Swornakshar Logo

कप्तान पारस खड्काको अर्धशतक, नेपालद्वारा मलेसिया सात विकेटले पराजित

२८ असार । काठमाडौँ । नेपालले मलेसियालाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ ।

मलेसियाले नेपालसामु जीतका लागि १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ८६ रन बनाए । यसैगरी उनले ५ छक्का र आठ चौका बनाए ।

शरद भेष्वाकर १६ रन बनाएर नट आउट रहे ।

आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसिया भ्रमणमा रहेको छ ।

यसअघि, किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।

मलेसियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा ७ चौका र १ छक्का बनाए ।

त्यस्तै, कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का बनाए ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए ।

त्यसैगरी, सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिताको तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आप्mनो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स युएई मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी रहेका छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया रहेका छन् ।