Swornakshar Logo

विश्वकपको फाइनलमा न्युजिल्याण्ड

२५ असार । एजेन्सी । भारतलाई हराउँदै न्युजिल्याण्ड आइसीसी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाईनलमा पुगेको छ । जीतका लागि २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनायो ।

६ विकेट गुमाएर ९२ रनको खराब अवस्थाबाट महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे पनि जीत दिलाउन सकेनन् । जेडेजाले ब्याटिङ गर्दै ५९ बलमा ७७ रन बनाए । यस क्रममा उनले ४ चौका र ४ छक्का हाने । त्यस्तै, धोनीले ७२ बलमा ५० रन बनाए । उनले १ चौका र १ छक्का हाने ।

रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए । भारतको सुरुवात निकै खराब भएको थियो । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन बनाएर आउट भए । ३० ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियमसनले ६७ रन बनाए । टेलरले ९० बलमा ३ चौका र १ छक्का बनाए भने विलियमसनले ६ चौका बनाए । त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र युज्वेन्द्र चाहालले एक–एक विकेट लिए ।