Swornakshar Logo

भट्टराई लोकतन्त्रवादी हुन् भन्ने अनुभूति भएन

विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा उदाएका एक सशक्त नेता हुन्, देवेन्द्र पराजुली । उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा समेत सहभागी भए । यसपछि पराजुली नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य बने । उनी अहिले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टी नेपालमा छन् । तर, पार्टी एकताप्रति उनले असन्तुष्टि जनाइरहेका छन् । पराजुलीकै नेतृत्वमा बुधबार ललितपुरमा पार्टी एकताप्रति असन्तुष्ट नेता–कार्यकर्ताको भेला भयो । यही सेरोफेरोमा देवेन्द्र पराजुलीसँग गरेको कुराकानी ।

नयाँ शक्ति र समाजवादी फोरमबीचको एकताप्रति असन्तुष्टि जनाउनुभयो नि ?

पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको थियो । हामी ३ घण्टादेखि कुरेर बस्यौं । नयाँ शक्ति र संघीय समाजवादीबीच एकता हुने भनियो । तर, दुई–चार जना बसेर एकताको सहमतिमा हस्ताक्षर भयो भनेर मिडियाबाटै थाहा पायौं । बैठक सुरु हुन्छ, छलफल हुन्छ भनेर हामी नेता–कार्यकर्ता कुरेर बस्ने, उता नेतृत्वले यस्तो व्यवहार गर्ने ? अति भएपछि मैले सामाजिक सञ्जालबाटै असन्तुष्टि जनाएँ । राजनीतिक रूपमा दूरगागी असर गर्ने कुरा हो, पार्टी एकता । राजनीतिक कार्यदिशा मिलेकाहरू एक हुनु राम्रो हो । सामान्य नीतिगत निर्णय भनेको विचार मिल्नेसँग एकता हुन सक्छ ।

एकता नै गर्ने समयमा फरक अवस्था हुन्छ । एकता नै गर्दा सबैको जिम्मेवारी हुन्छ । एकतामा जाँदा ‘गिभ एन्ड टेक’ हुन्छ । कसले कहाँ बसेर कुन भूमिका निर्वाह गर्ने रु विचार के हो रु तर, यी विषयमा छलफल नै नगर्ने अवस्था आयो । हाम्रो पार्टीमा पनि यही भयो । यसकारण, असन्तुष्टिभन्दा पनि बहस र छलफल हुनुपर्छ भन्ने हाम्रो धारणा हो । हाम्रो विचारलाई कसरी कार्यान्वयन गर्ने रु त्यहाँ गएपछि सजिलो के हो रु अप्ठ्यारा के हुन् भनेर छलफल हुनुपर्छ भन्ने हो ।

पार्टी संयोजक डा. बाबुराम भट्टराईले तपाईंहरूसँग छलफलै नगरी पार्टी एकताको निर्णय गर्नुको कारण के त ?

पार्टी एकता हुनुपर्छ भन्नेमा आपत्ति होइन । तर, कुन विचार र दस्तावेजका आधारमा एकता भएको भन्ने अझै थाहा छैन । हामीले मात्र होइन, धेरै मानिसले पढ्न र बुझ्न पाएका छैनन् । केका आधारमा एकता भयो भन्ने सबैले थाहा पाउनुपर्छ भन्ने हो ।

पार्टी एकताप्रति असन्तुष्टि जनाउनेहरूको भेला नै गर्नुभयो । निरन्तर छलफल गर्दै हुनुहुन्छ । के निष्कर्ष निकाल्नुभयो ?

नयाँ शक्तिका संस्थापक धेरै छौं । नेपाली राजनीतिमा समृद्धिमुखी र सहभागितामूलक राजनीति हुनुपर्छ । राजनीति पेसा होइन, समाज सेवा गरौं भनेर लागेका हौं । यो भनेको राजनीतिको परिभाषा बदलौं भनेका थियौं । तर, यहाँ यी सबै कुरा छोडेर संयोजकले निर्वाचनको समयमा कम्युनिस्टसँग मुठ्ठी उठाएर आउनुभयो । हामी यता नयाँ राजनीतिक संस्कार बनाउने भन्दै लागेका छौं । तर, उहाँले त कम्युनिस्ट केन्द्र बनाउने भनेर सहमतिमा हस्ताक्षर गरेर आउनुभयो । हामीले यसबारे कुरा उठायौं । हामी त कम्युनिस्ट होइन भन्यौं । उहाँले पछि समाजवादी बनाउने भन्नुभयो । अहिले हस्ताक्षर नगरेको भए गाडी छुट्थ्यो भन्नुभयो । हामीले भन्यौं, ‘झुन्डियौं भने दुर्घटना हुन्छ ।’

आखिरमा दुर्घटना नै भयो । अहिले पनि बहस र छलफल भएन । यहाँ आन्तरिक लोकतन्त्र त हुँदै भएन । यदि दुई–चार जनाले मात्र निर्णय गर्ने हो भने कमिटी किन चाहियो रु ५ ‘स’लाई कार्यान्वयन गर्ने हो भने ठीक छ एकता । मोर्चा जे हुन्छ, गरौं भनेका हौं । यहाँ त विचार कार्यान्वयनको प्रश्न छ । त्यो विचार लागू गर्न कसको भूमिका के हुने, त्यो हुनुपर्छ । छलफल हुनुपर्छ भन्ने हो । त्यसैले हामी संयक्त रुपमा बसेका हौं ।

भनेपछि भट्टराई अलोकतान्त्रिक भए ?

हो । लोकतन्त्रका कुरा गर्ने तर व्यवहारमा नउतार्ने समस्या देखियो ।

भट्टराईले पार्टीको नाम नयाँ शक्ति राखे । प्रवृत्ति हिजोको माओवादीकै जस्तो भयो भन्न खोज्नुभएको हो ?

हो, त्यो पनि हो । हामीले त उन्नत लोकतन्त्र भनेका हौं । उन्नत लोकतन्त्रमा त फराकिलो सहभागिता हुनुपर्छ । सकेसम्म हामीले सहभागितामूलक बनाउने हो पार्टी । अरुको भन्दा उन्नत लोकतन्त्रको कुरा गरेका हौं । यो सम्भव भएसम्म सहभागिता बनाउने भनेका हौं । तर, यो त हिजोको जस्तै भयो ।

बाबुरामले पार्टी सञ्चालन गर्न नसकेर उपेन्द्र यादवलाई बुझाएको आरोप पनि छ । तपाईंलाई के लाग्छ ?

यो समयले बताउला । अहिले म केही भन्दिनँ । तर, पार्टी एउटाले चलाउने होइन । सामूहिक रुपमा चलाउने हो । नेतृत्वको हिसाबले उहाँ बढी जिम्मेवार हुनुहोला । यद्यपि, पार्टी नै बुझाएजस्तो चाहिँ लाग्दैन ।

त्यसका लागि त तपाईंहरूको भूमिका पनि त महत्त्वपूर्ण नै हुन्थ्यो होला नि ?

पार्टीभित्रको आन्तरिक लोकतन्त्र मर्न दिनुहुन्न भन्ने हो । यसका लागि बहस र छलफल गर्ने हो । निर्णय प्रक्रियामा सहभागिताको सुनिश्चितता गर्ने संघर्ष हुन्छ । नेपाली राजनीतिमा ल्याएको नयाँ विचार मर्न दिनेछैनौं । सांगठनिक रुपमा जिम्मेवारी लिएर काम गर्छौं ।

पार्टी एकता घोषणा सभामा जानुभयो कि भएन ?

म गइनँ ।

किन जानुभएन ?

जानुपर्ने आवश्यकता महसुस गरिनँ । कैयौं विषयको त हामीलाई जानकारी नै भएन । कारण हो, जसरी लोकतान्त्रिक तरिकाले निष्कर्षमा पुगिएन । केवल औपचारिकता मात्र निभाइयो । कैयौं कुरा थाहा नै भएन । निर्णय प्रक्रियामा जान नपाएपछि ताली बजाउन किन जाने भनेर नगएको हुँ ।

तपाईंको नाम केन्द्रीय सदस्यमा छ । शपथ खान पनि जानुभएन नि ?

शपथ खान पनि गइनँ । त्यो दिन पनि छलफलमै थियौं । तर, संघर्ष यही गर्ने हो । आफ्ना कुरा यही राख्ने हो ।

भट्टराई राजनीतिक हिसाबमा स्खलित भएको आरोप लाग्ने गरेको छ नि ?

