सुरु गरे भारतीय राजदुत मञ्जिवसिंह पुरीले ।

नेपाल भारत सम्बन्धको बारेमा १५ अगस्टमा बोल्छु भन्दै मन्तव्य सुरु गरेका राजदुत पुरीले अधिकांश समय चौथाइवालेको प्रशंसामै खर्चिए ।

चौथाइवालेले भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा अन्तर्राष्ट्रिय भ्रमणको प्रमुख जिम्मेवारी पाएका थिए । मोदीका बहुचर्चित अन्तर्राष्ट्रिय भ्रमण र कार्यक्रमको व्यवास्थापन चौथाइवालेले गरेको भन्दै राजदुत पुरीले प्रशंसा गरे ।

राजदुत पुरीको प्रशंसालाई कुटनीतिक दृष्टिमा मोदीले नेपालप्रति प्रत्यक्ष चासो दिइराखेको संकेत थियो । गुप्तचर संस्थाका प्रमुखको भ्रमणले नेपालको भारतप्रतिको विश्वासमा आएको खाडल पुर्न भारतले चोथाईवाले पठाएको संकेत पुरीले कुटनीतिक तवरमा गरेका थिए ।

यता, चौथाइवाले पनि भारतले नेपालसँग समान स्तरमा सम्बन्ध राख्न चाहेको दोहोर्याए । कसैकसैले भारतले नेपालमा अनावश्यक चासो राखेको र भारतले नेपाललाई आफ्नो डिजाइनमा पार्न चाहेको हल्ला फैलाएकोप्रति भन्दै उनले नेपालसँग समान स्तरमा सम्बन्ध राखिने स्पष्ट पारे ।

मोदीका अप्रत्यक्ष दुत बनेर आएका चौथाइवालेले भारत विश्व राजनीतिको दायरामा फैलिँदै गएको समयमा कसैसँग पनि असमान सम्बन्ध राख्ने पक्षमा नभएको दाबी गरे ।

भारतले आन्तरिक र विदेश नीति दुवैमार्फत छिमेकी देशलाई सहयोग गर्न चाहेको बताउँदै चौथाइवालेले भने, ‘प्रविधि, उद्योग तथा अन्य क्षेत्रमा हामी विन–विन अवस्थामा काम गर्न चाहान्छौं ।’

नेपाल भारतबीच व्यवहारिक र सभ्यताको सम्बन्ध पनि कायम रहने भन्दै चौथाईवालाले भने, ‘भारत नेपालसँग समानताको आधारमा सहयोगी हात बाँड्न चाहान्छ ।’

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो जितले विश्व एरिनामा बढेको भारतको उचाई नेपालले पनि स्विकार्दै सम्मान गर्नुपर्नेतर्फ उनको कुटीनिक संकेत थियो । त्यसैले उनले भने, ‘दुई देशबीच सय प्रतिशत सहमति हुन्छ भन्ने होइन । केही असहमति र स्वार्थ हुन्छन् । तर पनि विश्वास र साझा सम्मानबीच सम्बन्ध बनाउनुपर्छ ।’