कतारसँगको हारपछि नेपालको विश्वकपमा पुग्ने सम्भावना

७ साउन । काठमाडौं । नेपालले टी–२० विश्वकपको एसियाली छनोटको सुरुवात हारबाट गरेको छ । नेपालसहित मलेसिया, सिंगापुर, कतार र कुवेत सहभागी यस छनोटबाट शीर्षस्थानमा रहने एउटा टिम ग्लोबल छनोटमा जान्छ । यस्तो अवस्थामा हरेक खेल जित्नु आवश्यक हुन्छ ।
ब्याटिङ नचलेपछि जति कसिलो बलिङ गरेपनि नेपालले हार टार्न सकेन । नेपाल यो प्रतियोगिताको प्रबल दाबेदार थियो । तर कतारविरुद्धको पराजयसँगै सबै देशका लागि सम्भावनाको ढोका खुलेको छ ।
नेपालको मुख्य चुनौती मलेसिया थियो । उसलाई हराएमा नेपाल स्वतः छनोट हुने थियो । अन्य देश हरेक क्षेत्रमा तुलनात्मक रुपमा कमजोर थिए । तर, अहिले नेपालकै सम्भावना सबैभन्दा कमजोर बनेको छ ।
आयोजक सिंगापुरले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेल कुवेतसँग सामना गर्दै छ । मलेसियाले कुवेतलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
दुई खेल खेलेको कतारले १ जित र १ हारको नतिजा आत्मसात गरेको छ । नेपाल र कुवेत भने आफ्नो पहिलो खेलमा पराजित भएका छन् । अंकतालिकामा मलेसिया शीर्षस्थानमा छ भने सिंगापुर दोस्रो स्थानमा छ । जितसँगै कतार तेस्रो स्थानमा उक्लिएको छ भने कुवेत र नेपाल पुछारमा छन् ।
युएईमा हुने ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्न नेपालले आफ्ना बाँकी सबै खेल जितेरमात्र हुँदैन, अरु टिमको नतिजामा पनि भर पर्नुपर्छ । नेपालले बाँकी सबै खेल जित्दा अन्य टिमले आफ्ना ४ मध्ये २ खेल हारेमा नेपाल सहजै ग्लोबल छनोट पुग्छ ।
तर, नेपाल प्रतियोगिताको तुलनात्मक रुपमा कमजोर टिमसँग पराजित भएपछि रनरेटको आधारमा छनोट हुने सम्भावनालाई नियालौं ।
नेपालका लागि सबैभन्दा महत्वपूर्ण खेल मलेसियाविरुद्धको हुनेछ । नेपालपछि मलेसिया यस्तो टिम हो जसले बाँकी टिमलाई फराकिलो अन्तरले हराउने क्षमता राख्छ ।
त्यसको उदाहरण पहिलो दिन भएको कुवेतविरुद्धको खेलमा देखिसकिएको छ । आइसीसी वरियताको ३५ नम्बरमा भएरपनि २८ नम्बरको कुवेतमाथि प्रभावशाली जित हात पारेको थियो मलेसियाले ।
भोलि हुने आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गरेमा नेपाल ‘सेफसाइड’ मा आउनेछ ।
कुवेतलाई ४२ रनले पराजित गर्दै मलेसियाले ंंंंं२.१० को नेट रनरेट बनाएको छ । कतारसँग पराजित भएको नेपालको –०.३१४ नेट रनरेट छ । नेपालले मलेसियालाई ५०–६० रन वा ७–८ विकेटको अन्तरले १६ ओभर अगावै पराजित गरेमा नेपालको रनरेट मलेसियाकोभन्दा बढी हुन जान्छ ।
भर्खरै मलेसियालाई उसकै घरमा दुई टी–२० खेलमा पराजित गरेको नेपालका लागि त्यही आत्मविश्वास आवश्यक नतिजा आत्मसात गर्न सबैभन्दा ठूलो हतियार हुनेछ ।
मलेसियापछि सिंगापुर नेपालको अर्को चुनौती हो । घरेलु मैदानको फाइदा पनि छ, सिंगापुरलाई । सिंगापुरलाई पनि नेपालले फराकिलो अन्तरले पराजित गर्नुपर्छ भने मलेसिया र सिंगापुरविरुद्धको खेल जसले जितेपनि एकदमै न्युन अन्तरले जित्नु नेपालका लागि फाइदाजनक हुन्छ ।
नेपाल र सिंगापुर प्रतियोगिताको अन्तिम खेलमा भिड्नेछन् । त्यो खेल ग्लोबल छनोटको निर्णायक खेल हुने सम्भावना धेरै छ ।
पहिलो खेलमा पराजित भएको कतारले कुवेतलाई पराजित गरेपनि मलेसियालाई पराजित गर्न गाह्रो छ । तसर्थ, कतारले ४ खेलमा २ जितमात्र निकाल्ने सम्भावना छ ।
त्यस्तो हुँदा नेपाल र सिंगापुरको खेल अगावै कतार ग्लोबल छनोटमा पुग्ने समिकरणबाट बाहिरिन्छ । तर, कतारले आफ्ना सबै बाँकी खेलमा जित निकालेमा नेपाल समस्यामा पर्छ । नेपालका लागि मलेसिया र कतारबीचको खेल निकै महत्वपूर्ण हुन्छ । मलेसियाले सो खेल झिनो अन्तरले जित्नु फाइदाजनक हुन्छ ।
तर, पछिल्लो समय कुवेत फर्ममा छ । जनवरी २०१९ मा टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएयता उसले ८ खेलमा ३ जित र ३ हार निकालेको छ भने कतारविरुद्धका २ खेल बराबरी भएको थिए । यद्यपि, दुवै खेलमा कुवेत सुपर ओभरमा पराजित भएको थियो ।
नेपालको अप्रत्यासित हार प्रतियोगिताका सबै टिमलाई ‘वाइल्ड कार्ड’ अवसर बनेको छ । समग्रमा, नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्नुपर्ने छ ।
बाँकी सबै देशले आफ्ना दुईवटा खेल नहारेमा दोस्रो हुने सम्भावना बोकेका सिंगापुर र मलेसियाले आफ्ना खेल झिनो अन्तरले जित्दै नेपालभन्दा कम नेट रनरेट बनाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्: