Bagmati Samachar Logo

हेटौंडाको धान दिवसमा प्रदेश सांसद देखि स्थानीय सम्म

रोपाईमा हिलो खेल्दै प्रदेश सभाका सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवापनुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा ।


१५ असार । हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा प्रदेश सांसदको सहभागीतामा धान दिवस मनाइएको छ । मकवानपुरका सांसद देखि स्थानीय महिला, पुरुषहरु समेत हिलो खेल्दै धान दिवस मनाएका हुन् । हर्नामाडी फाँटमा उपमहानगरपालिका कार्यालयको अयोजनामा गरिएको धान रोपाई कार्यक्रममा सबैले हिलो खेल्दै धान रोप्दै यो दिवस मनाएका हुन् ।

हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँको अध्यक्षता तथा प्रदेश सभाका सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवापनुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहनागरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतका उपमहानगरपालिकाका कर्मचारी, स्थानीय राजनीतिक दल, नागरिक समाज लगायतकाको सहभागितामा धान दिवस मनाइएको हो ।

धान रोपाईमा सांसद सिग्देल सहितका जनप्रतिनिधिहरुले हिलो खेल्दे धान रोप्दैको दृश्य हेर्नेहरुको पनि निकै भिड लागेको थियो । असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै असार १५ मनाइन्छ । सरकारको आह्वानमा आज धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ विभिन्न ठाउँमा रोपाइँको कार्यक्रम पनि हुँदैछ ।

सरकारले तामझामका साथ कार्यक्रम गरे पनि पर्याप्त मनसुनी वर्षा नहुँदा असार १५ को महत्वपूर्ण दिन किसानका लागि खल्लो भएको छ ।यस वर्ष धानको उत्पादन घट्ने आँकलन गरिएको छ । गएको वर्षको तुलनामा यस वर्ष १० दिन मनसुन ढिला हुँदा धानको उत्पादन घट्ने आँकलन गरिएको हो ।

यस वर्ष जुन १० देखि सुरु हुनुपर्ने मनसुन जुन २० देखि मात्र सुरु भएको छ । १० दिन ढिलो गरी सुरु भएको मनसुन पनि सक्रिय नहुँदा पर्याप्त मात्रामा पानी परेको छैन । यो वर्ष प्रदेश १, २, ३ र ५ मा औषत भन्दा कम पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । गएको वर्ष उपयुक्त वर्षा भएका कारण ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो ।

पर्याप्त बर्षा हुन नसक्दा मकवानपुरको रोपाई प्रभावित भएको छ । आकाशे पानीको भरमा खेति गनुपर्ने भएकाले रोपाई हुन नसकेको हो ।
असार १५ भईसक्दा पनि मकवानपुरका अधिकांश खेत बाँझै छन् । मकवानपुरको खेति हुने कुल ११ हजार हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म ११ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको ३ नम्बर प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा उन्नत जातको बीउविजन भित्रिएसँगै धान उत्पादन बढ्दै गएको थियो । वरिष्ठ धान विज्ञ भोलामान सिंह भन्नुहुन्छ ‘मौसमी गतिविधिले साथ नदिँदा यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने संकेत देखिएको छ । १० दिन ढिलो गरी मनसुन भित्रँदैमा धान उत्पादन घट्छ भन्ने होइन तर मनसुनी वर्षा कस्तो हुन्छ भन्ने कुराले भने प्रभाव पार्छ ।’

उहाँले भन्नुभयो ‘रोपाइँ ढिला हुँदा धान पोटिलो हुँदैन । फोस्रा धानको तौल कम हुन्छ। तसर्थ धानको उत्पादनमा कमी आउँनेछ ।’ नेपालमा पछिल्लो समय विकासे धान रोप्ने प्रचलनले पनि धान उत्पादन चाहिँ बढ्दै गइरहेको छ ।सरकारले कृषिको विकासका लागि विभिन्न परियोजना ल्याएसँगै धान उत्पादन पनि बढ्न गएको हो ।

संसारमा करिब १ लाख ४० हजार प्रकारका धानको जात रहेको अनुमान अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र ९इरी०को छ । यसमध्ये १ लाख १७ हजार प्रकारका जातहरु आफ्नो जीन बैंकमा सङ्कलन गरेको इरीले जनाएको छ । नेपालका अधिकांश भूभागमा सिंचाइँको राम्रो व्यवस्था छैन । अहिले पनि धेरैजसो भूभागका खेती आकासे पानीमा नै निर्भर छन् । अधिकांश क्षेत्रमा रोपाइँ गर्नका लागि मनसुनी वर्षाकै भर पर्नुपर्ने बाध्यता छ ।

यो वर्ष असार १५ सम्ममा आइपुग्दा मध्यपहाडी क्षेत्रका केही ठाउँमा रोपाइँ भए पनि धेरै क्षेत्रमा रोपाइँ हुन सकेको छैन । नेपालमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये ७ प्रतिशत धानले ओगटेको छ । धान उत्पादनको कमीले नेपालको अर्थतन्त्रमा समेत असर पर्ने विज्ञहरूको भनाइ छ ।