यसलाई फरक ढंगले पनि बुझ्न सकिन्छ । सामन्तवादी चिन्तनभन्दा फरक सोच हो भन्न सकिन्छ । पछाडि जन्मेकासँग पहिले जन्मेकाको भन्दा कम बुद्धि हुन्छ भन्ने होइन । विद्रोह गरेका हुन् भन्न सकिन्छ नि ।

समाजावादी पार्टीको भविष्य कस्तो देख्नुहुन्छ , देशभर फैलिन्छ कि मधेसमा मात्र सीमित होला ?

दुवै कुरा हुन सक्छ । यो खुम्चिँदै गएर सीमित ठाउँमा रहन पनि सक्छ । व्यापक रुपमा फैलिन पनि सक्छ । जनताको मागअनुसार चल्यौं भने फैलिन सक्छ । होइन भने यो खुम्चिएर सकिन्छ पनि । विचार कसरी अगाडि लैजान्छौं ? नेता कार्यकर्ताहरूको चित्त बुझ्यो कि बुझेन ? जनताको पक्षमा कति काम गरियो भन्ने हो । पार्टीको भाग्य र भविष्य यिनै कुरामा निहित हुन्छ ।

समाजवादी पार्टीमा नयाँ शक्ति पार्टीको विचार सिद्धान्त कति लागू हुन्छन् भन्ने लागेको छ ?

मैले अहिलेसम्म केही हेर्न नै पाएको छैन । यसको संरचनाबारे केही थाहा पाएको छैन । भिजनसहित बनेको थियो, नयाँ शक्ति । तर, फोरम एजेन्डामा आधारित छ । एजेन्डामा संगठित पार्टीले सेटमा भएको पार्टीका सबै कुरा कसरी बुझ्छ ? यो चुनौती छ । उसले हामीले बोकेका विचार बुझ्छ कि बुझ्दैन ? ग्रहण गर्छ कि गर्दैन रु यहाँ धेरै चुनौती छन् । हामी फरक राजनीति धारा निर्माण गर्नुपर्छ भनेर हिँडेका थियौं ।

अब प्रदेश २ मा हाम्रो सरकार छ भन्ने हुन्छ । तर, महालेखाको प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्ने छ । यसको जिम्मा लिनुपर्ला । हाम्रो पार्टीको सरकार हो । यसमा अहिले नै केही भन्न सकिने अवस्था छैन ।

यो एकता दर्शन, विचार र राजनीतिक हिसाबले ठीक छ ?

हामीले भनेको नयाँ शक्तिमा नयाँपन भर्नुपर्ने अवस्था आएको थियो । विडम्बना पूर्ण छ, अवस्था । मिल्ने त यस्तै हो । त्यतातिर नजाऔं । मिल्नुपर्ने शक्ति हो । मिल्दा राम्रो हो । मिलेपछि कसरी जाने भन्ने मुख्य कुरा हो ।

हामीले त्यही विषयमा छलफल गर्न पाएनौं । तर, त्यो छलफल गर्न पाएको भए समस्यालाई अझ सहज रूपमा लिन सकिन्थ्यो । तर, हाम्रो नेतृत्वको बहस र छलफलमा ध्यान गएन ।

तपाईं र तपाईंकी श्रीमतीले ठूलो पद नपाएकाले असन्तुष्टि राखेको भन्ने छ नि ?

देवेन्द्र पराजुलीलगायतका मानिस धेरै अप्ठ्यारो परिस्थितिमा पनि बाबुरामको पक्षमा उभिएका मानिस हौं । नयाँ शक्ति र बाबुराम भट्टराईलाई सबैले लखेटेको समयमा सतिसाल भएर उभिएका मानिस हौं । हामी आफ्नो भूमिका खोज्छौं । कही कतै लोभ लालच र प्रलोभनमा नपरेका मानिस हौं । हामी प्रतिनिधित्व खोज्छौं । भक्तबहादुर शाह, देवेन्द्र पराजुली र सोनामसिंह स्याङ्तानले भूमिका खोज्छन् कि खोज्दैनन् ? हामीलाई पदलोलुप्ता भन्नेले पद छोड्नुपर्यो नि । समावेशिताको कुरा गर्ने व्यवहारमा नउतार्ने ,

अहिले त आफूले आफैंलाई माला लगाएका न हुन् । हिजो अप्ठ्यारोमा संघर्ष गरेका कार्यकर्ताले माला लगाइदिने वातावरण बनाउनुपर्थ्यो । मधेस–पहाडका नेता कार्यकर्तालाई नै हीनताबोध हुने गरी पार्टी एकता गर्नुको के अर्थ ?

