Swornakshar Logo

मलेसियाविरुद्ध नेपालको पहिलो सानदार जित, ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

८ साउन । काठमाडौं । सिंगापुरमा जारी टी–२० विश्वकप २०२० को एसिया छनोटमा नेपालले खराब सुरुवात गरेपनि पछिको खेलमा फर्किएको छ ।

वर्षाले प्रभावित भएर ९ ओभरमा घटाइएको खेलमा नेपालले ७ विकेटको शानदार जित हात पार्यो । यो जितले नेपाललाई अत्यावश्यक २ अंकमात्र दिएन, नेट रनरेटमा पनि उल्लेख्य सुधार भयो ।

चोटका कारण खेल गुमाएका कप्तान पारस खड्काको स्थानमा कप्तानी सम्हालेका उपकप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ५१ रनको कीर्तिमानी इनिङ खेलेपछि नेपालको सम्भावना बढेको
हो ।

मलेसियाविरुद्धको जितका अलावा वर्षाले रद्द भएको सिंगापुर र कुवेतबीचको खेलले पनि नेपाललाई ठूलो फाइदा भएको छ ।

प्रतियोगिताको आयोजकका रुपमा सिंगापुरले पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना देखाएको थियो । तर, मलेसिया र नेपालजस्ता बलिया प्रतिद्वन्दीको सामना गर्नुअघि उसले २ खेलमा ३ अंकमात्र जोडेपछि उसको सम्भावना कम भएको हो ।

शुक्रबार हुने मलेसिया र सिंगापुरबीचको खेलको नतिजाले नेपालको समीकरण थप स्पष्ट पार्ने छ ।

कुवेतविरुद्ध नेपालको खेल शनिबारमात्र भएकाले नेपाललाई रणनीतिक फाइदा पुगेको छ । शुक्रबार मलेसिया र सिंगापुरबीचको खेलको नतिजा आएपछि शनिबार कुवेतविरुद्ध खेल्दा नेपालले कायम राख्नुपर्ने नेट रनरेटको आंकलन भइसकेको हुनेछ ।

त्यसबाट खेलाडीलाई मैदान प्रवेश गर्नुअघि स्पष्ट भिजन प्रदान गर्छ । यद्यपि, पहिलो खेलमा कतारसँग अप्रत्यासित रुपमा हारेको नेपालको एकमात्र रणनीति सकेसम्म फराकिलो अन्तरले विजयी हुनु नै रहनेछ ।

मलेसियाविरुद्धको जितपछि अंकतालिकाको पुछारमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको सिंगापुरले २ खेलमा ३ अंक जोडेको छ भने २ खेलमा २ अंक जोडेको मलेसिया दोस्रो स्थानमा छ ।

नेपाल र कतारले पनि २ खेलमा २ अंक नै बनाएका छन् । तर नेट रनरेटका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालको मुख्य तगारो अझै पनि मलेसिया नै छ । मलेसियाको नतिजामा नेपालको भविष्य निहीत छ । नेपालले आफ्ना बाँकी खेल जितेको खण्डमा नेपालको ४ खेलमा ६ अंक हुन्छ । त्यस्तो अवस्थामा नेपालको ग्लोबल छनोटमा पुग्ने दुईवटा सिनारियो छन् ।

सिनारियो– १ मलेसियालाई सिंगापुरले पराजित गरेमा

मलेसियालाई सिंगापुरले पराजित गरेमा सिंगापुरले ४ खेलबाट बढीमा ५ अंक जोड्ने छ भने मलेसियाको ४ अंकमात्र हुने छ । नेपालको ४ खेलमा ६ अंक हुनाले स्पष्ट अग्रताका साथ शीर्षस्थानमा रहँदै नेपाल युएईमा हुने ग्लोबल छनोटमा सहभागी हुने छ ।

सिनारियो– २ मलेसियाले सिंगापुरलाई पराजित गरेमा

मलेसियाले सिंगापुरलाई पराजित गर्यो भने मलेसिया र नेपाल दुवैको ४ खेलमा ६ अंक हुने छ । अर्थात नेपालले नेट रनरेटका आधारमा क्वालीफाई हुनुपर्ने छ । २ खेल सकिँदा मलेसियाको नेट रनरेट ंंं१.०९१ छ भने नेपालको ं०.१२३ मात्र छ । बाँकी २ खेलमा मलेसियाले झिनो अन्तरले जित्नु पर्नेछ भने नेपालले विशाल जित हात पार्नु पर्ने छ ।

तर, कतारविरुद्धको खेलमा घाइते भएका कप्तान पारस खड्काले प्रतियोगिताका बाँकी खेल खेल्ने अनिश्चित नै रहेकाले नेपालको बाँकी यात्रा झन कठीन हुँदै गइरहेको छ ।

उपकप्तान ज्ञानेन्द्र मल्लले मलेसियाविरुद्ध जस्तो आक्रामक इनिङलाई बाँकी खेलमा पनि जारी राखेको खण्डमा भने यो समीकरण असम्भव छैन ।

नेपालको अर्को तगारो कतार पनि बन्न सक्छ । रनरेटमा धेरै पछाडि भएपनि नेपाललाई हराएपछि उसको मनोबल एकदम उच्च भएको छ । सोही मनोबलका आधारमा उसले आफ्ना बाँकी खेल जितेमा ४ खेलमा ६ अंक जोड्दै नेपाललाई कठिन चुनौती दिन सक्छ ।

उसको एक खेल मलेसियासँग पनि बाँकी छ । यदि त्यो खेल कतारले जितेमा नेपालको प्रतिस्पर्धा मलेसियासँग नभएर कतारसँग हुने छ ।

कतारसँग पराजित भएपनि नेपालको रनरेट प्लसमा छ भने कतारको अझै माइनसमा छ । जसकारण कतारले नेपाललाई अंकमा चुनौती दिएपनि अप्रत्यासित रुपमा विशाल जित हात नपारेको खण्डमा नेट रनरेटका आधारमा नेपाल नै शीर्षस्थानमा रहँदै ग्लोबल छनोट खेल्ने छ ।