Swornakshar Logo

पर्यटनमन्त्री योगेश भट्टराईले लिए शपथ, यस्तो छ योगेशको पृष्ठभूमि

१५ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ लिएका छन् । भट्टराईलाई राष्ट्रपति विद्या भण्डारीले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ खुवाएकी हुन ।

कास्कीबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त थियो ।
ठीक पाँच महिनापछि १५ गते नै भट्टराई मन्त्री नियुक्त भएका हुन् । योगेश भट्टराईले नागरिक उड्डयन तथा पर्यटनमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।

यस्तो छ योगेश भट्राईको पृष्ठभूमि

योगेश भट्टराई २०२३ सालमा २१ भदौमा ताप्लेजुङको साँघु मैवाखोला गाउँपालिका–३० मा आमा महेन्द्रादेवी र बुबा भीमलालका कान्छा छोराका रूपमा जन्मिएका हुन् । उनले साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढे । त्यसपछि माध्यमिक शिक्षा उनले संखुवासभाको मादी माविबाट पास गरे।
२०३६ सालको विद्यार्थी आन्दोलनले उनलाई राजनीतिमा तानेको हो । पञ्चायती व्यवस्थाविरुद्ध अनेरास्ववियु पनि आन्दोलित थियो । आन्दोलनकै क्रममा अनेरास्ववियुले १४ चैत २०३७ सालमा पहिलोपटक हामहड्ताल गरेको थियो, जुन हड्ताललाई सफल पार्न योगेश सक्रिय भएर लागेका थिए । त्यहीँबाट नै उनले संगठित रुपमा राजनीतिक यात्रा सुरु गरेका हुन् ।

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा उनी काठमाडौं आए । उनी ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधविरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिए । पछि उनले महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिए ।

२०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भएपछि उनको राजनीतिक यात्रा फराकिलो हुँदै गयो ।

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्धको आन्दोलनका कारण उनी पटक–पटक जेल परे । जेल बसाइका बेला झापा आन्दोलनका चर्चित नेताहरु केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग उनी नजिकिएका थिए ।

पछि उनले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी पाए ।

राजनीति गरे पनि उनलाई पढाइलाई भने रोकेनन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरे ।

२०४६ र २०६२–६३ को आन्दोलनमा योगेश सक्रिय रुपमा सहभागी भए । ७ फागुन २०४६ मा काठमाडौंको नयाँ सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका उनी ६ गते राति नै पक्राउ परेका थिए । उनलाई केही दिनपछि सिन्धुुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्रै उनी छुटेका हुन् ।

२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेशले संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष भएर जिम्मेवारी सम्हाले ।

योगेशले २०६२–६३ मा सम्पन्न जनआन्दोलनमा नेकपा ९एमाले०को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरेका थिए ।

२०३९ देखि तत्कालीन नेकपा ९माले०सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरेका छन् । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले)को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए ।

उनी एमाले पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा चुनिए । पार्टी एकता भएपछि उनी नेकपाको स्थायी समिति सदस्य हुन ।