Swornakshar Logo

शैक्षिक सुधारका लागि कडा नीति, शिक्षक निसानामा

१ साउन । काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयमा लापरबाहीका कारण शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै कडा नीति अवलम्बन गर्ने भएको छ ।

शिक्षकको तलब, सुविधा र मसलन्द खर्चमा जाने रकमको उपलब्धि भने निकै कम भएपछि नगरपालिकाले शिक्षा सुधारमा कडा नीति अवलम्बन गरेको हो । नयाँ नीतिमा शिक्षकलाई प्रमुख निसाना बनाइएको छ ।

बिहान–बेलुका निजी विद्यालयमा पढाउने र सामुदायिक विद्यालयलाई आराम गर्ने थलो बनाइएकाले शैक्षित सुधारका लागि नयाँ नीति ल्याइएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले जानाकारी दिए ।

‘हामी निर्वाचित भएपछि संविधानत जिम्मेवारीअनुसार १२ कक्षासम्म हामीले हेर्ने हो । त्यहीअनुसार हामीले आउनासाथ कक्षा ८ को बोर्ड परीक्षा हामीले गर्‍यौं,’ उनले भने, ‘कक्षा ८ को नतिजा हेरेपछि सिकाइको स्तर थाहा पाएपछि हामीले शैक्षिक गुणस्तरको सुधार योजना ल्याएका हौं ।’

सैनामैनाका–१८ सामुदायिक विद्यालयमा मात्रै सरकारको वार्षिक १७ करोड लगानी छ । ससर्त रकमबाहेक पूर्वाधार विकासको बजेटको १९ प्रतिशत रकम शिक्षाको गुणस्तर र पूर्वाधार विकासमा नगरपालिकाले छुट्याएको छ ।

विद्यालयको शैक्षिक स्तर मापनकै लागि सैनामैना नगरपालिकाले कक्षा ८ को परीक्षा आफैं लिएको थियो । नगरपालिकाले विद्यालयमा राजनीति गर्ने र पढाउन अल्छी गर्ने शिक्षकलाई लक्षित गरी दैनिक पाठयोजना र वार्षिक कार्ययोजना बनाएर मात्रै कक्षाकोठामा प्रवेश गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले १८ वटा विद्यालयलाई १ सय ३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको छ । प्रत्येक शिक्षकले कम्तीमा ३ पिरियड प्रोजेक्टर प्रयोग गरेर पढाउनुपर्नेछ ।

नगरपालिकाले यसै शैक्षिक सत्र ‘फाइभ इन वान’ प्राजेक्टर १४ विद्यालयका लागि खरिद गर्दै छ । ती प्रोजेक्टरले स्मार्ट बोर्ड, प्रोजेक्टर, ब्लुतुथ, इन्टरनेट र स्पिकरसमेतको काम गर्नेछ ।

प्रोजेक्टरबाट पढाउन सुरु गरेका विद्यालयमा सिकाइ उपलब्धि दर बढ्दै गएको शिक्षकहरु बताउँछन् ।

‘विद्यार्थीहरुलाई चित्र देखाएर पढाउँदा अझ बढी सहज भएको हामीले पायौं,’ रामापुर माविका प्रध्यानाध्यापक कृष्णप्रसाद पौडेलले भने ।

प्रोजेक्टरबाट कक्षा सुरु भएपछि विद्यार्थी पनि उत्साहित छन् । किताबको पाठ पढ्नुभन्दा भिडियो नै देख्दा छिट्टै बुझिने विद्यार्थीहरु बताउँछन् ।

नगरपालिकाले शिक्षकलाई कडाइ गरेपछि कतिपय शिक्षक र विद्यालय नै विरोधमा उत्रिएका छन् । प्राथमिक तहको दरबन्दी र कम शैक्षिक योग्यता भएका प्रधानाध्यापक परिवर्तन गर्ने योजना पनि नगरपालिकाको छ ।

गत शैक्षिक सत्रमा नगरपालिकाले ६ वटा विद्यालयलाई मर्ज गरेको छ भने चार विद्यालयको तह घटाएको छ । नगरपालिकाले प्रविधिमैत्री अध्यापन थालेपछि सैनामैनाका शिक्षक कम्प्युटर सिक्न जुटेका छन् । नगरपालिकाले शैक्षिक सुधारका लागि शिक्षकलाई पाँच पिरियड मात्रै पढाए पुग्ने नीति बनाएको छ ।

त्यस्तै, नगरपालिकाले यसै शैक्षिक सत्रमा तीन महिने शिक्षकलाई आईसीटी तालिम सञ्चालन गर्ने बताएको छ । यो तालिमका लागि नगरपालिकाले ५० लाख रुपैया खर्च गर्दै छ ।

नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका आधारभूत र माध्यमिक तहका स्थायी, अस्थायी र करार शिक्षक तथा बालशिक्षिकालाई पूर्णतया आईसीटीको तालिम सञ्चालन गर्न लागेको नगर प्रमुख कार्कीले जानाकारी दिए ।

यो तालिम दिएपछि पाठयोजनाको तयारी, आवश्यक शैक्षिक सामग्रीको तयारी र प्रिजेन्टेन्सको तयारीबारे शिक्षकहरुले सिक्नेछन् । नगरपालिकाले यसै शैक्षिक सत्रदेखि सम्पूर्ण विद्यालयमा सेनेटरी प्याट प्रदान गर्ने बताएको छ ।

त्यस्तै, यो वर्षभित्र सैनामैनाका विद्यालयमा जंक फुड निषेध गर्ने योजना पनि नगरपालिकाले अगाडि सारेको छ । यो योजनालाई सफल पार्न नगरपालिकाले टिफिन बक्स वितरणसमेत सुरु गर्दै छ ।