Swornakshar Logo

मलाई गालि गर्नु भन्दा सरकारको आलोचना गर्नुहोसःदेउवा

३ जेठ । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पराजित वडाध्यक्षले समेत आफूलाई हारको दोष लगाउदै गालि दिन थालेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको ११औं राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै सभपाति देउवाले विगतमा पनि पार्टीले चुनावमा हार व्यहोरेका वडाध्यक्षदेखि केन्द्रीय सदस्य र नेता समेतले आफूलाई दोष दिएकोप्रति आक्रोश व्यक्त गरेका छन् । कांग्रेस देशव्यापी राष्ट्रिय जागरण अभियानमा होमिएका बेला सभापति देउवाले पार्टीभित्रकै केही नेताहरु बीच बोलचाल नै हुन छाडेको दुखेसो गरेका हुन् ।

‘अहिले पार्टीभित्र बोलचाल नै हुन छाड्यो, दुश्मनी हुन थालिसक्यो,’ सभापति देउवाले भने, ‘आफू चुनाव जित्न नसक्ने अनि मलाई गाली गर्ने ?’ आफूलाई गाली गर्न खर्चने समय ओली नेतृत्वको सरकारले गरेका गतल क्रियाकलापको विरोध गर्नमा लगाए पार्टीलाई राम्रो हुने सुझाव उनले दिए ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीदेखि पूर्वसांसद लक्ष्मणप्रसाद घिमिरे र होमनाथ दाहालसम्मले कांग्रेसको अहिलेको भूमिका कमजोर रहेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

देउवाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र शुसील कोइरालाको विरोध गर्न नसक्नेहरु यतिबेला आफूलाई गाली गर्न पाएरै रमाएको आरोप लगाए । उनले आफूलाई गाली गर्न भेला आयोजना गर्नुभन्दा सत्ताकै विरोध गर्न सुझाव दिए । पूर्वसभापति गिरिजाप्रसादले नेतृत्व गरेको सरकारको समय दुई पार्टी मिल्दा पनि चुनाव हारेको उदाहरण दिँदै उनले दुई कम्युनिस्ट मिल्दा अहिले कांग्रेस हार्नु स्वभाविक भएको दाबी गरे ।

चुनावमा टिकट दिने मात्र नभएर टिकट पाएर पनि चुनाव हार्ने उम्मेदवारले पनि पराजयको जिम्मेवारी लिनु पर्ने सभापति देउवाको दाबी थियो । उनले कांग्रेका उम्मेदवार हराउने र जिताउने कांग्रेस भित्रै रहेको आरोप लगाए । ‘अनुशासनको कारबाही नगर्दा किन कारबावाही नगरेको भन्ने र अनुशासनको कारबाही गर्छु भन्दा पनि विरोध गर्ने ?,’ देउवाले भने, ‘अनुशासनको कारबाही नगर्दा पनि सुख छैन, काम गर्दा पनि सुख छैन।’

किताब पढ्ने काम जुनसुकै समयमा गरे पनि चुनाव कसरी जित्ने भन्नेमा लाग्न सुझाव दिए । उनले आफूलाई डेढ बर्षअघिको चुनावलाई लिएर गालि गरेर पार्टी बलियो नहुने बताए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुक संघीय संरचनामा गए पनि पार्टी नेतृत्वले केन्द्रीय कार्य समिति र जिल्ला कार्य समितिभन्दा अरु संरचना क्रियाशील नभएको गुनासो गरे । ‘मुलुक संघीय संरचनामा गइसक्यो, प्रदेश सभा र प्रदेश सरकार भए पनि कांग्रेसको प्रदेश स्तरमा कुनै समिति छैन’, सिटौलाले भने, ‘यस्तो अवस्थामा पार्टी नेतृत्व भने संगठनलाई केन्द्रीत गर्दै लगिरहेको छ ।’ उनले पार्टी भित्रको आन्तरिक कलहले पार्टी भित्र बृहत् एकता नभएको बताए । सिटौलाले एकताको आधार सिद्धान्त, नीति र कार्यक्रम हुने बताए ।

उनले कांग्रेसको संगठनको स्थानीय स्तरको संगठन धमिलिएको कुवा जस्तै भएकाले कार्यकर्ताले त्यस्तो पानीलाई उमालेर वा छानेर मात्र लिने गरेको बताए । सरकारले संवैधानिक निकाय, न्यायलय, सुरक्षा अंग, मिडिया र कर्मचारीतन्त्रमा समेत हस्तक्षेप गरेकोले त्यसका विरुद्धमा पार्टीले सदनमा बलियोसँग कुरा राख्न नसकेको गुनासो गरे ।

अर्का नेता अर्जुननरसिंह केसीले बर्तमान कम्युनिष्ट सरकारको लक्ष्य लोकतन्त्र नभएको भन्दै हिटलर पनि निर्वाचनबाटै सत्तामा पुगेकोले यो सरकारबाट सचेत हुनुपर्ने बताए । कांग्रेस संसदीय दलका पूर्व मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसले शुरु गरेको जागरण अभियानको उद्देश्य स्पस्ट नभएको, कानुन व्यवसायिलाई सुराकी गर्ने जिम्मेवारी दिएको भन्दै १४औं महाधिवेशनको तयारीको लागि सभापति देउवालाई सुझाव दिए ।

समाजले मानवअधिकारकर्मी तथा पूर्वमन्त्री नूतन थपलियालाई पुरस्कृत गरेको थियो ।