Swornakshar Logo

बच्चा जन्मे पछि विवाह गर्दै न्यूजिल्याण्डकी प्रधानमन्त्री

२१ वैशाख । काठमाडौं । प्रेमीसँग ‘लिभिङ रिलेशनसीप’मा रहेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डनले विवाहको टुंगो लगाएकी छन् । बीबीसीका अनुसार प्रधानमन्त्री कार्यालयले यसबारे पुष्टि गरेको छ । एक कार्यक्रममा उनले आफ्नो बायाँ हातको औंलामा औँठी लगाएको देखिएको थियो ।

पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले त्यसबारे सोधखोज गरे र प्रधानमन्त्री कार्यालयमा त्यसबारे जानकारी मागे । त्यसपछि प्रधानमन्त्रीका प्रवक्ताले बिहेको छिनोफानो भएको बताएका हुन् ।

उनका प्रेमी क्लार्क गेफोर्ड टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् । उनीहरू लामो समयदेखि विवाह नगरे पनि सँगै बस्थे । उनीहरूले गत वर्ष छोरी जन्माएका थिए ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टो पछि पदमा रहँदा आमा बन्ने जसिन्डा आर्डन दोस्रो महिला प्रधानमन्त्री हुन् ।

बिहेको छिनोफानो भएको खबर सञ्चार माध्ययममा आएपछि प्रधानमन्त्री आर्डनले रेडियो न्यूजिल्यान्डसँग भनेकी छन, ‘म निकै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जसले मलाई साथ दिन्छ, जसले संयुक्त जिम्मेवारीको ठूलो अंश आफूले लिइरहेको छ किन कि उ एउटा अभिभावक पनि हो ।’

आर्डनले गत वर्ष अक्टोबर महिनामा प्रधानमन्त्री छँदै छोरी जन्माइन् र संयुक्त राष्ट्रसंघको एउटा बैठकमा चार महिनाकी छोरीलाई काखमा लिएर सहभागी भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय चर्चामा आएकी थिइन् ।

त्यहाँ उनले अनेक सल्लाह–सुझाव पाएकी थिइन् । त्यसबारे उनले भनेकी थिइन्, ‘मलाई धेरै आवश्यक नभएका सल्लाह प्राप्त भएका छन् । तिनलाई के गरूँ भन्ने मलाई थाहा छैन। तर, सल्लाह दिनेहरूलाई म धन्यवाद दिन चाहन्छु ।’

दुई जनाबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।