Swornakshar Logo

विप्लवको फौजी रणनीतिः नेताको जिम्मेवारी फेरियो, ब्युरो घटाइयो

२८ जेठ । काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता एवं पदाधिकारीको सांगठनिक जिम्मेवारी हेरफेर गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले नेता एवं पदाधिकारीको जिम्मेवारी फेरबदल गरेको हो ।

पार्टी भूमिगत भएकाले सुरक्षाका लागि नेता कार्यकर्ताको छिटोछिटो जिम्मेवारी फेर्ने नीति लिएको नेकपाले अहिले चार कमान्ड र ११ ब्युरोमा विभाजन गरेर सांगठनिक, राजनीतिक एवं फौजी गतिविधि गरिरहेको छ । १२ जेठमा राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको ज्यान गएपछि विप्लवले ब्युरो र केही कमान्डको नेतृत्वमा फेरबदल गरेका हुन् ।

कस्तो छ नयाँ सांगठनिक संरचना ?

नेकपाको सांगठनिक ढाँचामा स्थायी समिति सबैभन्दा माथिल्लो निकाय हो । जसमा पाँच सदस्य छन् । जसमध्ये रुकुमका हेमन्त प्रकाश ओलीलाई प्रहरीले पक्राउ गर्यो । उनी अहिले नख्खु जेलमा छन् । बाँकी चार सदस्यले अहिले पार्टीको नेतृत्व गरिरहेका छन् ।

चार स्थायी कमिटी सदस्यमध्ये रोल्पाका नेत्रविक्रम चन्द ९विप्लव० पार्टी महासचिव हुन् । त्यस्तै, रोल्पाकै सन्तोष बुढा मगर, कालिकोटका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र सुर्खेतका धर्मेन्द्र बास्तोला कञ्चन पार्टी स्थायी कमिटी सदस्य हुन् । प्रकाण्डलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

नेतैपिच्छेको जिम्मेवारी

महासचिव विप्लवले सिंगो पार्टीको नेतृत्व गरिरहेका छन् । त्यस्तै, उनी सैन्य विभाग प्रमुख पनि हुन् । सैन्य विभागमा ९ सदस्य छन् । त्यहीं विभागले देशभर सैन्य, राजनीतिक र सांगठनिक गतिविधिका लागि निर्देशन दिन्छ ।

प्रवक्ता प्रकाण्ड दोस्रो वरीयताका नेता हुन् । उनी मध्यकमान्डको इन्चार्ज छन् । उनले पार्टी प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिरहेका छन् ।

हेमन्त प्रकाश वली अहिले ललितपुरको नख्खु जेलमा छन् । उनी पक्राउ पर्दा मध्यकमान्डको इन्चार्ज थिए ।

सन्तोष बुढा मगरले पूर्वी कमान्डको नेतृत्व गरिरहेका छन् । यसअघि उनले पश्चिम कमान्डको नेतृत्व गरेका थिए ।

धमेन्द्र बास्तोला कञ्चनलाई सुदूरपश्चिम कमान्डको नेतृत्व दिइएको छ । यसअघि पनि उनी सदूरपश्चिम कमान्डकै नेतृत्वमा थिए । उनले विदेश विभागको जिम्मेवारीसमेत सम्हालेका छन् । तत्कालीन माओवादीले सञ्चालन गरेको द्वन्द्वका बेला पनि कञ्चनले विदेश विभाग नै सम्हालेका थिए ।

पश्चिम कमान्डको नेतृत्व वीरजंगलाई दिइएको छ । उनी नेकपाको पोलिट ब्युरो सदस्यसमेत हुन् । अरु कमान्डको इन्चार्ज स्थायी समिति सदस्य भए पनि पश्चिम कमान्डको नेतृत्व भने पोलिट ब्युरोलाई दिइएको हो । वीरजंग विप्लवका दाइ हुन् ।

ब्युरोको संरचना र इन्चार्ज

विप्लव नेतृत्वको नेकपामा पहिला १४ वटा ब्युरो थिए । अहिले घटाएर ११ वटा ब्युरो बनाइएको छ ।

१. कोसी–मेची ब्युरोको इन्चार्ज ‘शिलु’ छन् । उनी राजनीतिक र सैन्य क्षेत्रमा कुशल मानिन्छन् ।

२. सगरमाथा ब्युरोको इन्चार्जमा ‘दिपेश’ छन् । उनी पहिलादेखि नै यही ब्युरोमा रहेर काम गरिरहेका छन् ।

३. जनकपुर ब्युरोको इन्चार्ज ‘सन्देश’ छन् । उनी पहिला पनि सैन्य क्षेत्रमा काम गरेका युवा हुन् ।

४. पूर्वी ताम्सालिङ ब्युरोको इन्चार्जमा ‘आधार’ छन् । उनी सांस्कृतिक फाँटका हुन् ।

५. नारायणी प्लस चितवन ब्युरोको इन्चार्जमा ‘मिलन’ छन् । उनले पहिला पनि सैन्य विभागमा काम गरेका थिए । अध्ययन अनुसन्धानमा रुचि राख्ने उनी रोल्पाका हुन् । यो ब्युरोलाई अहिले दुई ब्युरो मिलाएर बनाइएको छ ।

६. उपत्यका पश्चिम ताम्सालिङ नयाँ ब्युरो हो । यो ब्युरो दुई ब्युरो मिलाएर बनाइएको हो । पहिला उपत्यका ब्युरो र पश्चिम ताम्सालिङ ब्युरो थियो । यसको इन्चार्जमा प्रज्वलन छन् ।

७. गण्डक ब्युरोको इन्चार्ज ‘आस्था’ हुन् । उनी बेपत्ता पारिएका परिवारकी हुन् ।

८. धौलागिरी ब्युरोको इन्चार्जमा ‘ध्रुव’ छन् । उनी पुराना नेता हुन् ।

९. पुराना दुई ब्युरो मिलाएर बनाएको भेरी कर्णाली ब्युरो बनाइएको छ । पहिला भेरी र कर्णाली अलग–अलग ब्युरो थिए ।

१०. राप्ती ब्युरो इन्चार्जमा सुवास पाठक छन् ।

११. सेती महाकाली ब्युरो पनि दुई ब्युरो जोडेर बनाएको छ । पहिला सेती र महाकाली अलग–अलग ब्युरो थिए र यो ब्युरोको नेतृत्व ओम पुनले गरिरहेका छन् ।

त्यस्तै, प्रकाशन विभागको जिम्मा अनिल शर्मा विरहीलाई दिइएको छ । यसअघि उनी पूर्वी कमान्डको इन्चार्ज थिए ।

कार्यालय सचिवको जिम्मेवारीमा भेषराज भुसाल छन् । गुणराज लोहनीले भने आन्तरिक कामको जिम्मेवारी पाएका छन् ।

काठमाडौंको इन्चार्जमा ‘नवीन’ चयन भएका छन् । सेक्रेटरीमा भृकुटी छन् ।