Swornakshar Logo

यू–१९ विश्वकपको एसिया छनोटः नेपाल एक रनले पराजित

३० चैत । काठमाडौं । मलेसियामा जारी यू–१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।

प्रतियोगिताको दोस्रो इनिङमा वर्षाका कारण खेल अवरुद्ध भएपछि नतिजा डीएल मेथडबाट निकालिएको थियो । सो आधारमा नेपाल यूएईसँग १ रनले पराजित भएको हो ।

यूएईले ३० ओभ खेल्दै ३ विकेटको क्षतिमा १२२ रन बनाएपछि वर्षाका कारण खेल अवरुद्ध बनेको थियो । पहिलो इनिङमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुदै २४७ रनको स्कोर बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धसतक प्रहार गरेका थिए ।

हरि चौहान र भीम सार्कीले अर्धसतक पूरा गरेका हुन् । हरिले डेब्यु खेलमा नै सर्वाधिक नटआउट ६३ रनको योगदान दिए । ७४ बलको सामना गरेका उनले ७ चौका सहित ६३ रन बनाएका हुन् । नेपाली टिम कठिन स्थितिमा रहेको बेला क्रिजमा आएका हरिले भीम सार्कीसँग ९२ रनको साझेदारी गरेका थिए । त्यस्तै भीम सार्कीले ५३ रन बनाए । ५४ बलको सामना गरेका उनले २ टक्का र ४ चौकाको मदतमा ५३ रन बनाएका हुन् ।

नेपालका लागि रित गौतमले ४४ रन बनाए भने आशिफ शेखले २७ तथा रोहित पौडेलले १८ रनको योगदान दिए । पवन सर्राफ १२ रनमा आउट हुदाँ अन्यले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ यूएईका रिसव मुखर्जीले सर्वाधिक ४ विकेट लिए । मोहमद फजारुद्धिनले ३ तथा आरोन बेन्जामिन, अलिशान सर्राफु, पालानियपानले १र१ विकेट लिए ।

यसअघि पहिलो खेलमा सिंगापुरलाई फराकिलो अन्तरले हराएको नेपाल आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । मलेसियामा जारी छनोट खेलमा नेपालले शुक्रबार सिंगापुरमाथि २१७ रनको सानदार जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । २८३ रनको लक्ष्य पाई जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरको यू–१९ टोलीले ३१ ओभरमा ६५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र यूएई सहभागी छन्।