Swornakshar Logo

भूकम्पको चार वर्षः ३ लाख ८२ हजार घरको पुनर्निर्माण सम्पन्न

वैशाख १२। काठमाडौँ । भूकम्पको चार वर्षमा  ३ लाख ८२ हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ । ६ लाख १२ हजारभन्दा बढी घरहरु बन्दै गरेका छन् । भूकम्पले भत्किएका झण्डै २० प्रतिशत घरको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । ।

वैशाख १२ गतेकै दिन चार वर्ष अघि २०७२ सालमा बारपाक केन्द्रविन्दू बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । चार वर्षसम्म पनि सो मूल भूकम्पका पराकम्पनहरु आउने क्रम रोकिएको छैन । बुधबार मात्र धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्निच्युड एउटा र ४.३ म्याग्निच्युडको अर्को पराकम्प गयो । चार वर्षयता करिब ४५ हजार सानाठूला पराकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकले बताउँछ ।

०७२ सालको विनाशकारी भूकम्पमा परी करिब ९ हजारको ज्यान गएको थियो भने हजारौँ घाइते र अंगभंग भए । करिव १० लाख घरधुरी भूकम्पको मारमा परेको बताइन्छ । लाखौँ भौतिक संरचना तथा पुरातात्विक सम्पदा ध्वस्त भए भने कैयौँमा आंशिक क्षति पुग्यो । भूकम्पबाट १४ जिल्लामा बढी विनाश निम्त्याएको थियो, जसमा गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ, दोलखा, रामेछापलगायत छन् ।

भूकम्पमा परी पूर्ण तथा आंशिक क्षति पुगेका भौतिक संरचना निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । पुरातात्विक तथा एतिहासिक महत्वका संरचना पुनर्निर्माण हुन सकेका छैनन् भने बढी क्षतिग्रस्त जिल्लाका जनताका घर समेत आधा मात्र निर्माण भएका छन् ।

केन्द्रविन्दू रहेको गोरखाको बारपाक वस्ती पुन उठेको छ । अर्को क्षतिग्रस्त गाउँ लाप्राक बस्तीको एकीकृत पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा ढिलासुस्ती हुँदा भूकम्पले घरबास गुमाएका ५० प्रतिशत नागरिक अझै पनि अस्थायी टहरामै छन् भने कतिले अनुदान सहायता पनि नपाएको गुनासो गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पको ४ वर्षमा क्षतिग्रस्त कुल ९ लाख ९६ हजार ५८२ घरधुरीको सर्वेक्षण भएको छ । यीमध्ये भूकम्पकै कारण घरवास गुमाएका ७ लाख ६० हजार २७९ परिवारसँग आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका छन् ।

उता विद्यालय, अस्पताल लगायत सार्वजनिक भवनहरुको पुनर्निर्माण झनै सुस्त देखिएको छ । ७ हजार ५ सयभन्दा बढी विद्यालय पुनर्निर्माणको सूचीमा रहे पनि हालसम्म ४ हजार ४५० भन्दा बढी विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न भएको तथ्यांक छ । यसैगरी भूकम्पले क्षतिग्रस्त ७ सय ८८ स्वास्थ्य संस्थामध्ये हालसम्म ६४३ वटाको मात्रै पुनर्निर्माण कार्य सकिएको छ ।