यदि भट्टराई सुध्रिएनन् भने के गर्नुहुन्छ ?

यसको विकल्प त छँदै छ । तर, अहिले पनि हामी संघर्ष गरेर जानुपर्छ भन्ने सोचमै छौं ।

नयाँ पार्टीको सांगठनिक संरचनाप्रति तपाईंको धारणा के छ ?

तीनजना महासचिव किन चाहियो रु यस्तो देख्दा लोकलाई लाज हुने भयो । सानो र छिटोछरितो संगठन बनाउनुपर्ने हो । नौजना उपाध्यक्ष किन चाहियो ? पाँचजनाको कार्यसमिति राख्दा पनि हुन्थ्यो नि । अहिले धेरै सदस्य नराखेर दैनिक कार्यसम्पादन गर्न यति जना राखौं भन्नुपर्थ्यो । हाल २५ जनाको पदाधिकारी छन् । यो भन्दा सानो बनाउन सकिन्थ्यो । २५ जनामा पनि कलस्टर, भूगोल र समावेशी केही पनि छुट्याइएको छैन । यहाँ पनि हाम्रो चासो हो । कुरा ठूलो गर्ने तर व्यवहारमा पनि भएन ।

हामीले मधेसको मत जोगाएर बढाउने हो । पहाडमा हाम्रो मत बढाउने हो । यसका लागि नेताको जिम्मेवारी न्यायोचित हुनुपर्छ भन्ने हाम्रो कुरा हो । यसबाट बल पैदा हुन्छ । यस्तो भएन भने पहाडमा पनि जनमत नबढ्ने मधेसमा पनि घट्ने भयो भने के हुन्छ रु सानो ठाउँमा गएर थिग्रिन्छौं ।

भट्टराईले नयाँ शक्तिका ३५ जनाको नामसमेत कसैसँग सल्लाह नगरी घोषणा गरे । उनले त तपाईंहरूलाई प्रयोग मात्र गरेको देखिन्छ नि ?

उनको पहिलो प्रयोग फेल भयो । कर्मचारीलाई लिएर पार्टी संगठन चल्दो रहेनछ भन्ने कुरा फेल भइसक्यो । एक प्रयोग थियो, फेल भयो । गैरराजनीतिक मानिस ल्याउनु ठीक थिएन भन्ने समयले प्रस्ट पारिसकेको छ ।

भट्टराईले अहिले पनि आईएनजीओ र एनजीओका मानिसलाई बढी विश्वास गर्छन् । राजनीतिक पृष्ठभूमिबाट आएका मानिसलाई विश्वास गदैनन् नि ?

उनको यो विश्वास फेल खाइसक्यो । तर, अझै त्यही प्रवृत्ति दोहोर्याए ठीक हुँदैन । हरेक नेतृत्वको वरिपरि लाभ लिन जम्मा हुन्छन् । हामीले पनि सचेत हुनुपर्छ भनेका छौं । तपाईंको नाममा कसैले लाभ लिनुहुन्छ र तपाईं बदनाम हुनुहुन्छ भने ठीक होइन ।

तपाईंको अबको यात्रा कता हो ?

हामी यो पार्टीमा नै बस्छौं । यहाँ नै संघर्ष गर्छौं। समाजवादी पार्टीमा नै बस्छौं । हामीलाई गुट भने पनि दबाब समूह भने पनि भनून् । हामी यही बस्छौं ।

पार्टीमा तपाईंका कुरा सुनुवाइ भएन भने के हुन्छ ?

सुनुवाइ हुन्छ भनेर नै यही बस्ने भनेका हौं । आस भएर नै बस्ने हो । यदि भएन भने त धेरै बाटा छन् नि । यही संघर्ष गर्छौं। अरु पछिको कुरा हो ।

तपाईंका कुरा पार्टीमा सुनावाइ भएन भने नेकपामा आउने विकल्प कतिको रहन्छ ?

मेरो विकल्प नेकपा हुँदै होइन । किनकि, कम्युनिस्ट पाखण्डबाट आत्तिएर बाहिर निस्केको मानिस हुँ । अहिलेसम्म जे सोचेको छ, त्यही बोल्ने हो ।

शिलापत्र डटकमबाट साभार