Swornakshar Logo

कुवेतविरुद्धको जितमा नेपालको कीर्तिमान नै कीर्तिमान

११ साउन । काठमाडौं । टी–२० विश्वकप २०२० को एसियन छनोटमा कुवेतलाई ७ विकेटले पराजित गरेको नेपाल ग्लोबल छनोट नजिक पुगेको छ । आइतबार हुने खेलमा सिंगापुरलाई पराजित गरेमा नेपाल युएईमा हुने ग्लोबल छनोटका लागि छानिने छ ।

कप्तान पारस खड्काको कीर्तिमानी अर्धशतकको मद्दतमा कुवेतलाई फराकिलो अन्तरले पराजित गरेको नेपालले आजको खेलमा थुप्रै रेकर्ड बनाउन सफल भएको छ ।

सबैभन्दा ठूलो लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । नेपालले १५।५ ओभरमा केबल ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएर सो लक्ष्य पूरा गरेको थियो ।

नेपालले टी–२० अन्तर्राष्ट्रियमा पूरा गरेको यो नै सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि नेपालले २०१५ मा नेदरल्यान्ड्सले दिएको १ सय ४० रनको लक्ष्य पूरा गरेको थियो ।

यद्यपि, समग्र टी–२० मा भने नेपालले पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य भने केन्याविरुद्धको १ सय ८३ रनको रहेको छ । केन्याविरुद्धको टी–२० विश्वकप छनोटकै खेलमा नेपालले १ सय ८३ रनको लक्ष्य पूरा गर्ने क्रममा १ सय ८६ रन बनाएको थियो । तर त्यसबेला नेपालले टी–२० आईको मान्यता पाइसकेको थिएन, जसकारण सो खेल टी–२० मा मात्र गणना हुन्छ ।

सर्वाधिक फराकिलो जित


कुवेतविरुद्धको जित टी–२०आईमा नेपालको विकेट मार्जिन तथा बल बाँकी दुई आधारमा सर्वाधिक फराकिलो जित रहेको छ । नेपालले कुवेतलाई २५ बल बाँकी छँदै पराजित गरेको थियो । यसअघि मलेसियामा भएको टी–२० सिजिमा नेपालले १२९ रनको लक्ष्य ९ बल बाँकी छँदा पूरा गरेको थियो ।

यस्तै, विकेट अन्तरमा पनि यो जित संयुक्त रुपमा सबैभन्दा फराकिलो जित बनेको छ । नेपालले यसअघि टी–२० आईमा मलेसियालाई २ पटक ७ विकेटको अन्तरले पराजित गरेको थियो ।

पहिलो क्वालालम्पुरमा भएको टी–२० सिरिजमा तथा दोस्रो एसिया छनोटको वर्षाले प्रभावित भएर ९ ओभरमा घटाइएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

सबैभन्दा बढी चौका प्रहार


पारस खड्काले ४२ बलमा ६८ रन बनाउँदै कप्तानी इनिङ खेल्दा ११ चौका र १ छक्का प्रहार गरेका थिए । यो नेपालका लागि टी–२०आईमा एक खेलाडीले एकै इनिङमा प्रहार गरेको सबैभन्दा बढी चौका हो ।

यसअघि पनि यो कीर्तिमान पारसकै नाममा थियो । उनले मलेसियाविरुद्धको टी–२० सिरिजमा नटआउट ८६ रन बनाउँदा ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि ठूलो साझेदारी


नेपाललाई प्रभावशाली जित दिलाउन ओपनिङमा आएका पारसलाई अर्का ओपनर ज्ञानेन्द्र मल्लले दीगो साथ दिन सकेनन् । मल्ल १३ बलमा १९ रन बनाएर आउट भएपछि आएका शरद भेषावकरले भने पारससँग कीर्तिमानी साझेदारी गरेका थिए ।

पारस र भेषावकरले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । टी–२०आईमा नेपालका ब्याट्सम्यानले दोस्रो विकेटका लागि गरेको यो नै सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि बंगलादेशमा भएको टी–२० विश्वकपको अफगानिस्तानविरुद्धको खेलमा मल्ल र सुबास खकुरेलको ३२ रनको साझेदारी सबैभन्दा ठूलो थियो ।
टी–२०आईमा नेपालले कुनैपनि विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारीको रेकर्ड पनि सोही विश्वकपमा बनेको थियो । बंगलादेशविरुद्धको खेलमा पारस र भेषावकरले नै सो रेकर्ड बनाएका थिए । चौथो विकेटका लागि दुईबीच ८५ रनको साझेदारी भएको थियो ।

सबैभन्दा बढी अर्धशतक


कुवेतविरुद्ध ४२ बलमा ६८ रन बनाएका कप्तान पारस खड्का टी–२० आईमा नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् । टी–२०आईमा यो उनको तेस्रो अर्धशतक हो ।

यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध पहिलो अर्धशतक बनाएका थिए भने दुईसाता अघि मलेसियामा भएको टी–२० सिरिजमा पनि उनले अर्धशतक बनाएका थिए । पारस बाहेक अन्य कुनैपनि नेपाली ब्याट्सम्यानले टी–२० आईमा एकभन्दा बढी अर्धशतक बनाउन सकेका छैनन् ।

सन्दीपको रेकर्ड


नेपालका लेगस्पिन सेन्सेसन सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै कुवेतलाई सस्तैमा समेट्ने क्रममा ४ ओभरमा केबल २१ रन दिएर ३ विकेट लिएका थिए ।

योसँगै २०१९ मा सन्दीपले खेलेका ८ टी–२०आईमा १६ विकेट लिन सफल भएका छन् । यो २०१९ मा कुनैपनि बलरले लिएको दोस्रो सर्वाधिक विकेट हो ।

११ खेलमा १८ विकेट लिएका कतारका इकबाल हुसेन शीर्षस्थानमा छन् । सिंगापुरविरुद्धको खेलमा २ वा बढी विकेट लिएमा सन्दीप एक नम्बरमा उक्लिने छन् ।